सुरक्षाकर्मीलाई बाँके प्रशासनको निर्देशन : बास्तविक किसानलाई मल ल्याउन बाधा नपुर्याउनु

पिपलबाेट संवाददाता


एमाले र राप्रपाले भारतबाट मल ल्याउने बास्तविक किसानलाई सहज रुपमा मल ल्याउन दवाव दिएपछि बाँके प्रशासनले नाकामा खटिएका सुरक्षाकर्मीलाई बाधा नपुर्याउन निर्देशन दिएको छ । राजनीतिक दल र किसानले मल आपूर्ती सहज बनाउन माग गरेपछि आफ्नो खेतवारीमा प्रयोग गर्न भारतबाट मल ल्याउने किसानलाई बाधा नपुर्याउन नाकामा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।
उनले खेतिपातीका लागि ल्याउने किसानको पहिचान गरि मल ल्याउने किसानलाई दुख नदिन नाकामा खटिएका सुरक्षाकर्मीलाई सूचना पठाएको बताए । ‘ब्यापारीक प्रयोजनका लागि हो या आफ्नो खेतवारीमा प्रयोग गर्नका लागि हो भन्ने एकिन गरि मल ल्याउन सहज बातावरण बनाउनु भन्ने निर्देशन दिइएको छ,’ उनले भने ।
उनले रासायनिक मल नहुँदा कृषकले धान रोप्न नसकेको गुनासो आएपछि किसानलाई भारतबाट मल ल्याउन केहि खुकुलो गरिएको बताए । भारतबाट मल ल्याउन प्रतिवन्ध रहे पनि ब्यवहारिकता हेरेर यस्तो निर्णय गर्न परेको उनको भनाई छ । ‘हुन त किसानलाई भारतबाट मल ल्याउनुस भन्न मिल्दैन । नाकामा खटिएका सुरक्षाकर्मीलाई नरोक्नु भन्ने पनि मिल्दैन, तर किसानको समस्या र ब्यवहारिकता पनि हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कानूनले नदिए पनि ब्यवहारिकता हेरेर निर्देशन दिनु परेको छ ।’
बाँकेका किसानले नेपालगन्ज, नरैनापुर, डुडुवाको होलिया, हिरमिनिया, खजुराको राधापुर र जानकी गाउँपालिकाको साईगाउँ लगायत नाकाबाट रासायनिक मल ल्याउने गरेका छन् । यी नाकाबाट मल ल्याउँदा सुरक्षाकर्मीले दुख दिने गरेको गुनासो किसानको छ । भारतबाट साइकल र मोटरसाइकलमा ल्याएको मल बाँकेको कोहलपुर, बैजनाथ र राप्तीसोनारी गाउँपालिकासम्म पुग्ने गरेको छ ।

१३ असार २०७९ मा प्रकाशित
Nabintech