नेपालगन्ज भन्सार लक्ष्य हासिल गर्न असफल

पिपलबाेट संवाददाता


नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक बर्ष २०७८÷०७९ मा लक्ष्य हासिल गर्न असफल भएको
छ । विगत १० बर्षको तथ्यांक हेर्ने हो भने नेपालगन्ज भन्सार आर्थिक बर्ष २०७६÷०७७ र आ.व. २०७८÷०७९ मा मात्रै लक्ष्य हासिल गर्न सकेको छैन ।आ.व. २०७६÷०७७ मा नेपालगन्ज भन्सारले निर्धारित लक्ष्यको ७६.२४ प्रतिशत लक्ष्य हासिल गरेको थियो । गत आ.व. २०७८÷०७९ मा लक्ष्यको ८८.५१ प्रतिशत लक्ष्य मात्रै भन्सारले हासिल गरेको हो । आ.व. २०७६÷०७७ को चैत्रदेखि कोरोनाका कारण नेपाल र भारत दुवै तर्फ लकडाउन भयो, जसका कारण भन्सार राजश्वले लक्ष्य हासिल गर्न सकेको थिएन ।
गत आर्थिक बर्ष २०७८÷०७९ मा विदेशी मुद्राको कमीका कारण सरकारले विभिन्न मालसामान आयात रोक्यो, त्यसको प्रभावले पनि भन्सारले राजश्व भेटाउन नसकेको हो । यद्यपि, व्यवसायीहरु दैनिक करोडौं रुपैयाँको मालसामानको भन्सार छली हुने गरेकाले पनि भन्सारले राजश्व हासिल गर्न नसकेको बताउँछन् । यद्यपि, नेपालगन्ज भन्सारका पूर्व अधिकारीले भन्सार छली निकै न्यून हुने र त्यसले राजश्वमा खासै ठूलो योगदान पुर्याउन नसक्ने दाबी गर्दछन् । ‘भन्सार छलीबाट पक्राउ गरेर संकलन हुने राज्यले पनि खासै ठूलो योगदान पुर्याएको हुँदैन’, उनले भने । नेपालगन्ज भन्सारले आ.व. २०७८÷०७९ मा २५ करोड २१ लाख ६ लाख ६२ हजार रुपैयाँ लक्ष्य पाएकोमा २२ अर्ब ३१ करोड २६ लाख ६२ हजार रुपैयाँ भन्सार राजश्व असुल गरेको भन्सार अधिकृत नवकुल शर्माले जानकारी दिएका छन् ।
४ अर्ब बढाएर लक्ष्य चालु आर्थिक बर्ष २०७९÷८० का लागि अघिल्लो आ.व. २०७८÷०७९ मा भन्दा चार अर्ब बढी लक्ष्य दिएको छ । अघिल्लो आ.व. मा २५ अर्ब राजश्व असुलीमा असफल नेपालगन्ज भन्सारलाई थप चार अर्ब बढी थपेर चालु आ.व.का लागि लक्ष्य निर्धारण गरिएको हो ।नेपालगन्ज भन्सारले चालु आ.व. २०७९÷०८० मा २९ अर्ब ३२ करोड ९५ लाख ३९ हजार लक्ष्य निधारण गरेको हो । अघिल्लो आ.व. २०७८÷०७९ मा नेपालगन्ज भन्सारले २५ करोड २१ लाख ६ लाख ६२ हजार रुपैयाँ लक्ष्य पाएको थियो ।

३ श्रावण २०७९ मा प्रकाशित
Nabintech