बाँके नेपाली काँग्रेसद्धारा प्रदेश उमेदवारहरुको नाम सिफारिस

पिपलबाेट संवाददाता


आसन्न प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेश सभा–१ ‘ख’ बाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसले आफ्ना सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको हो । नेपाली कांग्रेसले प्रदेश सभा १ ‘ख’ का सभापति  बलराम शर्माका अनुसार पार्टीका तर्फबाट कृष्ण कार्की, टेकनारायण भुसाल, फुलाराम चौधरी, सञ्जुकुमारी चौधरी, चिन्तामणि धिताल, चक्र अधिकारी, लक्ष्मणराज पौडेल, चुडामणि कँडेल र जयसिंह केसीको नाम सिफारिसमा परेको हो ।

यस्तै समानुपातिक तर्फ भानुभक्त भट्टराई, अञ्जना पाण्डे, कृष्ण बिक, जागेश्वर थारु, गुट्टु थारु, दलबहादुर सुनार, लोकबहादुर दमाई, धनऋषि न्यौपाने लगायतको नाम सिफारिस गरिएको नेपाली कांग्रेसले प्रदेश सभा १ ‘ख’ का पार्टि प्रवक्ता गोपाल शर्माले वताए । प्रदेश सभा १ ‘ख’ बाट २०७४ सालको निर्वाचनमा तत्कालिन बाम गठबन्धनले जित हात पारेको थियो । बाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी नेतृ आरती पौडेल निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसले
नारायणप्रसाद गौडेललाई आफ्नो उम्मेदवार बनाएको थियो ।

यस्तै आगामी मंसिर ४ गते हुन लागेको प्रदेश सभा निर्वाचनका लागि बाँके, प्रदेश सभा–३ ‘ख’ बाट नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ । उक्त निर्वाचनका लागि कांग्रेस प्रदेश सभा–३ ‘ख’ कार्यसमितिले बुधबार औपचारिक रुपमा नाम सिफारिस गरेको हो । प्रदेश सभा–३ ‘ख’ बाट प्रत्यक्षतर्फ पहिलो नम्बरमा दुखिराम लोनियाको नाम सिफारिसमा परेको छ । यस्तै दोस्रो नम्बरमा रामेश्वर कँडेल, राजेन्द्र आचार्य, देउफल यादव, दयाराम यादव र बोदिलाल न्यौपाने सिफारिसमा परेका छन् ।

यसैगरी समानुपातिक तर्फबाट भिमबहादुर बिक(दलित), रमेशकुमार सिजाली(जनजाती), नरबहादुर खड्का (खस आर्य), धर्मराज सुनार(दलित), मो. कमाल अन्सारी (मुस्लिम), रामचन्द्र गुप्ता(मधेसी) तथा उमा थापामगर, चिनुमाया कुँवर र झुपकली मगर (झुकमाया) महिला कोटाबाट सिफारिसमा परेको प्रदेश सभा–३ ‘ख’ का सभापति राजेन्द्र आचार्यले जानकारी दिए । उनीहरुको नाम क्षेत्र नम्बर ३ कार्यसमितिलाई सिफारिस गरिएको उनले बताए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले प्रदेश सभा–३ ‘ख’ बाट नेता लक्ष्मीनारायण शाहलाई उम्मेदवार बनाएको थियो । शाहलाई तत्कालिन बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका बाबुराम गौतमले पराजित गरेका थिए । यस्तै आसन्न प्रदेश सभाको निर्वाचनका लागि बाँकेको प्रदेश सभा–३ ‘क’ बाट नेपाली कांग्रेसले सम्भावित उम्मेदवार सिफारिस गरेको छ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन एकैसाथ सम्पन्न गर्दैछ । उक्त निर्वाचनका लागि कांग्रेसले प्रदेश सभा–३ ‘क’ बाट प्रत्यक्षतर्फ पहिलो नम्बरमा कपिलदेव शर्माको नाम सिफारिस गरेको छ । दोस्रो नम्बरमा चन्तराम थारु, केशवकुमार शाह, बिनोदकुमार थारु, टंकप्रसाद काफ्ले आशिष, देवबहादुर केसी, टिकाराम उपाध्याय, शरद रेग्मी र रामबहादुर विष्टको नाम सिफारिस गरिएको छ ।

यसैगरी समानुपातिकतर्फ भावना चौधरी(थारु महिला), कृष्णप्रसाद सापकोटा (खस आर्य), दशरथ थारु(थारु), पवनकुमार थारु (थारु), श्रीदेवी थारु (थारु महिला), नाज्मा खातुन (मुस्लिम महिला), कोपिला शर्मा (महिला) र कमला हमाल(महिला) मा सिफारिस गरिएको छ । क्षेत्र नम्बर ३ कार्यसमितिलाई सिफारिस गरिएको उक्त नामावली जिल्ला कार्यसमिति बाँके हुदै लुम्बिनी प्रदेश कार्यसमितिमा पठाइने बताइएको छ ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले प्रदेश सभा–३ ‘क’ बाट चन्तराम थारुलाई उम्मेदवार बनाएको थियो । उनलाई तत्कालिन बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेल (आईपी)ले पराजित
गरेका थिए ।

१५ भाद्र २०७९ मा प्रकाशित
Nabintech