राजधानी क्षेत्रको जग्गा फुकुवा कहिले? यसो भन्छन् सम्बन्धित पक्ष

पिपलबाेट संवाददाता


प्रदेश सभाको बैठकबाट स्थायी राजधानीको निर्णय हुनुभन्दा चार दिन अघि २०७७ असोज १६ मा जग्गा रोक्का गर्ने निर्णय प्रदेश मन्त्रीपरिषद्ले गर्यो। राजधानीको नाममा जग्गा किनबेच हुने र भू-माफियाको चलखेल बढ्ने आंकलन सहित जग्गा रोक्का गर्ने निर्णय भएको थियो।

लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापनको नाममा जग्ग रोक्का भएको ठिक एक वर्ष ९ महिना पुगेको छ। तर, अझैँ जग्गा रोक्का कहिले सम्म हुने हो भन्ने बारेमा एकिन जानकारी छैन्। जग्गा रोक्का हुँदा बैंकिङ्ग कारोबार समेत ठप्प छ। जसको असर व्यापार, व्यवसाय, घरायसी कामकाजदेखि सामाजिक, सांस्कृतिक काममा समेत पर्न थालेको छ। राप्ती गाउँपालिका-५ निवासी नवराज पाण्डेको पिय पदार्थको व्यवसाय छ। यो विचमा बैंकिङ्ग कारोबारसमेत ठप्प हुँदा व्यवसायमा लगानी बढाउन नसक्दा ऋण बोक्नुपरेको छ। ‘राजधानीको निर्णय हुदा खुसी भयौँ। थोरै समयको लागी जग्गा रोक्का होला भनेको दुई वर्ष पुग्नै थाल्यो’उनले भने,‘नयाँ व्यवसायी आउन नसक्ने अवस्था भयो। पूरा टिक्न नसक्ने स्थित छ। सरकारले जग्गाको बारेमा चाँडै निर्णय गर्ने आशामा छौँ।’

राजधानी व्यवस्थापनको लागी भन्दै गरिएको जग्गा रोक्काले जनजीवनलाई असर पार्न थालेको भन्दै उचित निकाससहित रोक्का जग्गा फुकुवाको माग गर्न थालिएको छ। केही दिन अघि राप्ती गाउँपालिकामा सर्वदलीय/सर्वपक्षिय भेला गरेर रोक्का जग्गा फुकुवाको माग गरिएको छ। सर्वदलीय/सर्वपक्षिय भेलामा उठेका विषयलाई प्रदेश पूर्वाधार विकास प्राधिकरणले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा दर्ता गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इञ्जिनीयर छविराज पोख्रेलले जानकारी दिए।

‘सर्वदलिय/सर्वपक्षिय बैठकमा उठेका सवालहरुलाई प्रदेश मन्त्रीपरिषद्को कार्यालयमा दर्ता गरेका छौँ। सायद अव त्यो छलफलको विषय अव बस्ने क्याविनेट बैठममा पेश हुने छ’ उनले भने,‘मन्त्रीपरिषद्को बैठकमा यस बारेमा व्यापक छलफल हुन्छ। जे निर्णय हुन्छ, त्यो मन्त्रीपरिषद्ले गर्छ।’ जग्गा रोक्का हुँदा जनजीवनमा समेत असर परेपछी प्रदेश सरकारले आंशिक रुपमा जग्गा रोक्का फुकुवा गर्ने संकेत प्राप्त भएको छ। तर, कसरी र कुन हदसम्म जग्गा फुकुवा हुन्छ भन्ने एकिन भने छैन।

यो अवधीमा के काम भयो?

