बाघ ‘डबल’ पछि अबको बाटो के ?

शरद अधिकारी


नेपालमा बाघको संख्या ३ सय ५५ रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेसँगै एकातिर बाघ संरक्षणका हिसावले ठूलो सफलता मिलेको छ भने यस विषयमा सकारात्मक बहस प्रारम्भ भएको छ । अर्कोतिर मानिस–बाघ द्वन्द्व कसरी रोक्ने भन्नेबारे पनि सामाजिक चर्चा सुरु भएको छ ।
सन् २०१० मा नेपालले बाघको संख्या दोब्बर बनाउन गरेको अन्तर्राष्ट्रिय प्रतिवद्धतामा सफलता हासिल गरेको छ । बाघको संख्या दोब्बर भएसँगै अव यो संख्यालाई कसरी जोगाउने र मान्छेलाई बाघको खतराबाट कसरी टाढा राख्नु नै अवको प्रमुख चासो र चुनौती हो । किनभने गएको आर्थिक बर्षको तथ्यांक हेर्दा चितवन, बाँके र बर्दियामा मात्र बाघको आक्रमणबाट २५ नेपालीको ज्यान गएको छ । त्यसमध्ये ठूलो संख्या चितवनको रहेको छ । गएको आर्थिक बर्षमा चितवनको मध्यवर्ती क्षेत्रमा १४ र वन क्षेत्रमा २ जना गरी १६ जनाको ज्यान गयो । बाँकी बाँकेमा ५ जना र बर्दियामा ४ जना मानिसको ज्यान गयो । बाघले गएको आर्थिक बर्ष र यसअघि पनि जति मानिसको जीवन लियो, ती सबै अत्यन्तै दुःखद घटना हुन् । र, केही बाघ पनि मर्ने या मारिने क्रम पनि भइरहेको छ । यसप्रति पनि हाम्रो उच्च चासो र चिन्ता छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले नेपाल सरकारले अघि बढाएका संरक्षण सम्बन्धी कार्यक्रम र बाघ लगायत बन्यजन्तुको अनुसन्धानमा पनि सघाउँदै आएको छ । देशभर बाघ पाइने क्षेत्रमा सयौं क्यामरा राखेर एकातिर बाघको ‘मनिटरिङ’ को काम पनि कोषले गर्दै आई रहेको छ भने अर्कोतिर बन्यजन्तुको सिकारीको ‘निगरानी’ मा पनि मद्दत गरिरहेको छ ।
सिलसिलावद्ध रुपमा मान्छे–बाघ द्वन्द्व बढिरहेका बेला यतिबेला हामी जिम्मेवार निकाय सबैलाई यो द्वन्द्वको तत्काल समाधान गर्नु पर्ने जिम्मेवारी महसुस भइरहेको छ । बाघबाट आक्रमण बढ्दो संख्यालाई न्युनिकरण गर्न हामीले बाघलाई नियन्त्रणमा लिएर वन्यजन्तु उद्धार केन्द्रमा राख्ने गरिएको छ । तर आजका दिनमा वन्यजन्तु उद्धार गृहकै अभाव छ । यो त भयो, अस्थायी व्यवस्थापन–अस्थायी समाधान । दीर्घकालीन समाधानको दिशामा पनि हामीले तत्काल नयाँ कदम नचाली भएकै छैन । स्थायी समाधानतर्फ पनि गम्भीरताका साथ सोच्नु पर्ने बेला आएको छ । किनभने बाघले हाम्रो मानव जीवनमा नराम्ररी क्षति पु¥याई रहेको छ । हाल के कारण मान्छे–बाघ द्वन्द्व बढिरहेको छ भन्ने तर्फ पनि हाम्रो ध्यान जान जरुरी छ । यसबारे गहिरो अध्ययन र समाधानका पाइला तत्काल चाल्न जरुरी भएको छ ।
बाघ संरक्षणमा राज्यको उच्च प्रतिवद्धता
