देशभर बागी नै बागी, स्वतन्त्र भन्दै उमेदवारी दिँदै !

पिपलबाेट संवाददाता


मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुईवटा गठबन्धन मैदानमा उत्रिएका छन् ।

कांग्रेस नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् भने नेकपा एमालेको नेतृत्वमा रहेको गठबन्धनमा जनता समाजवादी पार्टी, राप्रपालगायतका साना पार्टी पनि छन् ।

तर दुवै गठबन्धनलाई तल्लो तहका नेताहरुले भने सहजै स्वीकार गर्न सकेनन् । मुख्य स्थानमा स्वतन्त्र उमेदवारी भन्दै बागी उमेदवारी परेको छ ।

कहाँ कहाँ परेको छ बागी उमेदवार ?
धादिङ क्षेत्र नम्बर २ मा कांग्रेसका पूर्वसभापति रमेश धमलाले बागी उमेदवारी दिएका छन् ।

गठबन्धनबाट धादिङ २ कांग्रेसकै भागमा परेको छ । जसअनुसार कांग्रेसका वर्तमान सभापति रामनाथ अधिकारीले उमेदवारी दिएका छन् ।

तर, उनीविरुद्ध कांग्रेसकै पूर्वसभापति रमेश धमलाले उमेदवारी दिएका छन् । सर्लाही ४ मा कांग्रेस नेता अमरेशकुमार सिंहले स्वतन्त्र उमेदवारी दिएका छन् ।

सिंहले कांग्रेसकै पूर्वजिल्ला सभापति नागेन्द्र रायविरुद्ध उमेदवारी दिएका हुन् ।

उनले निर्धारित समयमा उमेदवारी दर्ता गराएको भन्दै सभापति शेरबहादुर देउवाका कारण आफूलाई पछि पारिएको बताउँदै मतदाताले न्याय गर्ने बताए ।

सो क्षेत्रमा यसअघि गगन कुमार थापा पनि जाने चर्चा भएको थियो ।

त्यस्तै सत्तारूढ पाँच दलीय गठबन्धनविरुद्ध सल्यान कांग्रेसले विद्रोह गरेको छ । गठबन्धनका उमेदवारविरुद्ध कांग्रेस नेताहरूले बागी उमेदवारी दिएका छन् ।

सत्तारूढ पाँच दलीय गठबन्धनविरुद्ध सल्यान कांग्रेसले विद्रोह गरेको छ । गठबन्धनका उमेदवारविरुद्ध कांग्रेस नेताहरूले बागी उमेदवारी दिएका छन् ।

पूर्वशिक्षा राज्यमन्त्री राजेन्द्रबहादुर शाहले संघमा र कर्णाली प्रदेश सहमहामन्त्री एकराज डाँगीले प्रदेशसभा सदस्यका लागि प्रदेश (क) बाट उमेदवारी दर्ता गराएका छन् ।

गएको स्थानीय तह निर्वाचनबाट जिल्लामा कांग्रेस पहिलो दल बनेको थियो । तर सल्यानमा संघमा नेकपा (एकीकृत समाजवादी) र प्रदेश (क) मा माओवादी केन्द्रको भागमा परेको थियो ।

केन्द्रले अन्याय गरेको भन्दै आफूहरूले विद्रोह गरेको शाहले बताए ।

गठबन्धनबाट संघमा एकीकृत समाजवादीका प्रकाश ज्वाला र प्रदेश (क) मा माओवादी केन्द्रका भीम प्रकाश शर्मा र (ख) मा कांग्रेसका सुरेश अधिकारीले उमेदवारी दिएका छन् ।

मोरङका सबै क्षेत्रमा बागी 

गठबन्धन गरेका दल र जसपासँग तालमेल गरको एमालेका उमेदवारविरुद्ध मोरङमा बागी तथा स्वतन्त्र उमेदवारी परेको छ ।

