बाँके जिल्ला अदालतका न्यायाधीश अधिकारी सर्वोच्च तानिए

पिपलबाेट संवाददाता


न्याय परिषद्मा परेको उजुरीका आधारमा बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारी छानबिनमा तानिएका छन् ।न्याय परिषद्मा परेको उजुरीका आधारमा उनलाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले तानेका हुन् । उनलाई अब परिषद्ले थप छानबिन गर्नेछ । परिषद्ले यसअघि पनि उनलाई सचेत गराएको थियो । जिल्ला अदालतमा रहेका मुद्दामा आर्थिक चलखेलदेखि न्यायिक विचलन र खराब आचरण देखिएकाले मुद्दा हेर्न तत्काल रोक्नुपर्ने अवस्था देखिएकाले सर्वोच्च झिकाइएको हो । उनलाई विगतमा हटाउन खोज्दा महाभियोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जोगाएका थिए । उनीमाथि अब बस्ने परिषद्ले थप छानबिन गर्नेछ । सर्वोच्चमा काठमाडौं जिल्ला अदालतका केही न्यायाधीश छानबिनमा रहेका छन् । अम्विका निरौला, प्रकाशचन्द्र अधिकारी र राजकुमार कोइरालामाथि छानबिन भइरहेको छ । त्यस्तै बद्रीप्रसाद ओली र अन्य केही न्यायाधीशमाथि पनि परिषद्ले छानविन गरिरहेको छ ।

१० दिनमा ५ न्यायाधीश पदमुक्त

हिजो(सोमबार) मात्रै न्यायपरिषदको बैठकले थप २ जना न्यायाधीशलाई पदमुक्त गराएको छ ।

परिषद्को सोमबार बसेको बैठकले उच्च अदालत महेन्द्रनगरका न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको हो ।

गत शुक्रबार उच्च अदालत जुम्लाका न्यायाधीश नसरुल्लाह अन्सारी र बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहलाई परिषद्ले पदमुक्त गर्न सिफारिस गरेको थियो । त्यस्तै, गत २४ असारमा उच्च अदालत तुलसीपुर बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई पनि पदमुक्त गर्न सिफारिस गरिएको थियो । यता कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद कोइाराला ‘बन्दी’ले खल्तीबाट न्यायाधीश झिकेर भर्ना गर्ने चलनको अन्त्य भएको दाबी गरेका छन् । ‘मेरो प्राथमिकता भनेको अदालतभित्रका भ्रष्ट न्यायाधीशहरूमाथि पनि छ,’ बन्दीले भने, ‘न्यायाधीशहरु भ्रष्टाचार गरेर हिँड्ने गरेका छन् । अहिलेसम्म ५ जना न्यायाधीशलाई कारबाही भइसक्यो ।’ अहिले देशभर रिक्त रहेका २१ जना जिल्ला न्यायाधीशको लागि झण्डै २ सय जनाको आवेदन सोमबारसम्म परेको उनले बताए । उच्च अदालतको न्यायाधीश छान्न पनि सोही प्रक्रिया लागू हुने मन्त्री बन्दीले बताए ।

३ श्रावण २०७९ मा प्रकाशित
Nabintech