मुक्त कमैयाको जमिन हुने खानेको कव्जामा मुक्त कमैया फर्किय गाउँ

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका ११, लोकनगर मुक्त कमैया बस्तीमा जस्ता पाताले छाएका साना–साना घर
छन् ।
जमिन पाएको १८ बर्ष वित्दासमेत कुनै–कुनै मुक्त कमैयाले घर बनाउन नसक्दा छाप्रोमा गुजारा गर्दै आएका छन् । ति साना–साना घर छेउमा ठूला–ठूला महल बनेका छन् । कुनै बन्ने क्रममा छन् । तर ति ठूला महल मुक्त कमैयाका होइनन् । पैँसा भएकाहरुले मुक्त कमैयासँग जमिन किनेर बनाएका घर हुन् ती ।
लोकनगर मुक्त कमैया बस्ती क्षेत्र कोहलपुरको मुटु मानिन्छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग र नेपालगन्ज–सुर्खेत अन्तरगत रत्न राजमार्गसँग जोडिएकोले यसमा धेरैजसोको आँखा लाग्ने गरेको हो । साउन १, ०५७ मा मुक्त भएका आठ सय ३७ परिवार मुक्त कमैयालाई सरकारले १०–१६ धुरका दरले कोहलपुरको बसपार्कदेखि उत्तरतर्फको जमिन दिएको छ ।
ललाई फकाई गरि टाठाबाठाले जमिन हडप्ने खतरालाई मध्यनजर गरि तत्कालिन सरकारले मुक्त कमैयालाई दिएको जमिन विक्रि गर्न नपाइने नीति ल्याएर अस्थायी पूर्जा दिएको छ । अहिले पनि उक्त जमिन विक्रि वितरण गर्न फुकुवा भएको छैन । तर, एक सय ७८ परिवार मुक्त कमैयाले सरकारबाट पाएको उक्त जमिन विक्रि गरि गाउँ फर्किएका छन् । ‘फुकुवा भएपछि जमिन नाममा दर्ता गरिदिने कागज गरेर रकम बुझेको पाइन्छ,’ लोकनगर मुक्त कमैया बस्तीका बरघर चिन्कु थारुले भने । उनले छेउको छिमेकीलाई समेत जानकारी नदिएर जमिन विक्रि गर्ने गरेको बताए । यहाँको जमिन महंगोमा विक्रि गरेर गाउँमा धेरै जमिन किनेको उनको भनाई छ । ‘टाठाबाठाले अनेकौँ प्रलोभन देखाएर जमिन हत्याउँछन् । मुक्त कमैयाहरु पनि भविश्यको बारेमा नबुझेर सस्तोमा विक्रि गरि गाउँ फर्किदैछन्,’ उनले भने, ‘महंगो जमिनसँग सस्तो जमिन साटेको पनि पाइन्छ ।’

१४ श्रावण २०७९ मा प्रकाशित
Nabintech