कांग्रेस बाँकेले गरायो प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस बाँकेले जिल्लामा देखिएको विद्युत अनियमितताका सम्बन्धमा नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल नेतृत्वको टोलीले आज काठमाण्डौमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर विद्युत अनियमिताका सम्बन्धमा ध्यानाकर्षण गराएको हो । सभापति गौडेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा चर्को गर्मीको समयमा बाँकेबासीले झेल्दै आएको विद्युत समस्या समाधानका लागि गम्भीर बनिदिन आग्रह गरिएको छ  ।

विद्युत समस्या समाधानका लागि तत्काल पहल गर्न ध्यानाकर्षण गराइएको टोलीमा सहभागी कांग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले बताए । ध्यानाकर्षण पत्र बुझ्दै कार्यकारी निर्देशक घिसिङले बाँकेले झेलिरहेको विद्युत समस्या समाधानका लागि आफू गम्भीर रहेको बताएका छन् ।  घिसिङले छिट्टै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको बस्नेतले जानकारी दिए ।

कांग्रेसले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “लामो समयदेखि देखिँदै आएको विद्युत आपूर्तिको समस्यालाई नजरअन्दाज गर्दै नागरिक अधिकार नै कुण्ठित गर्ने गरी सरोकारवाला निकायबाट भइहरहेको गैरजिम्मेवारपूर्ण व्यवहारप्रति नेपाली कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ ।”

ध्यानाकर्षण पत्र बुझाउन कांग्रेस बाँकेका सभापति गौडेलसहित कोषाध्यक्ष बस्नेत, जिल्ला सदस्य मनप्रसाद अचार्य र कांग्रेस नेता एवम् नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य चक्र अधिकारी नेपाल विद्युत प्राधिकरण पुगेका थिए ।

५ असार २०७९ मा प्रकाशित
Nabintech