राप्तीसोनारीका खोलाहरुको प्रारम्भिक वातावरणीय परीक्षण गरियो

पिपलबाेट संवाददाता


बाँकेको राप्तीसोनारी गाउँ पालिकामा रहेका खोला, नदी र घाटको प्रारम्भिक वातावरणीय परीक्षण
गरिएको छ । गाउँपालिकाको प्रस्तावनामा विएमएस–एडब्लुएएस–आरआइपिपिएलई कन्सल्टेन्सीले गाउँपालिकाभित्र रहेका ९ वटा खोला, वगर र घाटबाट नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्नका लागि प्रारम्भिक वातावरणीय परीक्षण गरेको हो । करिब ३ महिनाको अध्ययनपछिप्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयार पारिएको वातावरण तथा सामाजिक व्यवस्थापन विज्ञ राजीव खनालले बताए ।

खोला, बगर तथा घाटबाट दिगो र वातावरणमैत्री रुपले ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्दा यो अध्ययन जरुरी रहेको खनालले बताए । नदीजन्य पदार्थ उत्खनन् कार्यमा चोरी निकासी बढी हुने गरेको पाइएकाले यसमा स्थानीय सरकार नै चनाखो हुनुपर्नेमा उनको जोड छ । यसतर्फ ध्यान दिँदै स्थानीय सरकारले अनुगमन, वृक्षारोपण लगायत यसबारे जनचेतनामूलक कार्यक्रम गर्न सक्ने गरी वातावरण व्यवस्थापनको योजना समेत निर्माण गरिएको उनले जानकारी दिए । गाउँपालिकाभित्र रहेका ९ वटै खोला, बगर, घाटबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन् गर्ने भन्ने विषयमा नेपाल सरकारले तोके बमोजिमको मापदण्ड बनाइएको छ । वातावरण संरक्षण ऐन २०७६ तथा नियमावली २०७६ अनुसार कुनै पनि क्षेत्रबाट दैनिक ३ सय घनमिटरसम्म नदीजन्य पदार्थ संकलन गर्नु पूर्व
प्रारम्भिक वातावरणीय परीक्षण गनुपर्ने हुन्छ । यहाँका ९ वटै खोला, बगरको मापदण्ड फरक–फरक छ । उक्त मापदण्ड पालनामा समेत सरोकारवालाहरुले ध्यान दिनुपर्ने उनको भनाई छ ।

यसैबीच नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्नका लागि तयार पारिएको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन पश्चात बुधबार सरोकारवालाहरुलाई जानकारी गराइएको छ । राप्तीसोनारी गाउँपालिकाको आयोजनामा पालिका संग जोडिएको बाँके राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय, सामुदायिक वन कार्यालय, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जन प्रतिनिधि हरुको सहभागितामा अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको हो ।

अवैध निकासी तथा चोरी पैठारी बढिरहेको अवस्थामा प्रारम्भिक वातावरणीय परीक्षणको जरुरी देखिएको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताए । आफू निर्वाचित भए लगत्तै गाउँपालिकाले ढुंगा, गिट्टी, उत्खनन् तथा संकलन कार्यलाई व्यवस्थित गर्दै लगेको बताउँदै अध्यक्ष पौडेलले वातावरण संरक्षण गर्ने दायित्व पनि स्थानीय सरकारको भएकाले
सरोकारवालाले पनि यसमा साथ दिनुपर्ने बताए ।

१६ भाद्र २०७९ मा प्रकाशित
Nabintech