नेकपा एमालेबाट टिकट पाउने आसमा बसेका कटहरीका योगेन्द्र मण्डलले क्षेत्र नम्बर ५ मा स्वतन्त्र उमेदवारी दिएका छन् । पार्टी कमिटीबाट प्रतिनिधि सभा सदस्यमा उनको नाम सिफारिस भएको थियो । तर, अन्तिम समयमा एमाले र जसपाबीच चुनावी तालमेल गर्ने सहमति बनेपछि मण्डलले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।

मोरङ ५ मा एमालेले समर्थन गरेपछि जसपाका राजकुमार यादवले प्रतिनिधि सभा सदस्यमा उमेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा एमालेले प्रदेशका दुईवटै क्षेत्र जसपालाई छाडेको छ ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (२) मा कांग्रेसका जनार्दन निरौलाले प्रदेशसभातर्फ उमेदवारी दर्ता गराएका छन् ।

उनले नेपाली कांग्रेस (बीपी) बाट उमेदवारी दर्ता गराएका हुन् । मोरङ ३ मा प्रतिनिधि सभा सदस्य पदमा पार्टीका चार जनासहित तेह्र जनाको मनोनयन दर्ता भएको छ ।

एमालेका इन्द्रप्रसाद सुवेदीले आधिकारिक उमेदवारविरुद्ध मनोनयन दर्ता गराएका छन् । पेसाले उनी शिक्षक हुन् ।

उनले एमालेका भानुभक्त ढकालविरुद्ध उमेदवारी दिएका हुन् । मोरङ ३ मा असन्तुष्ट कांग्रेसका स्थानीय नेता राजकुमार लिम्बूूले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

यसैगरी एमालेका रामकुमार बस्नेत, राजकुमार बस्नेत, मधु गुरुङसहित सातजना जिल्ला कमिटीका सदस्यले पार्टी छाडेको घोषणा गरेका छन् ।

क्षेत्र नम्बर १मा एमालेबाट डिल्लीराम शर्माले प्रदेशसभातर्फ बागी उमेदवारी दिएका छन् ।  उनले प्रदेश क्षेत्र १(२) मा र कांग्रेसका फणिन्द्र थापाले १ (१) बागी मनोनयन दर्ता गराएका छन् ।

थापा कांग्रेस क्रियाशील सदस्य हुन् । मोरङ क्षेत्र नम्बर २ मा प्रदेशसभातर्फ कांग्रेसका फडिन्द्र गौतमले २ (१) मा बागी उमेदवारी दर्ता गराएका छन् । उनी कानुन व्यवसायी हुन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ४(२) प्रदेशसभातर्फ नेकपा समाजवादीका महेश रेग्मी र ओसिम आलमले बागी उमेदवारी दर्ता गराएका छन् ।

गठबन्धनभित्रको दलका दुई जनाले बागी उमेदवारी दिएका हुन् । त्यहाँ कांग्रेसका भीम पराजुली आधिकारिक उमेदवार छन् ।

एमाले र जसपाबीच तालमेल भएर यो क्षेत्र जसपाको भागमा परे पनि त्यसविरुद्ध एमालेका जीवन घिमिरेले मनोनयन दर्ता गराएका छन् ।

जसपाका संजय सिंहले आफू नै आधिकारिक उमेदवार भएको बताएका छन् । घिमिरेले भने पार्टी अध्यक्षबाट दमक पुगेर आफूले टिकट ल्याई मनोनयन दर्ता गराएको सुनाए ।

कास्कीको प्रतिनिधिसभा क्षेत्र नं. ३ मा आफ्नै उमेदवारविरुद्ध बागी परेको छ । गठबन्धनको तर्फबाट यो क्षेत्र माओवादीलाई परेको छ । माओवादीले गण्डकीका अर्थमन्त्री बराललाई अघि सारेको छ । उनले उमेदवारी दर्ता गराइसकेका छन् ।

तर, उनीविरुद्ध माओवादीकै अनिता भुर्तेलले उमेदवारी दर्ता गराएकी छन् ।  पार्टीले सम्बोधन नगरेको भन्दै उनले उमेदवारी दर्ता गराएकी हुन् ।

यता, एमालेमा पनि बागी उमेदवारी परेको छ । एमालेले यो क्षेत्रमा दामोदर वैरागीलाई टिकट दिएको थियो ।  जिल्ला अध्यक्षमा पराजित भएका बैरागीविरुद्ध एमालेकै जगन्नाथ बास्तोलाले बागी उमेदवारी दर्ता गराएका हुन् ।