बाघको संरक्षणमा नेपाल सरकारले उच्च प्रतिवद्धताका साथ काम गरिरहेको छ । जसका कारण आज बाघको संख्या दोब्बर बनाउन सफलता मिलेको छ । एकातिर बाघको संख्या सन् २०२२ सम्ममा २ सय ५० पु¥याउने राष्ट्रिय लक्ष्य थियो । हाम्रो अन्तराष्ट्रिय प्रतिवद्धता थियो । त्यो प्रतिवद्धता आज आएर साकार भएको छ । सन् २०१० मा काठमाडौंमा ग्लोबल टाइगर्स वर्कसप भएको थियो । त्यही वर्ष रूसको पिटसबर्गमा विश्व बाघ सम्मेलन
भयो । सम्मेलनमा बाघ पाइने १३ मुलुकका प्रतिनिधि सहभागी थिए । नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी थियो ।
सम्मेलनमा नेपालले सन् २०२२ सम्म आफ्नो देशमा बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता व्यक्त गरेको थियो । उ बेला नेपालमा बाघको संख्या १ सय २१ थियो । सन् २०२२ मा त्यो संख्या २ सय ५० पु¥याउने नेपालको लक्ष्य र अन्तराष्ट्रिय प्रतिवद्धता व्यक्त गरेपछि नेपाललाई जसरी पनि बाघको संख्या बढाउनै पर्ने जिम्मेवारी थियो । आज सकारात्मक र अत्यन्तै उत्साहजनक
परिणाम प्राप्त भएको छ ।
बाघको संख्या दोब्बर पार्न बाघलाई चाहिने बासस्थान र आहार पाइने क्षेत्र पनि बढाउनुपर्ने थियो । त्यो भनेको बाघको आहारा प्रजाति बढाउने घना बनको विकास गर्नु हो । सरकारल निकुञ्ज स्थापना ग¥यो र पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल विस्तार गरेको थियो । बासस्थान र आहार भएरमात्र पुग्दैनथ्यो, बाघको अवैध शिकार र
चोरी निकासी पनि रोक्नुपर्थ्यो । सरकारले त्यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत वन्यजन्तु अपराध नियन्त्रण ब्युरो
बनायो । त्यतिमात्र होइन, सरकारले प्रधानमन्त्रीकै नेतृत्वमा राष्ट्रिय बाघ संरक्षण समिति बनाएर बाघ संरक्षणमा काम गरिरहेको छ । एकातिर बासस्थान र आहार थपियो, अर्कातिर चोरी सिकारी नियन्त्रण भएकाले नेपालले बाघको संख्या दोब्बर पार्ने लक्ष्य साकार पार्न संभव भएको हो । यसका लागि नेपाल प्रहरीको प्रयास अत्यन्तै सकारात्मक रहेको छ ।
गएको मंसिर महिनाबाट नेपालमा बाघ गणनाको औपचारिक काम सुरु भएको थियो । सन् २०१८ को गणनाअनुसार नेपालमा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी बाघको संख्या २ सय ३५ थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको पहलमा विगत १० बर्षदेखि नै निरन्तर अध्ययन, अनुसन्धान र
निगरानी गरिरहेको छ । नेपाली सेना र नेपाल प्रहरीले पनि प्रभावकारी काम गरिरहेको छ । अझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमार्फत बन्यजन्तुको अवैध व्यापार नियन्त्रणमा प्रभावकारी काम भइरहेको छ । यसमा राष्ट्रिय अनुसन्धान विभागको समेत सक्रियता प्रभावकारी रहन पुगेको छ । जुन फलदायी हुन गयो ।
बाघले मान्छेलाई किन आक्रमण गर्छ ?
