‘जनताको साथमा कांग्रेस’ अभियान सफल बनाउन दृढ र प्रतिवद्ध

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले मंसिर ४ को निर्वाचनलाई अर्जुनदृष्टि बनाएर पार्टी अगाडि बढिरहेको बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा सभापति गौडेलेले नेपाली कांग्रेस बाँके एक्लै चुनाव लड्न सक्षम रहेको बताए । उनले भने-‘हामी एक्लै चुनाव लड्न सक्षम छौं, संघका ३ र प्रदेशका ६ निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै जीत हासिल गर्न सक्ने अवस्थामा छ तर केन्द्रले सत्तारुढ दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय कार्यान्वयनका लागि निर्देश गरे हामी त्यसमा पनि प्रतिबद्ध हुनेछौं ।” उनले बाँकेमा एक्लै चुनाव लड्ने सन्देश केन्द्रीय नेतृत्वलाई दिइसकेको समेत बताए ।

सभापति गौडेलले स्थानीय चुनावमा हासिल गरेको उपलब्धि अभूतपूर्व रहेको बताउँदै आउने चुनावमा पनि यस्तै सुखद नतिजा हात पार्ने अभियानमा अर्जुनदृष्टिका साथ लागेको बताए । गौडेलले पार्टीले आजदेखि सुरु गरेको निर्वाचन लक्षित ‘जनताको साथमा कांग्रेस’ अभियानलाई सार्थक बनाउन कांग्रेस बाँके दृढ भएर लाग्ने बताए । उनले बाँकेका पत्रकारहरुले तटस्थ र निष्पक्ष समाचार सम्प्रेषण गरेर स्वस्थ पत्रकारिताको अभ्यास गरिरहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे । त्यस अवसरमा कान्तिपुर टेलिभिजनको वरिष्ठ उपसम्पादकमा बढुवा भएका वरिष्ठ पत्रकार जे. पाण्डेलाई सभापति गौडेलले खादा ओढाएर सम्मान गरेका थिए । उपस्थित सबै पत्रकारहरुलाई सभापति गौडेलले डायरी र कलम प्रदान गरेका थिए ।

पत्रकार भेटघाट कार्यक्रममा प्रदेश कमिटी सदस्य प्रमेश्वरी पाठक, तरुण दलका पूर्व महासचिव एवम् कांग्रेस नेता हुर्मत न्यौपाने, कांग्रेस बाँकेका उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्णबहादुर कार्की, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोदकुमार थारु, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी लगायत उपस्थित थिए ।

१० भाद्र २०७९ मा प्रकाशित
Nabintech