खेलकुदमा २५ बर्ष पूरा गरेका बाँकेका ६ जना सम्मानित

पिपलबाेट संवाददाता


राष्ट्रिय खेलकुद परिषदले २५ बर्ष सेवा अवधि पूरा गरेका प्रशिक्षकलाई सम्मान गरेको छ । परिषदले प्रदान गरेको सम्मान लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बुधवार नेपालगन्जमा रहेका प्रशिक्षकलाई वितरण गरेका छन् ।
सम्मानित हुनेमा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक तथा ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठ, जुडो प्रशिक्षक दलबहादुर गुरुङ, क्रिकेट प्रशिक्षक दिपेन्द्रप्रताप सिंह, सुटिङ प्रशिक्षक ओलम्पियन पार्वती थापा, सुटिङ प्रशिक्षक राजेन्द्र सिंह र जिम्न्याष्टिक प्रशिक्षक मोहम्मद खलिल हल्वाई रहेको क्षेत्रीय खेलकुद विकास समितिका लेखा अधिकृत मिनबहादुर जिसीले जानकारी दिए ।

बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाह, मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले पनि सम्मान पत्र वितरण गरेको जिसीले बताए । सो अवसरमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, विभिन्न विधाका प्रशिक्षक, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी एवम सदस्य लगायतको सहभागिता रहेको थियो ।

१२ श्रावण २०७९ मा प्रकाशित
Nabintech