मधुमेह लुकाएर बस्नु भएको त छैन?

पिपलबाेट संवाददाता


मधुमेह तथा इन्डोक्राइनोलोजी विभागमा पोस्टिङ चल्दै थियो। जता जसलाई सोधेपनि प्राय घरमा एक न एक जनालाई सुगर र थाइरोइड छ नभनेको भेटेको नै थिइन। यो वार्डमा अरु केही नसके पनि मधुमेहका प्रमुख कारण, यो रोग लाग्न नदिन बच्नुपर्ने उपाय साथै लागीहाले पनि अरु जटिल समस्या (आँखा, मिर्गौला साथै नसा सुगरले बिगार्‍यो) भन्ने आम मानिसको कौतुहलतालाई बुझाउने प्रयास गर्नु थियो। त्यसको लागी जतिसक्दो बिरामीका कुरा सुन्ने र बिरामीलाई सम्झाउने तथा औषधि लेख्ने मात्र नभएर खानपिनको लागी सल्लाह दिएको अवलोकन गरिरहेको थिएँ।

प्रायः बिरामीहरूमा खानपिनको राम्रो ज्ञान नभएको, ज्ञान भए पनि पालना नगरेको र शारीरिक व्यायाम त लगभग शून्य नै भएको पाइयो। कतिपयलाई  सुगर भइसकेपछि  के खाने? के नखाने? भन्ने दुविधा, औषधि सुरु गरेपछि जिन्दगीभर खानुपर्ने भन्ने चिन्ता, इन्सुलिन लगाउन सकेसम्म नमान्ने र माने पनि लगाउने तरिकाको राम्रो ज्ञान नभएको पाइयो। यसै सन्दर्भमा रहेर आफूले देखेका र सिकेका कुरा हजुरलाई पनि भन्छु है त।

आखिर के हो त मधुमेह?
हाम्रो शरीर भित्र रहेको  प्यान्क्रियाज नामक ग्रन्थीले ‘इन्सुलिन’ भन्ने हर्मोन उत्पादन गर्छ। उक्त इन्सुलिन हर्मोनले खानाबाट प्राप्त ग्लुकोजलाई शक्तिमा उपयोग गर्न कोषहरुमा पुर्‍याउन मद्दत गर्दछ।
कहिलेकहिले शरीरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन अथवा इन्सुलिनको राम्रोसँग उपयोग हुन सक्दैन। त्यतिबेला ग्लुकोज कोषहरुमा पुग्न नसकी रगतमा रहिरहन्छ। यसरी उत्पन्न हुने स्वास्थ्य समस्यालाई मधुमेह वा चिनीरोग भनिन्छ।

मधुमेह रोग लागेको थाह पाउने मापदण्ड के?
सामान्यतया स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम या कुनै पनि बेला अर्थात रेन्डम जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ। मधुमेह रोग लाग्यो भन्नलाई खाली पेटको जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा माथि पुग्नु पर्छ। यो बीचको लेभल अर्थात खाली पेटमा १०० देखि १२५ सम्मको अवस्था र खाना पछिको १२६ देखि १९९ सम्मको अवस्थालाई प्रिडायबिटिजको अवस्था अर्थात मधुमेह हुने सम्भावना भएको अवस्था भनेर बुझ्नुपर्छ।

मधुमेह कति प्रकारका हुन्छन् ?
जनस्वास्थ्य समस्याका रुपमा रहेका मधुमेह वा चिनीरोग तीन प्रकारका हुन्छन्।
१. मधुमेह १ मा शरीरको प्रतिरक्षा प्रणालीले प्यान्क्रियाजमा भएका इन्सुलिन उत्पादन गर्ने कोषलाई नष्ट गरिदिन्छ। यसरी कोष नष्ट भएको प्यान्क्रियाजले इन्सुलिन उत्पादन गर्न सक्दैन। यो प्रकार जुनसुकै उमेरका व्यक्तिमा देखिन्छ। तर सामान्यतया यसले बालबालिकालाई समेत संक्रमण गर्दछ। त्यसकारण मधुमेह १ लागेका व्यक्तिले जीवित रहिरहन जीवनभर हरेक दिन इन्सुलिन लिनु पर्दछ।

