मिटरब्याजको पीडा : सकियो सम्पत्ति, छिनिएन ऋण

पिपलबाेट संवाददाता


 चर्काे ब्याजमा लाखौँ रुपियाँ ऋण लिँदा दाङ जिल्लामा केही परिवारको उठिबास लाग्ने अवस्था आएको छ । मिटरब्याजमा लगानी गर्नेले महँगो ब्याज कबोलेर ऋण दिने र अनेकौँ जालझेल गरेर पैसामा ठगीसँगै दुःख दिन थालेपछि पीडित परिवारको उठिबास लाग्ने अवस्था आएको हो । पीडित परिवारमध्येकी एक हुनुहुन्छ घोराही उपमहानगरपालिका–१० निवासी सीमा विक घमाल ।

नारायणपुरमा कस्मेटिक पसल गर्दै आउनुुभएकी सीमाले पसलमा सामान थप्नका लागि २०७८ असारमा गाउँकै एक महिलासँग दुई लाख रुपियाँ ऋण लिनुभयो । एक महिनामा दुई लाखको ब्याज ३० हजार तिर्नेगरी ऋण लिनुभएको थियो । कात्तिकमा ६० हजार रुपियाँ ब्याज तिर्नुभयो । त्यसपछि उहाँले सोही ऋण तिर्नका लागि समूहबाट सात लाख र दुई लाख रुपियाँ बाहिरबाट खोजेर जम्मा नौ लाख रुपियाँ तिरिसक्दा पनि अझै तीन लाख रुपियाँ पुगेन भन्दै माग्ने गरेको बताउनुभयो ।

“मैले ऋण लिएको चार लाख ४५ हजारको अहिलेसम्म नौ लाख रुपियाँ बुझाइसकेँ तर अझै मेरो ऋण सकिएको छैन भनेर उनीहरूले धम्काइरहन्छन्,” पीडित सीमाले भन्नुभयो, “मैले पैसा दिन सकिनँ भनेर मेरो नागरिकता, मेरो हस्ताक्षर गरेको प्रभु र कुमारी बैङ्कको खाली चेकसमेत लगेका छन् । जहाँ भेट्यो त्यहीँ पैसा दे भनेर धम्क्याइरहन्छन् ।”

साहुले धम्क्याउने र घरपरिवारले पनि बेवास्ता गरेपछि अहिले आफू आफन्तकहाँ बस्दै आएको उहाँले बताउनुभयो । “मैले त एक पटक मर्छु भनेर आँट नगरेको पनि होइन, ऋण तिर्दातिर्दा भएको सम्पत्ति सकियो । अहिले पसल पनि बन्द छ,” उहाँले भन्नुभयो, “मिटर ब्याजले सम्पत्ति सकियो तर ऋण सकिएको छैन । ऋणकै कारण घरपरिवारसँग सम्बन्ध बिग्रिएको छ ।”

सीमाकै जस्तो उनै महिलाबाट घोराही उपमहानगरपालिका–१०, नारायणपुरकै किमा कुँवर देवकोटा पनि फन्दामा पर्नुभएको छ । उहाँले २०७८ असोजमा तीन लाख रुपियाँ ऋण लिनुभएको थियो । तीन लाख रुपियाँ ऋण लिँदा प्रतिमहिना एक लाखको २० हजार रुपियाँका दरले ब्याजस्वरूप ६० हजार काटियो । उक्त ऋण तिर्न उहाँले आफ्नो र छोरीको सुनको सिक्री बेचेर तीन लाख फिर्ता गर्नुभयो । घर बनाउँदाको ऋण तिर्नुपर्ने भएकाले उहाँले फेरि अर्को पटक एक लाख रुपियाँ ऋण लिनुभयो । त्यसको पनि पटक–पटक गरी एक लाख २० हजार रुपियाँ दिइसके पनि अझै पैसा तिर्न बाँकी रहेको भन्दै साहुले धम्क्याउने गरेको किमाले बताउनुभयो ।

“मैले पैसा दिइसकेकी छु तर प्रहरीमा लग्छु भन्दै धम्की आउने गरेको छ,” उहाँले भन्नुभयो, “तर घरमा आउनुहोस् बसेर पैसाको हिसाब गरौँ, तिर्नुपर्ने भए म तिर्छु भन्दा आउनुहुन्न र पैसा पुगेन भन्दै मागिरहनुहुन्छ ।” जिल्लाका यी केही उदाहरण मात्र हुन् । दाङ जिल्लामा मोटो रकम मिटरब्याजमा लगानी गरेर सर्वसाधारणबाट आर्थिक लाभ लिनेहरू मौलाएका छन् । गाउँगाउँमा मिटरब्याजको फन्दामा पर्दा कतिपय स्थानीय सम्पत्ति गुमाएर घरवारविहीन हुनपुगेका छन् । हालै जिल्ला प्रशासन कार्यालयमा ४७ जना ऋणीले उजुरी दिएका छन् । दाङमा मासिक १३ देखि २० प्रतिशतसम्म ब्याज तिरेर ऋण निकाल्नेहरू समयमै ऋण तिर्न नसकी ब्याज नै सावाँभन्दा दोब्बर हुन थालेपछि प्रशासनमा निवेदन दिने बढेका हुन् । ४७ जनाले छ करोड सात लाख २३ हजार रुपियाँ महँगो ब्याज तिरेर ऋण लिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

२०७८ साउन २८ गते गृह मन्त्रालयले मिटरब्याज पीडितलाई उजुरी दर्ताका लागि सार्वजनिक सूचना निकालेसँगै जिल्लामा पीडित हुँ भन्दै निवेदन दिने बढेको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभएको छ । प्रशासनमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाभित्रका ३४ वटा उजुरी छन् । त्यसैगरी राप्ती गाउँपालिका छवटा, तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकाबाट तीन÷तीनवटा र राजपुर गाउँपालिकाबाट एकवटा उजुरी परेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी पुनले गृह मन्त्रालयले मिटरब्याजीको मुद्दालाई छलफल गरेर प्रशासन कार्यालयमा समाधान हुनेलाई समाधान गर्ने र समाधान नहुनेलाई प्रहरीमा पठाउने भनेअनुसार काम भइरहेको जानकारी दिनुभएको छ ।

११ भाद्र २०७९ मा प्रकाशित
Nabintech