नेकपा (एमाले) परित्यागका गरेका नेता घनश्याम भुसालले आइतबार रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।

आइतबार बिहान आफ्नो घरमा पत्रकार सम्मेलन गरेर उनले आफू स्वतन्त्र वामपन्थी विचारकका रुपमा उमेदवार बन्न लागेको जानकारी दिएका थिए ।

भुसाललाई सत्ता गठबन्धनले समर्थन गरेको छ । यहाँ गठबन्धनबाट प्रदेशतर्फ (क)मा नेपाली कांग्रेसका विश्वनाथ यादव र (ख)मा कांग्रेसकै अब्दुल रज्जाकले उमेदवारी दिएका छन् ।

क्षेत्र नम्बर १ बाट एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले प्रतिनिधिसभा सदस्य पदका लागि उमेदवारी दर्ता गराएका छन् । यहाँ एमालेसहितको गठबन्धनबाट प्रदेशतर्फ (क) मा राप्रपाका आशिष चौधरी र (ख) मा एमालेका दधिराम न्यौपानेले उम्मेदवारी दिएका छन् ।

कास्की क्षेत्र नम्बर २ मा कांग्रेसबाट बागी उमेदवारी परेको छ । कांग्रेसका महादेव गुरुङले बागी उमेदवारी दिएका हुन् ।

कास्की २ मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले उमेदवारी दर्ता गराएका थिए ।

तर, मनोनयनको अन्तिम समयमा आएर गुरुङले उमेदवारी दर्ता गराएका हुन् ।

पूर्वपर्यटन राज्यमन्त्री समेत रहेका गुरुङले २०५६ मा संसदीय निर्वाचन जितेका थिए । गुरुङको प्रस्तावक बाल गोपाल श्रेष्ठ र समर्थकमा सूर्यप्रसाद लम्साल छन् ।

उनले आफ्नो उमेदवारी गठबन्धनविरुद्धको विद्रोह भएको बताए ।

पार्टी केन्द्रको निर्णयविपरीत नेपाली कांग्रेस जिल्ला कार्यसमिति खोटाङले पनि स्वतन्त्र उमेदवारी दर्ता गराएको छ ।

जिल्ला कार्यसमितिको निर्णयानुसार नेता सर्वधन राईले प्रतिनिधिसभा सदस्य र नेता सुवास पोखरेलले प्रदेशसभा सदस्य पदमा उमेदवारी दिएका हुन् ।

आसन्न निर्वाचनका लागि उनीहरूको मनोनयनपत्र दर्ता गरिएको छ । पोखरेलले जिल्ला कार्यसमितिको निर्णयानुसार आफूहरूले उमेदवारी दर्ता गराएको जानकारी दिए ।

गठबन्धनमा खोटाङ माओवादीको भागमा परेको थियो ।

कमल थापालाई टिकट दिएपछि एमाले कार्यालयमा तालाबन्दी

नेकपा (एमाले) ले आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका छन् ।

पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको बताइएको छ । दुई दिन अगाडिसम्म एमालेले केन्द्रीय सदस्य रामेश्वर रानाको टिकट फाइनल गरेको भए पनि अन्तिम अवस्थामा कमल थापालाई उमेदवारीका लागि टिकट दिएपछि एमाले कार्यकर्ता रुष्ट भएको पाइएको छ ।

पर्सा १ मा कांग्रेसका अजय द्विवेदीले पनि बागी उमेदवारी दिएका छन् । त्यहाँ लोसपाका नेता लक्ष्मणलाल कर्ण उमेदवार छन् । उनीविरुद्ध द्विवेदीले उमेदवारी दिएका हुन् ।

द्विवेदी कांग्रेसका पूर्वसांसद हुन् । उनी वीरगन्ज महानगरपालिकामा मेयरमा दाबी गरेका थिए । त्यस्तै रौतहट ३ बाट एमालेका नेता प्रभु साहले स्वतन्त्र उमेदवारी दिएका छन् ।

