बाँकेमा बाघ संख्या बृद्धिमा कमी, निकुञ्ज स्थापनाको १२ वर्षमा मात्र २५ बाघ

पिपलबाेट संवाददाता


आज अन्तर्राष्ट्रिय बाघ दिवस । प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहबीच अन्तर्राष्ट्रिय बाघ दिवसको दिन पारेर नेपालमा बाघको संख्या ३५५ पुगेको घोषणा गरेका छन् ।
पछिल्लो दशकमा बाघको संख्या दुई गुणाले वृद्धि गर्ने सङ्कल्प पूरा गर्ने नेपाल पहिलो देश बनेको छ । यसका साथसाथै नेपालमा अन्य वन्यजन्तु गैँडा र हात्तीको पनि संख्यामा वृद्धि भएको छ । सन् २०२२ मा गरिएको बाघ गणनाको रिपोर्ट अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ । योसंगै नेपालले पछिल्लो १० वर्षमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य पूरा गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार, सन् २०१३ मा नेपालमा बाघको संख्या १९८ थियो । सन् २०१८ को गणनामा यो संख्या २३५ पुग्यो । यसअघि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९३, बर्दियामा ८७ र बाँकेमा २१ वटा बाघ थिए । त्यसैगरी पर्सामा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ थिए ।
सन् २०१३ मा बाँके निकुञ्जमा चार वटा मात्र बाघ थिए । सन् २०१८ को गणनामा १७ वटा बाघ बढेर संख्या २१ पुग्यो । राष्ट्रिय बाघ गणना रिपोर्ट २०२२ अनुसार बाँकेमा बाघको संख्या बढेर २१ बाट २५ पुगेको छ । यो गणनामा नेपालले १० वर्षमा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरेको छ । १० वर्षमा ३५० बाघ पुयाउने लक्ष्य रहेकोमा बाघको संख्या ३५५ पुगेको छ । बाँकेमा २५, बर्दियामा १२५, चितवनमा १२८, पर्सामा ४१ र शुक्ला फाँटा निकुञ्जमा ३६ वटा बाघ पुगेका छन् । चौथो बाघ गणना २०२२ मा देशभर ५१ प्रतिशतले पाटेबाघको संख्यामा बृद्धि भयो तर, बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके निकुुञ्जमा बाघको संख्या न्यून बृद्धि भएको छ । यो गणनामा सबैभन्दा बढी बाघ बर्दियामा ३८ वटा बढे । जुन अघिल्लो गणनाभन्दा ४३.६७ प्रतिशतले बढ्यो । बर्दियाका ८७ बाट बाघको संख्या १२५ पुगेको छ । संंख्याको हिसाबले देशमै सबैभन्दा धेरै बाघ चितवनमा १२८ वटा छन् । चितवनमा ९३ बाट ३७.६३ प्रतिशतले बृद्धि
भयो । पर्सा राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा त बाघको संख्या दोब्बरभन्दा बढी बृद्धि भएको छ ।
पर्सामा १२७.७७ प्रतिशतले बाघ बृद्धि भएको छ । जहाँ १८ बाट ४१ संख्या पुगेको छ । शुक्लाफाँटामा १२५ प्रतिशतले बढ्यो । जहाँ १६ वटाबाट बाघको संख्या ३६ भएको छ । देशमै सबैभन्दा कम १९ प्रतिशत बाघ बृद्धि बाँके निकुञ्जमा भएको छ । जहाँ २१ बाट ४ बढेर संख्या २५ पुगेको छ । अघिल्लो गणनामा देशमा सबैभन्दा बढी बाघ हुने निकुञ्जको तेस्रो स्थानमा रहेको बाँके अहिले बाघ पाउने निकुञ्जको सबैभन्दा पुछारमा पुगेको छ । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमि क्षेत्र समेटेर नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो । पूर्वमा शिवखोला, पश्चिममा कोहलपुर–सुर्खेत राजमार्ग, उत्तरतर्फ चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग यसको सीमाना रहेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार, भाले बाघहरू एउटै ठाउँमा बस्दैनन् । एउटै क्षेत्रमा दुईवटा भाले बाघ भए भने आपसमा लड्छन् ।
जित्ने बाघ आफ्नै ठाउँमा बस्छ हार्ने त्यो क्षेत्र छाडेर नजिकको मध्यवर्ती क्षेत्र, सामुदायिक वनतर्फ जान्छ । जवान भाले बाघले २० देखि ५० वर्गकिलोमिटर क्षेत्रलाई आफ्नो ‘टेरिटोरी’ बनाउँछ । आहाराको उपलब्धताका आधारमा बाघको ‘टेरिटोरी’ घटबढ हुन सक्छ । भाले बाघले ३ देखि ५ वटासम्म पोथी बाघलाई आफ्नो ‘टेरिटोरी’ भित्र
राख्छ । तर, अर्को भाले बाघलाई भने आफ्नो ‘टेरिटोरी’ मा छिर्न दिंदैन । निकुञ्जका प्रमुख संरक्षण अधिकृत
(वार्डेन) साह बाँके–बर्दिया कम्प्लेक्समा बाघको आवतजावत हुने भएकाले एउटै बाघ दुई तिरको गणनाम देखिनु, आहारा, पानी, बासस्थान लगायतका कुराहरुले पनि बाघ बृद्धि कम भएको बताउँछन् । उनी भन्छन्, ‘बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या घटेको होइन । पहिलेको तुलनामा न्यून बृद्धि भएको हो । समग्रमा बृद्धि भएकै
मान्नुपर्छ । बाघ बृद्धिदर राम्रो छ ।’

१३ श्रावण २०७९ मा प्रकाशित
Nabintech