नेपालमा बाघको संख्या बढेकै कारण बाघले मान्छे मार्न सिलसिला बढेको हो त ? पछिल्लो समय बाघ र मान्छेबीच द्वन्द्व बढ्नुमा बाघको आपसी सम्बन्ध र मानिससँगको सम्बन्ध नै प्रमुख
कारण हो । नेपालमा पाइने पाटेबाघ जंगलको मुख्य सिकारी हो । तर पनि बाघले सामान्य अवस्थामा मान्छेलाई आक्रमण गर्दैन ।
हेर्दा निकै डरलाग्दो देखिने भए पनि यो बाघ प्राकृतिक हिसावले निकै लजालु स्वभावको हुन्छ । मान्छेसँग सकभर सम्पर्कमा आउन चाहँदैन । टाढैबाट देखादेख भइहाले पनि लुक्ने बाघको प्राकृतिक स्वभाव हुन्छ । अहिले बाघ आफ्नो स्वभाव विपरित मान्छेमाथि आक्रमण गरिरहेको छ । यसबारे वृहत अनुसन्धान हुनु पर्ने देखिन्छ । व्यवहारिक अनुसन्धानबाट मान्छे–बाघ द्वन्द्वको निरुपण गर्नु पर्छ ।
हामी सबैलाई थाहा छ, बाघ जंगलमा आफ्नो क्षेत्र बनाएर बसेको हुन्छ । सामान्य अवस्थामा एउटा पोथी बाघले २५–३० किलोमिटरमा आफ्नो क्षेत्र बनाउँछ भने भाले बाघको क्षेत्र ४० देखि १०० किलोमिटरसम्म हुन सक्छ । आफू अधिनस्थ क्षेत्र बनाउन पोथी भन्दा भाले बाघ निकै संवेदनशील र जुझारु पनि हुन्छ ।
भाले बाघले आफ्नो क्षेत्रमा चार–पाँचवटासम्म पोथी बाघलाई राखेको अध्ययनले देखाएका छन् । अर्कोतर्फ आफनो क्षेत्रमा भाले बाघ आएको सहनै सक्दैन । दिसा–पिसाब, गन्ध लगायत अन्य विभिन्न संकेतको माध्यमबाट बाघले आफ्नो क्षेत्र बनाएका हुन्छन् । र, अरू आएको पनि त्यही माध्यमबाट थाहा पाउँछन । उनीहरू आफ्नो मुख्य क्षेत्रमा अरूलाई छिर्नै दिँदैनन् । नयाँ बाघलाई पुरानोले ठाउँ नदिएको वा धेरै बूढो भएपछि तन्नेरीले लखेटेको पनि हुन सक्छ । यस्तो बेला कमजोर बाघले घना जंगल भन्दा टाढा आहारा नपाउने क्षेत्रमा जानुपर्ने हुन्छ । हो, त्यही बेला बाघले आहाराको खोजीको क्रममा मान्छेको आक्रमण गर्ने र घर पालुवा जनावरको पनि शिकार गर्ने । यस्ता बाघ बस्ती नजिक आइपुग्ने र मान्छेलाई देखे आक्रमण गर्न सक्छन् । बाघले मान्छेलाई आक्रमण गर्नुको कारण आहारा ठानेर पनि हुन सक्छ ।
बाघलाई मानिस बस्ती वरपर मासुको जोहो गर्न सजिलो भने हुँदैन । पाटेबाघको मनपर्ने आहारा मृग,
जरायो, बँदेल, निलगाई, गौरीगाईजस्ता जनावर हुन् । नेपालमा बाघको संख्या बढेसँगै उसका आहाराको संख्या पनि बढिरहेको छ । यी जनावरको शिकार गर्न पनि बाघले निकै समय र शक्ति खर्च गर्नुपर्छ ।