साक्षर शिक्षाको निरन्तरतामा जोड

पिपलबाेट संवाददाता


शनिबार नेपालगन्जमा कार्यक्रम आयोजना गरेर बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराजले बाँकेलाई साक्षर जिल्ला घोषण गरेका हुन् ।
कार्यक्रममा मन्त्री गहतराजले बाँकेलाई साक्षर घोषणा भई सकेको अवस्थामा अझ बढी चुनौतीपूर्ण अवस्था आएको बताए । उनले जिल्लालाई साक्षर जिल्ला घोषणा गरेरमात्र नभई यसलाई निरन्तरता दिन थप चुनौती रहेको बताएका हुन् ।

मन्त्री गहतराजले भने, ‘ हामीले यो कुराको हेक्का राख्नु पर्छकी । बाँकेलाई साक्षर जिल्ला घोषणा गर्नु राम्रो । यसमा मलाई आफ्नै जिल्ला भएकोले धेरै खुसी लागेको छ । तर घोषणा गरेर मात्र हुँदैन । यसलाई हामीले निरन्तरता दिएनौ भने आउने दिनहरुमा फेरी निरक्षकहरुको संख्या बढ्न सक्ने । फेरी हामी पुरानै अवस्थामा आउन सक्छौं ।’

उनले जिल्लाको सन्तुलित विकासको लागि प्राकृतिक स्रोतसाधन भएर मात्र नहुने बताए । उनले शिक्षित वर्गले नै जिल्लाको विकास हुने बताए ।
कार्यक्रममा उपस्थित नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले निरक्षरताका कारण अझै पनि बाँकेका धेरै मानिसहरुले ल्याप्चे लगाउने गरेको बताए । उनले निरक्षरताको उदाहरण दिँदै वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा धेरै मतहरु निरक्षरताका कारण बदर भएको बताए ।

गौडेलले साक्षर घोषणाको विषयलाई हरके वर्ष निरन्तरता दिँदै वडास्तरमा रहेका निरक्षर व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई साक्षर बनाउन तर्फ लाग्नु पर्ने बताए ।
जनता समाजवादी पार्टी(जसपा) का बाँके अध्यक्ष एवम् नेपालगन्ज उप–महानगरपालिकाका उप–प्रमुख कमरुद्दीन राईले जिल्लामा रहेको बालबालिकाको शिक्षामा कस्तो पहुँच रहेको छ भन्ने विषयमा पनि ध्यान दिनु पर्ने बताए । उनले विद्यालयको अवस्था, शिक्षाको गुणस्तरको विषयमा पनि अनुगमन हुनु पर्ने बताएका थिए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख सूर्यबहादुर खत्रीले कतिपय घोषणाहरु घोषणामा मात्रै सिमित रहेको बताए । उनले कति ठाउँहरुमा दिशामुक्त, बालविवाहमुक्त घोषणा भएता पनि सो कार्यन्वयन नभएको बताए । प्रमुख खत्रीले अलपत्र परेका अन्य घोषणा जस्तै साक्षर घोषणालाई विद्यमान राख्न यसको निरन्तरता आवस्यक परेको बताए ।

साथै प्रदेश सांसद आईपि खरेलले धेरै ठूलो योगदानले बाँके साक्षर जिल्ला बनेको बताए । उनले जिल्लामा निरक्षरता कम गर्न हरेक वर्ष साक्षर कार्यक्रमअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्ला समन्वय समितिका निवर्तमान संयोजक अजय श्रीवास्तवले बाँकेलाई साक्षर जिल्ला घोषणा गर्न ठूलो योगदान दिएको बताए ।

३२ असार २०७९ मा प्रकाशित
Nabintech