प्रदेश राजधानी व्यवस्थापन र व्यवस्थीत योजनाको लागी भन्दै जग्गा रोक्का भएको थियो। तर, अहिले राजधानी कार्यान्वयनको लागी ठोस काम नहुँदै जग्गा रोक्का खोलेर अलमल्याउने काम हुन सक्नेतर्फ सचेत रहन समेत स्थानीय अगुवाले आग्रह गरेका छन् ।

‘जग्गा रोक्का हुँदा समस्या त परेको छ। तर, जग्गा रोक्का भएको यो झण्डै दुई वर्षमा काम के भयो?’ स्थानीय अगुवा गंगाराम भट्टराईले भने,‘अहिलेसम्म जग्गा एकिकरणको प्रारम्भिक काम समेत सुरु भएको छैन्। जनस्तरबाट प्राप्त गर्नुपर्ने सहमतप्को कुनै प्रक्रियानै थालिएको छैन्। यसरी काममा विलम्ब हुँदा अन्यौलता भयो।’

राजधानीसँग जोडिएको मुख्य विषय ल्याण्ड पुलिङ्ग हो। व्यवस्थीत राजधानी निर्माणको लागी जग्गा जग्गाको ल्याण्ड पुलिङ्गको काममा प्रदेश सरकारले ध्यान नदिएको स्थानीयको गुनासो छ। ‘जग्गा रोक्का राखिराख्ने तर, राजधानीसँग जोडिएको नयाँ शहर बसाउने योजनाको बारेमा पूर्ण जानकारी नहुने, ल्याण्ड पुलिङ्ग कुन आधारमा गरिँदै छ। त्यसको टुंगो भएको छैन’स्थानीय व्यवसायी मिलन पाण्डेले भने,‘प्रक्रियागत काम सुस्त हुँदा राजधानी कार्यान्वयनको विषयले गति लिन सकेको देखिदैन।’

भदौ-असोजबाट ल्याण्ड पुलिङ्गको काम थाल्छौँः सिईओ

राजधानीको गुरुयोजनाको काम ढिलोगरी सकियो। अर्को जग्गाको ल्याण्ड पुलिङ्गसँग जोडिएको जग्गा एकिकरण कार्यविधि पनि बनिसकेको छ। अब प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानी तोकिएको राप्ती गाउँपालिकाको सबै वडा गढवा गाउँपालिकाको वडा नं‍‍.१, २ र ३, अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं.८ र ९ का सबै वडालाई लक्षित गरेर जग्गाको ल्याण्ड पुलिङ्गको काम अघि बढाउने तयारी गरेको छ।

भदौ-असोजबाट जग्गाको ल्याण्डपुलिङ्गको काम अघि बढ्ने प्रमुख कार्यकारी अधिकृत ईञ्जिनियर छविराज पोख्रेलले जानकारी दिए। ‘धानबाली भित्र्याएपछी ल्याण्डपुलिङ्गको काम अघि बढ्छ। आउँदो वर्ष हामीले सात सय विगाह जग्गामा ल्याण्डपुलिङ्ग गर्ने लक्ष्य राखेका छौँ’ उनले भने,‘वडा कार्यालयको प्रस्तावको आधारमा काम अघि बढ्छ।’ वडा कार्यालयको समन्वयमा ल्याण्डपुलिङ्गको क्षेत्र छनौँट गरिने छ।

प्रत्येक वडामा ५० विगाह जग्गाबाट काम अघि बढ्ने देखिन्छ। ‘वडा तहमा पनि एउटा सर्वदलिय समिति हुन्छ। त्यस समितिको प्रस्तावको आधारमा क्षेत्र छानिन्छ’ पोख्रेलले भने, ‘त्यसपछी काम अघि बढ्छ। जग्गाधनीको पुरानो लालपूर्जा बुझेर नयाँ लालपूर्जा वितरण समेत गरिन्छ।’ जग्गाको ल्याण्डपुलिङ्गको प्रक्रीया पुरा गरेर सडक, ढल, खुला क्षेत्र, सार्वजनिक क्षेत्र छुट्याउने र त्यसपछी व्यवस्थीत घडेरीहरु निर्माण गरिने छ।

३२ असार २०७९ मा प्रकाशित
Nabintech