साहले आफूले भनेका व्यक्तिलाई उमेदवार नबनाएको भन्दै एमालेबाट टिकट नलिएर आफ्नै नेतृत्वमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।

देउवाविरुद्ध कर्ण मल्लको उमेदवारी

नेपाली कांग्रेस डडेलधुराका निवर्तमान सभापति कर्ण मल्ल प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध चुनाव लड्ने भएका छन् । मल्लले आइतबार नेपाली कांग्रेस (बीपी)को करुवा चुनाव चिह्नमा चुनाव लड्नेगरी उमेदवारी दर्ता गरेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा देउवाले मल्ललाई सहभागी हुनबाट वञ्चित गरेपछि मल्ल देउवाविरुद्ध उभिन थालेका हुन् । मल्लले नेपाली कांग्रेस बीपीको चुनाव चिह्नमार्फत् स्थानीय तहमा उमेदवार खडा गरेर देउवाकै घर रहेको वडामा कांग्रेसलाई हराएका थिए ।

आगामी मंसिर–४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मल्लले प्रतिनिधिसभातर्फ उमेदवारी घोषणा गरेका छन् । उनको प्रतिस्पर्धा कांग्रेस सभापति देउवासँगै हुने पक्का भएको छ ।

मल्ललाई नेकपा (एमाले)ले समर्थन गरेको छ । नेविसंघ, तरुण दल हुँदै लामो समय कांग्रेसको राजनीतिमा सक्रिय मल्ल सभापति देउवासँगकै द्वन्द्वमा पार्टी महाधिवेशनमा सहभागी हुन नपाएपछि कांग्रेसलाई नै चुनौती दिने प्रयासमा छन् ।

रुपन्देही ५ मा नेकपा एमालेका दुई उमेदवार रहेका छन् ।

तिलोत्तमा नगरपालिकाका निवर्तमान नगरप्रमुख बासुदेब घिमिरेको टिकट खोसेर राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईलाई दिएपछि त्यहाँ विवाद बढेको छ ।

मनोनयनको केही समय अघिमात्रै बासुदेब घिमिरेको टिकट खोसिएको भए पनि घिमिरेले मनोनयन गरेका छन् । टिकट लिएर निर्वाचन कार्यालय नपुग्दै घिमिरेले मनोनयन गरिसकेका छन् ।

त्यस्तै पूर्वराज्यमन्त्रीसमेत रहेका नेकपा (एमाले)का नेता रामवीर मानन्धरले काठमाडौं–७ बाट स्वतन्त्र उमेदवारी दर्ता गरेका छन् । ०७४ को चुनावमा काठमाडौं–७ बाट निर्वाचित भएका सांसद मानन्धरलाई एमालेले टिकट दिएको थिएन ।

उनले पार्टीले सोधपुछ पनि नगरेको र गठबन्धन भएको विषयमा पनि कुनै जानकारी नभएको भन्दै स्वतन्त्र उमेदवारी दर्ता गरेका हुन् ।

“कार्यकर्ताहरूको सहभागितामा टिकट लिने भन्दा पनि नेताहरूबाट टिकट दिने काम भएछ । अरू कसैले पनि एमालेको तर्फबाट उमेदवारी दर्ता गर्नुभएको छ रे भन्ने सुन्दैछु,” मानन्धरले बाह्रखरीसँग भने, “अझै उमेदवारी फिर्ता गर्ने समय छ । पार्टीले दिएको उमेदवार फिर्ता हुन्छ भन्ने विश्वास छ ।”

एमालेले श्याम घिमिरे (किरण) लाई टिकट दिएको छ । त्यसबाहेक गठबन्धनका तर्फबाट राप्रपाका उमेदवारलाई सघाउने विषय पनि एमालेभित्र चर्चा छ । एमालेसँग गठबन्धन गरेको राप्रपासँग काठमाडौं–७ का विषयमा कुनै सहमति भएको छैन ।

यस्तै एमालेसँगै गठबन्धन गरेको जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले पनि उमेदवारी दर्ता गराएका छन् ।

