राउटेको उधारो दसैं

पिपलबाेट संवाददाता


राउटे मुखिया वीरबहादुर शाहीको नौजनाको परिवार छ। अघिल्ला वर्षहरूमा दसैं नआउँदै उनको छाप्रोमा चार–पाँचवटा खसी बाँधिएका हुन्थे। दसैं अवधिभर ती खसी काट्थे। मुखिया भएकाले आफ्नो परिवारलाई मात्रै होइन, जनता (समुदायका सबै) लाई पनि निम्त्याएर दसैंको भोज खुवाउँथे। यस पटक उनको दसैं उत्साहपूर्ण रहेन। सरकारले दिने सामाजिक सुरक्षाभत्ता नपाउँदा उनले खसीको सट्टा गाउँलेबाट दुईवटा बाख्री उधारोमा ल्याए।

‘बरु कोरोनाको बेला पनि यस्तो समस्या आएको थिएन,’ मुखिया वीरबहादुरले भने, ‘यो वर्षको दसैं राम्रो भएन।’ उनका अनुसार साउनयता भत्ता पाइएको छैन। ‘भत्ता भइदिएको भए बाख्रीको सट्टा खसी ल्याउँथ्यौं, सबै जनालाई भतेर (भोज) दिन्थ्यौं,’ उनले भने, ‘स–साना दुईवटा बाख्री मात्रै काट्यौं, कसैलाई बोलाएर भतेर दिन पाइएन।’

सरकारले राउटे समुदायका प्रतिपरिवारलाई मासिक चार हजार रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन्छ। सो भत्ता आइदिएको भए वीरबहादुरको हातमा अहिले एक लाख दस हजार रूपैयाँ हुन्थ्यो। उनले त्यसैबाट दसैंका लागि चाहिने खसी किन्थे। खाद्यान्नको जोहो गर्थे। भत्ता नपाउँदा यो वर्षको दसैं राम्रोसँग मनाउन नपाएको राउटे समुदायको गुनासो छ। दुई साताअघि दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडामा सरेका राउटेका ४४ घर छन्। राउटे समुदायका अर्का मुखिया सूर्यनारायण शाहीले भत्ता नआउँदा धेरैले उधारोमा बाख्रा किनेर दसैं मनाएको बताए। ‘४४ घरधुरीमध्ये ४० घरले उधारोमा बाख्रा किनेर यो वर्षको दसैं मनायौं,’ उनले भने, ‘अघिल्ला वर्षमा यस्तो समस्या हुन्थेन।’

दुई दशकअघिसम्म राउटे समुदाय पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्दथ्यो। आफैंले बनाएका काठका भाँडाकुँडासँग उनीहरू अन्न र खसी साट्थे। यसरी अन्नपात संकलन गर्ने उनीहरू पछिल्लो समय परनिर्भर बन्दै गएका छन्। सरकारले सामाजिक सुरक्षा भत्ता दिन थालेपछि उनीहरूको परम्परागत सिप पनि लोप हुँदै गएको छ। ‘पहिले–पहिले काठ सहजै पाइन्थ्यो, त्यसैबाट भाँडावर्तन बनाएर गाउँमा लगेर अन्न र खसीसँग साट्थ्यौं,’ मुखिया सूर्यनारायणले भने, ‘अहिले काठ पनि पाइन्न, बनाएका सामग्री पनि कसैले किन्दैनन्, त्यसैले सरकारले दिने भत्तामा निर्भर भएका छौं।’

सूर्यनारायणका अनुसार दसैंमा प्रत्येक घरले अनिवार्य बलि दिनुपर्छ। तर, एकल महिला, गाउँ डुल्न नसक्ने वृद्धको घरमा भने दसैंमा यो पटक बलि चढेन। गुपी शाही एकल महिला हुन्। साउनयताको भत्ता आइदिएको भए उनीसँग १२ हजार रूपैयाँ गोजीमा हुन्थ्यो। सानो भए पनि खसी–बाख्रा ल्याएर बलि दिन्थिन्। यो दसैंमा उनले बलि दिन पाइनन्। एकल महिला उनी काठका भाँडावर्तन बनाउन पनि जान्दिनन्। आम्दानीको स्रोत नभएकाले उनको छाक टार्ने माध्यम भनेकै भत्ता र दाताहरूले दिने खाद्यान्न हो।

राउटे समुदायले दसैंमा तीन जना मुखिया, धामी र पुजारीबाट जमरा र टीका थाप्ने र उनीहरूलाई आफ्नो छाप्रोमा निम्त्याएर मासु, भात र मदिरा खुवाउने गर्छन्। यो समुदायमा टीका लगाएर दक्षिणा दिने प्रचलन भने छैन।

२३ आश्विन २०७९ मा प्रकाशित
Nabintech