बर्षा नहुँदा बाँकेमा ५५ प्रतिशत खेत बाँझै, किसान चिन्तित

पिपलबाेट संवाददाता


साउन महिनाको पहिलो सातासम्ममा पनि बाँकेमा मनसुन सक्रिय नहुँदा बियाड सुक्ने र
खेतबारीमा धाँजा फाँट्न थालेको छ । साउन शुरु भैसक्दा समेत वर्षा नहुँदा बाँकेमा हालसम्म ५५ प्रतिशतभन्दा बढी खेत बाँझै छन् ।
जिल्लामा हालसम्म ४५ प्रतिशत मात्रै रोपाई सकिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । सबैभन्दा बढी रोपाई सिक्टाको नहरले धेरै ठाउँ छोएको राप्तीसोनारी गाउँपालिकामा भएको केन्द्रले जनाएको छ । नहरका कारण राप्तीसोनारीमा सबैभन्दा बढी ८५ प्रतिशत रोपाई भएको र नरैनापुर गाउँपालिकामा सिँचाइ सुविधा नहुँदा हालसम्म ५ प्रतिशत मात्रै रोपाई भएको केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बताए ।उनले गतवर्ष यो समयमा बाँकेमा करिब ९७ प्रतिशत रोपाइँ सम्पन्न भैसकेकोमा अहिले ४५ प्रतिशत रोपाइँ भएको बताए । प्रमुख ढकालका अनुसार जिल्लामा ४५ प्रतिशत धान रोपाइँ भए पनि मनसुनी वर्षा नहुँदा अधिकांश खेतमा धाँजा पर्न थालेको छ ।जसोतसो रोपाइँ
गरेको धान खेत सुक्दै गएपछि धाँजा परेको हो । वर्षा नहुँदा नरैनापुर ४ का नरेश बर्माको बोरिङ गरेर रोपाइँ भएको खेत पनि धाँजा फाटेर चिरिएको छ । आकाशे पानी नपरेसम्म धान उत्पादन हुन नसक्ने बर्माले गुनासो गरे ।
उनले बियाड समेत सुकेर कामै नलाग्ने हुन लागेको बताए । केहीदिन वर्षा नभए धान उत्पादन धेरै कम हुने उनको भनाइ छ । साउनको पहिलो सातासम्म पानी नपरेकाले करिब १५ प्रतिशत धान उत्पादनमा कमी आउने केन्द्र नेपालगन्जको अनुमान छ । सो कार्यालयका अनुसार किसानले लगाएको धान मर्न थालेकोले लगानी खेर जाने देखिएको उनले बताए ।
आकाशे पानीको भरमा रोपाइ गर्ने किसान चिन्तामा छन् । धान खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै वर्षा नभएपछि जिल्लाका अधिकांश स्थानको रोपाइँ प्रभावित भएको जनाउँदै डुडुवाका किसान जगदीश मौर्यले अत्यधिक गर्मी र पानी अभावका कारण जेनतेन लगाएको धान पनि सुक्न थालेको बताए ।

३ श्रावण २०७९ मा प्रकाशित
Nabintech