उता चितवन ३ मा पनि गठबन्धनविरुद्धमा कांग्रेस केन्द्रीय सदस्यले नै उमेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन ३ मा स्वतन्त्र उमेदवारी दिएका हुन् ।

उनले यसअघि गठबन्धनको टिकटमा दाबी गरेका थिए । तर उक्त क्षेत्र माओवादीको भागमा परेकाले उनले स्वतन्त्र उमेदवारी दिएका हुन् ।

कोइरालाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि मेयरका लागि मनोनयन दर्ता गरेका थिए तर अन्तिम समयमा महानगरपालिकामा कांग्रेस र माओवादीबीच भएको गठबन्धनका कारण फिर्ता लिनुपरेको थियो ।

अहिले कोइराला प्रतिनिधिसभाको निर्वाचनमा टिकटका आकांक्षी थिए । कैलाली–५ बाट पुष्करनाथ ओझाले स्वतन्त्र उमेदवारी दर्ता गरेका छन् ।

उनी कांग्रेसका नेता हुन् । यसअघि उनलाई अघिल्लो चुनावमा डा. आरजु राणा देउवालाई असहयोग गरेको भन्दै कांग्रेसले कारबाही गरेको थियो ।

कास्की माओवादीमा सामूहिक राजीनामा

फरक क्षेत्रको व्यक्तिलाई उमेदवार बनाएको भन्दै माओवादीबाट तीन दर्जन नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । कास्की ३ (ख) मा माओवादीले दुर्गादत्त भण्डारीलाई उमेदवार बनाएको छ ।

उनले उमेदवारी पनि दर्ता गरिसकेका छन् । तर, फरक क्षेत्रको भन्दै उनलाई माओवादीले नै विरोध गरेको छ ।

भण्डारीको क्षेत्र ३ (क) हो । उनलाई उमेदवार बनाएको भन्दै आइतबार दिउँसो माओवादी पार्टी कार्यालयमा कार्यकर्ताहरु धर्नासमेत बसेका थिए ।

बर्दिया १ मा कांग्रेसबाट गौतम र राठौरको उमेदवारी 

बर्दिया क्षेत्र नम्बर १ मा सत्तारुढ दल नेपाली कांग्रेसबाट २ जनाको उमेदवारी परेको छ । कांग्रेसबाट यहाँ केन्द्रीय सदस्य तथा सांसद सञ्जय गौतम र जिल्ला सभापति अरुणप्रकाश सिंह राठौरको उमेदवारी परेको हो । गौतम कोइराला समूहबाट प्रभावशाली नेता हुन् भने राठौर संस्थापन अर्थात् देउवा समूह निकट छन् । उनी सहमहामन्त्री किशोरसिंह राठौर निकट नेता हुन् ।  दुबै नेताले आफू पार्टीको आधिकारीक उमेदवार भएको दाबी गरे । केन्द्रीय सदस्य गौतमले आफूलाई संसदीय समिति, कार्यसम्पादन समितिले निर्णय गर्दै आधिकारिक टिकट दिएको बताए ।

“कसले के गर्यो म त्यता गइन । मलाई संसदीय समिति र कार्यसम्पादन समितिले निर्णय गरेर टिकट दिएको हो । मैले आधिकारीक दाबी गरिरहन पर्दैन स्वतः म आधिकारीक हुँ,”उनले भने ।

जिल्ला सभापति राठौरले पनि आफूलाई बालुवाटार बोलाएर सभापति शेरबहादुर देउवाले आधिकारिक टिकट दिएको  जानकारी दिए ।

“बालुवाटारबाट मलाई बोलाइयो र टिकट सभापतिज्यूले दिनुभयो । मैले टिकट लिएर आएँ र उमेदवारी दर्ता गराएँ,” उनले भने,“ मैले आधिकारिक टिकट ल्याएर उमेदवारी दर्ता गराएको हो । अरु कस्ले के गर्यो मलाई थाहा भएन ।”
गौतमले भन्दा अघि राठौरले उमेदवारी दर्ता गराएको बुझिएको छ ।

२३ आश्विन २०७९ मा प्रकाशित
Nabintech