ट्रकको ठक्करबाट बाँकेमा एक महिलाको मृत्यु

पिपलबाेट संवाददाता


बाँकेमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २८ बर्षीया महिलाको मृत्यु भएको हो ।

शनिवार बिहान साढे ७ बजे कोहलपुरतर्फ आउँदै गरेको ना ५ ख ४२०४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा बैजनाथ गाउँपालिका वडा नम्बर २ की २८ बर्षीया दिपिका खत्री कटुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दिपिकाको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो भने मोटरसाइकल चालक ३२ बर्षीय दिलबहादुर कटुवाल सामान्य घाइते भएका छन् । दिलबहादुर मृतक दिपिकाका श्रीमान् हुन् ।

ठक्कर दिने ट्रक र चालक नवीन आचार्यलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कोहलपुरले जनाएको छ ।

११ असार २०७९ मा प्रकाशित
Nabintech