सल्यान दुर्घटनामा बचेका घाइते भन्छन्- चालक निदाएपछि दुर्घटना भयो

एकै परिवारका ४ जनासहित मृतक सबै कपुरकोट- ६ जलवाङका स्थानीय


पिपलबाेट संवाददाता


सल्यानमा गएराति भएको डबल क्याप जीप दुर्घटनामा परि आठ जनाको मृत्यु भएको छ। मृतक सबै जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ६ जलवाङका स्थानीय हुन्।

बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट जलवाङतर्फ जाँदै गरेको रा १ ज ५६३ नम्वरको जीप गएराति करिब १ बजे कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा दुर्घटना भएको थियो।

९ जना सवार जिपमा ३५ वर्षीय तिलक वली मात्र घाइते भएका छन्। बाँकी सबैको ज्यान गएको छ।

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचाररत ‍वलीका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेहरू सबै एउटा गाउँका हुन्। जसमा ४५ बर्षीय टोपबहादुर वली, उनका ११ वर्षीय छोरा वसन्त वली, ४० बर्षीय ललित वली, ४५ वर्षीया कुमारी वली, ४५ बर्षीय धर्म वली, २७ वर्षीय सुरेश केसी र चालक २२ वर्षीय जीतबहादुर बोहरा छन्।

यस्तै ७० वर्षिय स्थानीय खुमलाल वलीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

घाइते वलीका अनुसार चालक निदाएकाले दुर्घटना भएको बताए। ‘मैले त गाडी खसेपछि मात्रै थाहाँ पाएँ,’ उनले भने, ‘गाडीमा हामी सबै निदाएका थियौं। सायद चालक पनि निदाए पछि गाडी दुर्घटना भयो।’

प्रहरीले पनि चालक निदाएका कारण गाडी दुर्घटनमा परेको हुनसक्ने अनुमान गरेको छ।

घाइते वलीले आफूहरू बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा दुर्घटनामा परेको बताए।

कपुरकोट– ६ का वडाध्यक्ष श्यामकृष्ण बोहराले कपुरकोट– ५ बाट बसाई सरेर बाँकेको ढकेरीमा गएका आफन्तको छोरीको बिहेमा सहभागि भइ फर्किने क्रममा उनीहरू आफ्नै घर नजिकै आइपुग्दा दुर्घटनामा परेको बताए।

एकै ठाउँका ७ जनाको ज्यान गएपछि गाउँ शोकमा डुबेको उनले बताए। उनले एकै घर-परिवार भित्रका चार-पाँच जना मानिसको मृत्यु हुँदा दसैंको उल्लास आँशुमा बदलिएको सेतोपाटीलाई बताए।

एकै घर परिवार भित्रका बाबु–छोरा, काका र ठूला बुवाको मृत्यु भएको उनले बताए।

‘गाउँमा मात्रै होइन एकाबिहानै आठ जनाको मृत्युको खबरले पुरै जिल्ला शोकमग्न भएको छ,’ उनले भने, ‘सल्यानले फेरि एउटा कल्पना नगरेकै ठूलो बिपत्ति खेप्नुपर्‍यो।’

घाइते तिलक वलीको दुबै खुट्टामा गम्भीर चोट लागेको छ। ‘उनको घुडा मुनीबाट दुबै खुट्टा फ्याक्चर भएका छन्,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘तुलसीपुरमा उपचार सम्भव नभएपछि ब्लड रोक्ने प्रयास गरि हामीले बाँके रिफर गरेका छौ।’

घाइतेलाई बुधबार बिहान साढे ६ बजेतिर बाँकेको लागि रिफर गरिएको थियो।

सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले चालकको समेत मृत्यु भइसकेको हुँदा दुर्घटना के कारणले भयो भन्ने एकिन साथ भन्न कठिन भइरहेको बताए।
‘गाडी एकदमै ओरालोबाट करिब दुई सय मिटर तल खसेको छ,’ उनले भने, ‘चालक निदाएर दुर्घटना भएको हो वा ब्रेकले काम नगरेर दुर्घटना भयो, त्यो अनुमान गर्न सजिलो छैन।’
उनले मृतक सबैको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान खलंगामा ल्याइसकिएको जानकारी दिए।
दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजेतिर रा १ ज ५६३  नम्बरको डबल क्याप जीप इन्ट्रिगरि सल्यान तर्फ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका सञ्चार शाखामा कार्यरत सन्तोष बुढाथोकीले जानकारी दिए। मुलपानीस्थित वनस्पति उद्यान नजिकैबाट गाडी तल खसेको हो।
स्थानीयका अनुसार मध्यरातमा दुर्घटना हुनु र प्रहरी प्रशासनले समयमै जानकारी नपाउँदा मृतकको संख्या बढेको हो।
दुर्घटना साढे १ बजेतिर भए पनि स्थानीयको खबर पछि इलाका प्रहरी कार्यालय कपुरकोटबाट प्रहरी करिब साढे ४ बजेतिर मात्रै घटनास्थल पुगेको थियो।

१२ आश्विन २०७९ मा प्रकाशित
Nabintech