२. मधुमेह २ लागेका व्यक्तिको शरीरको इन्सुलिन उत्पादन तथा उपयोग गर्ने क्षमता ह्रास हुन्छ। यसले जुनसुकै उमेरका व्यक्तिलाई आक्रमण गर्नसके पनि खासगरी वयस्क वा वृद्धलाई आक्रमण गर्दछ। शारीरिक व्यायाम र खानाको सन्तुलनबाट यसलाई नियन्त्रण गर्न सकिन्छ। यदि समयमै ध्यान पुर्‍याएमा यो मधुमेह ८० प्रतिशत निको हुन्छ।

३. जेस्टेस्नल मधुमेह (GDM) हरेक २५ जना गर्भवती महिलामध्ये १ जनामा देखिन्छ र शिशु जन्मेपछि आफैं हराउँछ। गर्भावस्थामा देखिएको जेस्टेसनल मधुमेहले पछि ती महिलालाई मधुमेह २ ले आक्रमण गर्नसक्ने सम्भावना भने रहन्छ।

मधुमेह हो भनेर चिन्ने लक्षण के के हुन्? कसरी थाहा पाउने त?
मधुमेह रोग पहिल्यै लक्षण देखिएर लाग्न पनि सक्छ। लक्षण बिना नै लाग्न पनि सक्छ। विभिन्न अनुसन्धानले के देखाएको छ भने मधुमेह भएकाहरुमध्ये झण्डै ५० प्रतिशतले आफूलाई मधुमेह भएको छ भनेरै थाहा पाउन सक्दैनन् ।

लक्षण देखिनेहरूमा प्राय लक्षण यस प्रकार छन्।
–  खाना रुचेर पनि तौल घट्दै जाने।
– पिसाब सामान्य भन्दा धेरै पटक लाग्ने 
– मुख सुख्खा हुने, प्यास धेरै लाग्ने
– भोक बढी लाग्ने तर दुब्लाउँदै जाने
– कमजोरी हुने र खुट्टाहरु झम्झमाउने, पोल्ने
– घाउहरु छिटो निको नहुने
 – गुप्ताङ्ग चिलाउने
– दृष्टि धमिलो हुने

लक्षणको आधारमा यसको पहिचान सहज हुने भयो तर लक्षण नदेखिकन रोग लाग्यो भने समस्या पर्छ। हरेक व्यक्तिले ३० वर्षको उमेर कटेपछि वर्षमा एकपटक मधुमेहको जाँच गराउनुपर्छ।

मधुमेह नियन्त्रण भएन भने के हुन्छ? 
मधुमेह भएर नियन्त्रणमा राख्न सक्नु भएन भने यसले धेरै अंगलाई असर गर्न सक्छ। टाउकोदेखि खुट्टासम्म त्यसमध्ये प्राय देखिने एउटा असर भनेको आँखामा हुने गर्छ। यसले आँखाको पर्दालाई असर गर्छ। त्यहाँ असर गरेर रगत जम्छ। त्यसपछि त्यो आँखा च्यातिने र अन्धोपनमा जाने हुनसक्छ। अर्को असर मिर्गौलामा गर्छ। मिर्गौलाबाट प्रोटिन लिक गराएर मिर्गौला फेल हुने सम्भावना पाँच गुणाले बढ्छ।  हृदयघात, मस्तिस्कघात  साथै पक्षघात हुने सम्भावना पनि धेरै नै हुन्छ। त्यसपछि खुट्टाको नसालाई समेत असर गरेर खुट्टाको घाउ निको नहुने र खुटा काट्नुपर्ने सम्भावना पनि हुनसक्छ साथै पिसाबमा इन्फेक्सन हुने सम्भावना बढाउँछ। यसले हाम्रो शरीरको रोगसँग लड्न सक्ने क्षमतामा ह्रास ल्याउने हुँदा विभिन्न संक्रमण हुने डर बढी हुन्छ।

