जडिबुटीबाट कर्णालीमा सवा तीन करोड बढी राजस्व संकलन

पिपलबाेट संवाददाता


डिबुटीको भण्डारका रूपमा रहेको कर्णालीमा तीन करोड भन्दा बढी  राजस्व संकलन भएको छ । कर्णाली प्रदेशले चालु आर्थिक वर्ष २०७८–०७९ मा जडिबुटीतर्फ राजस्व संकलनमार्फत कुल ३ करोड ३६ लाख ९ हजार ५८८ रुपैयाँ राजस्व संकलन गरेको हो । प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार वन क्षेत्रका काठ– दाउरा बिक्रीमार्फत २ करोड ११ लाख १८ हजार ८०७ रुपैयाँ राजस्व आम्दानी गरी कुल ५ करोड ४७ लाख २८ हजार ३९५ रुपैयाँ राजस्व आम्दानी गरेको
छ । कर्णालीमा ७९ प्रकारका विभिन्न बहुमूल्य जडिबुटी पाइन्छ । वार्षिकरूपमा करिब १२ हजार मेट्रिकटन जडिबुटी कर्णालीले निकासी गर्दै आएको छ । जडिबुटी बिक्रीबाट सबैभन्दा धेरै हुम्ला जिल्लाले आम्दानी गरेको निर्देशनालयले जनाएको छ । हुम्लाले चालु आर्थिक वर्षमा १ करोड ८७ लाख १६ हजार ५०० रुपैयाँ राजस्व असुली गरेको छ । त्यसैगरी डोल्पामा ६२ लाख ६९ हजार ९५० र जाजरकोटले ४२ लाख ५ हजार ९०३ रुपैयाँ राजस्व असुल भएको छ । जडिबुटी बिक्री वितरण गरी राजस्व असुलीतर्फ सुर्खेतले दुई लाख ५६ हजार ७५० रुपैयाँ संकलन गरेको छ । प्रदेशका जिल्लामध्ये जडिबुटी संकलनतर्फ यो रकम अन्य जिल्लाको तुलनामा सबैभन्दा कम हो । यसैगरी दैलेखमा ७ लाख २२ हजार २००, सल्यानमा ११ लाख १३ हजार ६५५, जुम्लामा १३ लाख ७३ हजार ५००, कालिकोटमा ६ लाख ६६ हजार ६३०, रुकुम पश्चिममा २ लाख ८४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । मुगुमा भने विगत दुई आर्थिक वर्षमा जडिबुटीमार्फत राजस्व संकलन भएको देखिँदैन । कर्णालीले आर्थिक वर्ष २०७५–०७६ मा १ करोड ९६ लाख ६१ हजार २९७ रुपैयाँ जडिबुटीमार्फत  राजस्व आम्दानी गरेको थियो । २०७६–०७७ मा भने ४ करोड १२ लाख ९७ हजार २३७ रुपैयाँ राजस्व आम्दानी  गरेको छ । २०७७–०७८ मा १ करोड ९१ लाख ९५ हजार ९५२ रुपैयाँ राजस्व आम्दानी गरेको छ । कर्णालीबाट खासगरी ७९ प्रकारका जडिबुटी बाहिर निर्यात भइरहेको छ । कर्णालीबाट बढी मात्रामा निर्यात हुने जडिबुटीमा टिमुर, रिठ्ठा, काउलो, कुट्की, खिरौला, चुत्रो, तेजपात लगायत छन् । त्यसैगरी धुपिपात, पदमचाल, पोषण वेद, रिठ्ठा, यार्सागुम्बा र सेतक चिनी लगायतका जडिबुटी  धेरै मात्रामा निर्यात हुने प्रदेश वन निर्देशनालयले जनाएको छ ।३२ मेट्रिकटन काउलो, ५४६ मेट्रिकटन कुट्की, ४० मेट्रिकटन खिरौला, ९४ मेट्रिकटन चुत्रो, ३८३ मेट्रिकटन टिमुर, १५७ मेट्रिकटन तेपपात कर्णालीबाट एक आर्थिक वर्षमा निर्यात हुन्छन् । त्यसैगरी २०३ मेट्रिकटन धुपिपात, १४० मेट्रिकटन पदमचाल, १५६ मेट्रिकटन पोषणवेद, २५० मेट्रिकटन रिठ्ठा, २९ मेट्रिकटन यार्सागुम्बा र २१७ मेट्रिकटन सेतक चिनी एक आर्थिक वर्षमा निर्यात हुँदै आएको छ । आम्दानीतर्फ भने कर्णालीमा उत्पादित टिमुरले प्रदेशमा धेरै आम्दानी भित्र्याएको देखिन्छ ।टिमुरमार्फत कर्णाली प्रदेशले एक आर्थिक वर्षमा करिव २४ लाख ४ हजार ८०० रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यसैगरी विषफेजमार्फत १८८ हजार, यार्सागुम्बामार्फत ५ लाख १७ हजार ५००, पोषणवेदमार्फत ९ लाख ५६ हजार ५५०, पदमचालमार्फत १२ लाख ५६ हजार ३४०, गुच्चीच्याउँमार्फत १२ लाख ५ हजार रुपैयाँ र कुट्कीमार्फत १४ लाख ५० हजार ५५० रुपैयाँ हाराहारीमा प्रत्येक आर्थिक वर्ष कर्णालीले राजस्व संकलन गरिरहेको छ । कर्णालीबाट निर्यात हुने ७९ प्रकारका जडिबुटीहरु निर्यात हुने गरेका छन् ।
जाजरकोटमा जडीवुटी प्रशोधन केन्द्र निर्माण
जडीवुटी प्रशोधनका लागि जाजरकोट भेरी नगरपालिकाको कालेगाउँ नजिकै प्रशोधन केन्द्र निर्माण कार्य जारी रहेको छ ।डोल्पा, जाजरकोट, हुम्ला र जुम्ला लगायत जिल्लामा बढी जडिबुटी पाइन्छ । जाजरकोट डोल्पा सडक खण्डको बीचमा निर्माण हुन लागेको प्रशोधन केन्द्रबाट धेरैले सहयोग पाउने अपेक्षा छ ।

३० असार २०७९ मा प्रकाशित
Nabintech