एक ढिक्का भएर चुनावमा होमिन कांग्रेसको निर्देशन

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस बाँकेले मंसिर ४ गते हुने निर्वाचनमा एक ढिक्का भएर परिचालन हुन पार्टी पंक्तिलाई आह्वान गरेको छ ।बिहिबार बसेको जिल्ला कार्यसमितिको बैठकले विगत भुलेर कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन एक मनका साथ चुनावमा होमिन आह्वान गरेको हो । जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर अनुगमन समिति र प्रचारप्रसार समिति समेत गठन गरेको छ । बैठकले सभापति गौडलेको संयोजकत्वमा अनुगमन र उपसभापति गोपालप्रसाद अधिकारी संयोजक रहने गरी प्रचार–प्रसार समिति गठन गरेको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए ।अनुगमन समितिमा जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य छन् ।

प्रचार–प्रसार समितिमा जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति पदाधिकारी, प्रदेश क्षेत्र कार्यसमिति पदाधिकारी, भ्रातृ र शुभेच्छुक संगठनका प्रमुख, पूर्व पार्टी पदाधिकारी, पूर्व जिल्ला सदस्य, पूर्व महासमिति तथा महाधिवेशन प्रतिनिधि लगायत रहेको प्रबक्ता गिरीले बताए ।बैठकले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेश क्षेत्रीय कार्यसमितिलाई पार्टी तथा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनका लागि सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिएको छ ।बैठकमा पार्टीबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार, समानुपातिक उम्मेदवार, क्षेत्रीय सभापति, प्रदेश कार्यसमिति सभापति, गाउँपालिका सभापति लगायत उपस्थित थिए ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले विगतका मनमुटाब र कमीकमजोरी बिर्सिएर एकताबद्ध ढंगले निर्वाचनमा होमिन निर्देशन दिए । सभापति गौडेलले स्थानीय चुनावमा हासिल गरेको उपलब्धिलाई सम्झँदै मंसिर ४ गते पनि विजयको झण्डा फहराउने गरी उच्च मनोबलका साथ प्रतिबद्ध भएर लाग्न नेता कार्यकर्तालाई आह्वान गरे । निवर्तमान सभापति किरण कोइरालाले एकताबद्ध कांग्रेसलाई कसैले हराउन नसक्ने बताइन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणाले कांग्रेस एक भए कसैले हराउन नसक्ने भन्दै सबै पार्टी पंक्ति इमान्दार भए सबै ठाउँमा सफलता हासिल गर्ने दृढता व्यक्त गरे । बैठकमा प्रदेशसभा १(ख) का उम्मेदवार फुलाराम थारु, २(क) का उम्मेदवार राजकुमार बर्मा, २(ख) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल र ३(ख) का उम्मेदवार बादशाह कुर्मीले सबै इमान्दार भएर चुनावमा होमिनुपर्ने बताएका थिए । उम्मेदवारहरुले बाँकेमा कांग्रेसका संगठन राम्रो भएकाले आफूहरु उच्च मनोबलका साथ चुनावी मैदानमा होमिएको बताएका छन् ।पार्टी सचिव सुधांशु कोइरालाले एजेण्डा प्रस्तुत गरेको बैठकमा कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले २०७८ फागुनदेखि २०७९ भदौ मसान्तसम्म आयव्यय विवरण प्रस्तुत गरेका थिए । त्यसलाई बैठकले पारित गरेको छ ।

 

२७ आश्विन २०७९ मा प्रकाशित
Nabintech