बाँकेको खजुरा गाउँपालिका–४ एक नम्बरका तिलकवीर सुनार भारतको लखनउबाट छोरीको उपचार गरेर बुधबार घर फर्किने क्रममा नेपाल–भारत सीमामा आइपुग्दा रातिको ११ बजेको थियो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई छोरी बिरामी भएको कागज देखाएपछि उनले सहजै दशगजा पार गर्न पाए । तर, जमुनाह नाकामा नेपाली सुरक्षाकर्मीले रोके । राति १० बजे सीमा बन्द भइसक्ने भन्दै सुरक्षाकर्मीले उनलाई नेपालगन्ज आउनै दिएनन् । उनले छोरी बिरामी भएकाले घर फर्किन पाउनुपर्ने आग्रह गरिरहे । तर, उनको केही सीप चलेन ।
भन्सारका कर्मचारीले राति ८ बजे सीमाको गेटमा ताला लगाएर चाबी आफैंसँग राखेर जाने भएकाले प्रवेश गर्न दिन असमर्थ भएको सुरक्षाकर्मीले बताए । अन्तिममा उनी अर्को बाटो भएर घर फर्किए । ‘छोरीको उपचारका क्रममा ढिलो भयो । ११ बजे राति जमुनाह नाका आइपुगेको थिएँ । एसएसबीले त छोड्यो तर नेपाली सुरक्षाकर्मीले छोड्न मानेनन्,’ खजुरा–४ का निवर्तमान वडाध्यक्षसमेत रहेका सुनारले भने, ‘भारतमा भन्दा असहज त आफ्नै भूमिमा रहेछ । कताकता विदेशी भूमिमा भएको भान पनि भो ।’
नेपालगन्ज उपमहानगरपालिका–११ का पवन शर्माले पनि यसै गरी सीमामा सास्ती व्यहोरेको घटना सुनाए । केही दिनअघि उनी पनि उपचारका लागि भारतको लखनउ पुगेका थिए । घर फर्किने क्रममा जमुनाह नाका आइपुग्दा रातिको ११ बज्यो । भारतीय सुरक्षा बल एसएसबीले दशगजा पार गर्न दिए । तर, नेपाली सुरक्षाकर्मीले भने गेट बन्द भइसकेको भन्दै नेपालगन्ज आउन दिएनन् । ‘दशगजामा बस्ने ठाउँ नै छैन । रातभरि खुला आकाशमुनि बस्ने कुरा पनि भएन,’ शर्माले भने, ‘एक त बिरामी, अर्कोतिर आफ्नै भूमिमा प्रवेश गर्न नपाउँदा मन रोयो ।’
बाँकेलगायत पश्चिमी क्षेत्रका बासिन्दाहरू दैनिकजसो भारतको लखउन जाने गर्छन् । स्वास्थ्य परीक्षण, अनेकखाले जाँच, चिकित्सकसँग परामर्श र औषधि खरिदले ढिलो हुने गर्छ, जसका कारण फर्किंदा रात पर्छ । राति सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न नदिएपछि उनीहरूलाई सास्ती खेप्नु परेको हो । ‘भन्सारले रातिका बेला तस्करी हुन नदिन गेट बन्द गर्नु ठिकै होला । तर, बिरामीलाई फर्किन नदिनु त अति नै हो,’ अर्का भुक्तभोगी नेपालगन्ज–१० का कौशल गुप्ताले भने, ‘राति सीमामा अपराधीलाई जस्तो व्यवहार गरिन्छ ।’
राति १० बजेपछि जमुनाह नाकामा सुरक्षाकर्मीले बिरामी बोक्न सवारी साधन लैजान दिंदैनन् । ई–रिक्सा, अटोसमेत चल्न नदिंदा भारतबाट उपचार गरी फर्किनेले सास्ती झेल्नु परेको छ । इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई माधव रिजालले मूल गेट र भन्सारअगाडिको गेटमा भन्सारका कर्मचारीले ताला लगाएर चाबी आफूसँगै लिएर जाने गरेको बताए । ‘मेरो सम्पर्कमा आएका बिरामीलाई राति पनि आउन दिएका छौं,’ उनले भने, ‘इमर्जेन्सी हेरेर आफूहरूले भारतबाट आउन दिए पनि गेटमा ताला लगाइएका कारण समस्या हुने गरेको छ ।’
नेपालगन्ज भन्सार प्रमुख नरबहादुर थापाले राति कार्यालय बन्द हुने भएकाले मालबाहक गाडी रोक्न गेट बन्द गरिंदै आएको बताए । अत्यावश्यकबाहेक राति गेट खोल्न नदिने गरेको उनको भनाइ छ । ‘वास्तवमै कोही बिरामी छ भने एम्बुलेन्सका लागि गेट खुल्छ । तर, जोकोहीलाई गेट खोल्ने कुरा भएन,’ उनले भने । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राति भारतबाट फर्किनेलाई पैदल आउन दिन सुरक्षाकर्मीलाई निर्देशन दिएको बताए । ठूला मालाबाहक गाडीलाई रोकिएको उनको भनाइ छ ।
‘सवारीसाधन भन्सार क्षेत्रबाट जमुनाहसम्म चल्दैनन् । तर, पैदल आउनेलाई नरोक्न निर्देशन दिएका छौं,’ उनले भने, ‘गाडी नचल्दा भारतबाट आउनेलाई समस्या हुन सक्छ । बिरामीलाई नेपाल फर्किन दिनु भनेर निर्देशन छ ।