मधुमेहको रोकथाम कसरी गर्ने?
 मधुमेह जटिल नसर्ने रोग भए तापनि निम्न सकारात्मक  उपायबाट मधुमेहको रोकथाम तथा नियन्त्रण गर्न सकिन्छः
–   दिनहुँ सबै काम छोडेर शारीरिक व्यायाम गर्नु पर्दछ। बिहान उठेर कम्तीमा आधा घण्टा छिटोछिटो हिंड्नुपर्छ। अरु व्यायाम पनि गर्न सकिन्छ र दिनभरि केही न केही काम गरिरहनु राम्रो हुन्छ।
–    बढी भएको तौल घटाउनै पर्छ र उमेरअनुसार तौल ठिक्क कायम राख्नु पर्दछ।
–    सकेसम्म सधैं र अचानक कुनै स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नुपर्दछ।
–   मधुमेहलाई स्वस्थकर खानपान अत्यन्त आवश्यक पर्दछ। प्यास लागेमा पानी पिउने तर चिसो पेय पदार्थ पिउनु हुँदैन।
–   सूर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन। यदि गरिरहेको भए छोडिहाल्नु पर्दछ। सूर्तीजन्य पदार्थले मधुमेहका साथै रक्तचाप, खराब कोलेस्टेरोल प्रवाह गरी रक्तसञ्चारमा धेरै हानी पुर्‍याउँछ।
–   कम्तीमा ३–३ महिनामा रगतमा ग्लुकोजको मात्रा र रक्तचाप मापन गर्नुपर्छ। यदि रक्तचाप र रगतमा ग्लुकोज बढी देखिएमा स्वास्थ्यकर्मीको सल्लाहबमोजिम नियमित औषधि सेवन गर्न आलटाल र अल्छी गर्नु हुँदैन।
–   इन्सुलिन लिने गरेका मधुमेह १ का बिरामीले नियमित रुपमा इन्सुलिन लिन छोड्नु हुँदैन। लिने तरिका साथै फरक फरक ठाउँमा लगाउने ज्ञान राख्ने  र नबुझे चिकित्सकसंग सल्लाह लिनु पर्छ। यदि अन्य कुनै स्वास्थ्य समस्या भएको अवस्थामा पनि इन्सुलिन लिइराख्नु पर्दछ।

खानपिनमा कसरी ध्यान दिने त?
 मधुमेह रोगीले आफ्नो खानाबारे थाहा पाइराख्नुपर्छ। मधुमेह रोगीहरुले निम्न प्रकारका खानामा ध्यान दिनुपर्छ:
•    कार्बोहाइड्रेटयुक्त खाना जस्तै: भात, आलु कम खाने।
•    चिल्लो वा बोसो नभएको मासु खाने तर रातो मासु धेरै नखाने।
•    अण्डा र ताजा माछा ठिक्क मात्रामा खाने।
•    ताजा सागसब्जी, बन्दा, काउली, काँक्रा, भन्टा, गोलभेंडा, मुला, गाँजर,प्याज र फलफूल पर्याप्त खाने।
•    चिनी कम भएको चिया वा कफी कम मात्रामा पिउन सकिन्छ।
•    तरकारी पकाउँदा तोरी अथवा भटमासको तेल कम मात्रामा खान हुन्छ।
मधुमेहका बिरामीले बढी फाइबर पाइने गहुँ, मकै, कोदो, फापर आदिबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ। भात खानै नहुने त होइन तर गहुँ, कोदो, मकै आदिबाट निर्मित खानेकुरा खाँदा शरीरमा कार्बोहाइड्रेटको मात्रा केही कम भई रगतमा चिनीको मात्रा पनि घट्न सक्छ।

