कोहलपुरमा सडकका सामग्री नहटाउनेलाई कारबाही गरिने

पिपलबाेट संवाददाता


सडक क्षेत्रमा संरचना बनाउने र निर्माण सामग्री राख्नेलाई कोहलपुर नगरपालिकाले कारबाही गर्ने भएको छ ।

शनिबार बसेको कार्यपालिका बैठकले नगरभित्रका सडकमा संरचना र निर्माण सामग्री राख्न नदिने निर्णय गरेको हो । घर वा संरचना निर्माण गर्दा सडक, फुटपाथ तथा सार्वजनिक जग्गामा निर्माण सामग्री राख्नुपर्ने भएमा वडा कार्यालयबाट लिखित अनुमति लिनुपर्नेछ ।

‘नगर क्षेत्रभित्र कुनै पनि व्यक्ति वा संस्थाले संरचना वा घर निर्माण गर्दा सडक, फुटपाथ तथा सार्वजनिक जग्गामा निर्माण सामग्री राख्नुपर्ने भएमा वडा कार्यालयबाट लिखित अनुमति लिनुपर्नेछ,’ कार्यपालिका बैठकले गरेको निर्णयमा भनिएको छ, ‘सडक आवतजावतमा अवरोध नहुने गरी बढीमा तीन दिनमात्र राख्न पाउने भएकोले सोहीबमोजिम गर्नुहोला ।’

लिखित अनुमति नलिई राखिएका सामग्रीहरु वा अनुमतिको म्याद सकिएपछि नउठाइएका सामग्रीहरु नगरपालिकाले जफत गरी सम्बन्धितलाई दण्ड जरिवाना गर्ने निर्णयसमेत गरिएको छ । कार्यपालिका बैठकले गरेको निर्णयअनुसार फुटपाथ एवम् सार्वजनिक जग्गामा निर्माण सामग्री राख्दा हुने पूर्वाधार संरचनाको क्षति सम्बन्धितले नै तत्काल निर्माण गर्नुपर्नेछ ।

‘नाला भत्किएको, नालाको ढकन फुटेको, पिच बिग्रिएको, विद्युत् पोल भत्किएको आदिको सम्बन्धितले नै तत्काल निर्माण गर्नुपर्नेछ,’ निर्णयमा भनिएको छ, ‘त्यसरी निर्माण नगर्नेलाई जरिवाना गरी स्वयम्बाट असुल उपर गरिनेछ ।’ कार्यपालिका बैठकले गरेका निर्णय उल्लंघन गरेको पाइएमा नगर प्रहरीले नियमानुसार कारबाही गर्ने कोहलपुर नगरपालिकाले जनाएको छ ।

२ असार २०७९ मा प्रकाशित
Nabintech