मान्छे–बाघ द्वन्द्व बढ्नुको अर्को प्रमुख कारण चाही बाघको बासस्थानमै मानिस जानु हो । मान्छेलाई आक्रमण गर्नु चाही बाघलाई सहज भएर र आफनो शिकार ठानेर पनि आक्रमण गरेको हुन सक्ने देखिन्छ । र, यही क्रममा बाघ मान्छे खान पल्केपछि उसले पटक–पटक मान्छेलाई आक्रमण गरिरहेको देखिएको छ । अर्को कुरा भाले बाघसँग झगडा परेको वा पोथी बाघसँग संसर्ग भइरहेका बेला पनि मान्छे नजिक परे बाघले आक्रमण गरेको हुनसक्छ । साथै पोथी बाघले नजिकै आएको मान्छेबाट आफ्ना बच्चा असुरक्षित छन् भन्ने ठानेर पनि आक्रमण गर्ने गरेको अनुसन्धानबाट देखिएको छ । समग्रमा बाघको संख्या बढेसँगै मानिसमा संवेदनशीलता नभएकाले पनि घटनाहरू भएका छन् । बाघ–मान्छेबीच द्वन्द्व कसरी घटाउने? सबैभन्दा महत्वपूर्ण पक्ष मान्छे बाघको बासस्थान र उसको क्षेत्रमा जानै भएन । बाघको संवेदनशीलतालाई हामी आफैले बुझ्नै पर्ने हुन्छ । राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको अहिले ठाउँ–ठाउँमा क्यामरा राखेर बाघको आवतजावतबारे निगरानी गरिरहेका छन् । बाघको आवातजावतबारे विस्तृतमा जानकारी प्राप्त भइरहेको हुन्छ । बाघ देखिने ठाउँमा यहाँ नजानुहोला भनेर सूचना पनि टाँस्ने कम भएको छ । तर निकुञ्जले नजानु भनेको ठाउँ जुन जंगलमा बाघ बस्छ, मान्छे त्यही गइदिदा पनि मान्छे आक्रमणको शिकार भएके देखिएको छ ।
जस्तोकी बर्दियाको खाता जैविक मार्ग छेउको बस्तीका मानिस बाघकै बासस्थान वरपरको जङ्गलमा आश्रित छन् । बाघको संवेदनशीलता बुझ्ने हो भने बर्दियाको खाता जैविक मार्गको निकट रहेको मानवबस्ती सार्न तर्फ पहल गर्नु पर्ने हुन्छ । यसले पनि यहाँ बाघ–मानिस द्वन्द्व बढाएको छ । मानिसले पनि बाघको संवेदनशीलता बुझ्नु जरुरी छ ।
मान्छे–बाघ द्वन्द्व कम गर्न अर्को पनि काम गर्नु जरुरी छ । हाम्रा विकासका पूर्वाधारहरू निर्माण गर्दा बन्यजन्तुको प्राकृतिक रूपमा हुने आवतजावतमा असर नपर्ने गरी बनाउनुपर्छ । विदेशतिर जंगल क्षेत्रमा सडक बनाउनुप–यो भने बन्यजन्तु ओहोरदोहोर हुने गरी करिडोर निर्माण गरिन्छ । अब हामी कहाँ पनि त्यसै गरेमा बन्यजन्तुको संरक्षण हुने देखिन्छ । मानिसले जीविकापार्जनका लागि जैविक क्षेत्रको भर पर्दा र बाघले पनि जीवन यापनका क्रममा मानिसको आधार क्षेत्रमा प्रवेश गर्दा मानव–बाघ द्वन्द्व बढिरहेको देखिन्छ । मानिसको जीवन बचाउनै पर्ने छ भने अर्को तर्फ लोपोन्मुख बाघको पनि संरक्षण गर्नु पर्ने हाम्रो कर्तव्य रहेको छ । यो प्रयासले मान्छे–बाघ द्वन्द्वलाई कम गर्ने र मान्छे–बाघ सहअस्तित्वलाई बढावा दिने विश्वास गरेका छौं । जगतमा यी दुबै जीवनको संरक्षण हुने गरि प्रभावकारी कार्यक्रम ल्याउनु जरुरी छ । यसबाट मात्र मानव–बाघ दुबैको सहअस्तित्व कायम हुने देखिन्छ ।
(लेखक राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव तथा बाघ संरक्षण समितिका सदस्य हुन ।)

१५ श्रावण २०७९ मा प्रकाशित
Nabintech