यस्ता खानेकुरा सकभर नखाने
चिनी र चिल्लो बोसोयुक्त प्रशोधित खानेकुरा जस्तै: चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेय पदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यु, तारेको वा भुटेको खाना।
•    बियर, रक्सी जस्ता अल्कोहलयुक्त पदार्थ सेवन नगर्ने।
•    चुरोट, बिँडी, सुर्ती, तमाखु, खैनी, जर्दा आदि सुर्तीजन्य पदार्थको सेवन नगर्ने।
•    लामो समयसम्म भोकै नबस्ने।
•    व्रत नबस्ने। यसो गर्दा रगतमा चिनीको मात्रा घट्न गई बिरामी बेहोस पनि हुन सक्छ।

मधुमेहका बिरामीले ध्यान दिनुपर्ने कुरा
– आफ्नो शरीरलाई आवश्यक पर्ने क्यालोरी अनुसारको खाना खाने साथै आफ्नो दैनिक आहारसित सम्बन्धित सबै विवरण चिकित्सकमाझ खुलाउने

– मधुमेहको बिरामीले आफ्नो उमेर, उचाई, तौल र शरीरका बनोट अनुसार नै खानाको व्यालेन्स मिलाउनु पर्ने हुँदा डाइटिसियनसितको सल्लाह, सुझाव अनुसार खाना खाने

– चिकित्सकसितको सल्लाह अनुसार आफ्नो आहार परिवर्तन गर्दागर्दै पनि मधुमेह नियन्त्रण  नभए कारण बुझ्ने प्रयास गर्ने, आफैँ चिकित्सक नहुने

– घरमा Glucometer राखी नियमीत सुगर जाँच्ने र समय समयमा चिकित्सकको सल्लाह अनुसार मिर्गौला र मुटुको जाँच पनि गर्ने

– रगतमा सुगर घटबढ भएमा,  भोक लाग्ने, शरीरमा कम्पन छुट्ने ,रिंगटा लाग्ने,पसिना आउने, पेट दुख्ने, वान्ता आउने हुनुसक्छ। त्यसको लागी तत्काल मुखबाट ग्लुकोजको प्रयोग गर्ने वा आवश्यकता अनुसार औषधि वा इन्सुलिनको मात्रा थप गर्नुपर्ने हुन सक्छ।

अन्त्यमा, मधुमेह वंशाणुगत रोग भएपनि अहिले धेरैलाई आफ्नै अल्छी जिवनशैली र सन्तुलीत आहारको कमीले हो भन्नेमा दुइमत छैन। आफ्नो डाक्टर आफैँ नै हो भन्ने कुरा भुल्दा हामी बिरामी परेर थलीएर धेरै डाक्टरकोमा गएर औषधि खाँदा  पनि रोग निको नभएको दुःख पोखीरहेका हुन्छौँ। बरु डाक्टरले गरेको उपचारमा हामी शंका गछौँ तर आफ्नो खानपिन र जिवनशैलीमा हामी कहिल्यै प्रतिप्रश्न गर्दैनौँ।

स्मरण रहोस्, जीवनकालमा केवल एउटा शरीर छ र आफ्नो स्वास्थ्य जीवनसंग जोडिएको बिषय भएको हुँदा यसको सुरक्षाको दायित्व पनि हाम्रै हो। खानपिनमा ख्याल गर्दै सन्तुलित आहार ,उचित व्यायाम, नियमित स्वास्थ्य परीक्षण साथै नबुझेकालाई पनि बुझाउँदै जनचेतना फैलाउनसके आउँदा दिनमा सुगरका कारण आँखा, मिर्गौला खराब भए भन्ने जमातको कमी हुनेछ। साथै सुगरका बिरामीको संख्यामा नै कमी आएको सुन्न अवश्य पाइन्छ।

५ आश्विन २०७९ मा प्रकाशित
Nabintech