राजनीति र समाजसेवामा समर्पित – बर्मा

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार राजकुमार वर्मा यतिबेला चुनावी अभियानमा होम्मिसक्नुभएको छ । आफ्नो उर्जाशील समय यही राजनीतिमा समर्पण गरेका वर्मालाई पार्टीले टिकट दिएसँगै यतिबेला उक्त क्षेत्रबासी उत्साहित समेत देखिनुभएको छ ।


राजनीति तथा समाजसेवाका माध्यमबाट वर्माले आम नागरिकलाई पुर्याएको योगदानका कारण पनि वर्माप्रति धेरैको सद्भाव र सहानुभूति देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका २२ पुरैनी निवासी वर्मा बाँकेकै पुराना नेताका रुपमा परिचित हुनुहुन्छ  ।२०७० सालको संबिधानसभा निर्वाचनमा थोरै मतले उहाँ एमालेका दिनेशचन्द्र यादवसँग पराजित हुनुभएको थियो । उक्त निर्वाचनमा तत्कालीन श्रम मन्त्री मोहम्मद इस्तियाक राई तेस्रो स्थानमा खुम्चिएका थिए ।

२०३६ सालको जनमत संग्रहमै वर्मा तत्कालीन पुरैनी गाविसमा पार्टीका तर्फबाट प्रतिनिधिमा बसेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभयो ।

 २०३८ सालमा महेन्द्र वहुमुखी क्याम्पसमा नेविसंघको सदस्य, २०४६ सालको आन्दोलनमा सक्रियतापूर्वक सहभागी हुनुभएका वर्माले बाँके क्षेत्र नम्बर २ मा तीन पटक क्षेत्रीय सभापतिमा निर्वाचित भएर पार्टीको संगठन सुदृढीकरण र विस्तारमा अहम् भूमिका निर्वाह गर्नुभयो । चार पटक महासमिति सदस्यमा निर्वाचित भईसक्नुभएका वर्मासँग तत्कालीन जिल्ला विकास समितिको सदस्यको भूमिका निर्वाह गरेको अनुभव समेत छ । उहाँले २०६४ सालको संबिधानसभा निर्वाचनमा पार्टीको तर्फबाट समानुपातिक समावेशी कोटामा समेत टिकट प्राप्त गर्नुभएको थयो ।

वर्माले राजनीतिमा मात्र नभएर सामाजिक सेवाका क्षेत्रमा पनि आफूलाई स्थापित गर्नुभएको छ । रेडक्रस, विद्यालय व्यवस्थापन समिति, सहकारी, नेपाल नेत्र ज्योति संघ फत्तेवाल आँखा अस्पताल जस्ता सामाजिक तथा मानवीय सेवामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

कानुनी संकायमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका वर्माले आफ्नो सम्पूर्ण उर्जाशील समय राजनीति, समाजसेवा र मानवीय सेवामा समर्पित गरेकै कारण यो पटकको निर्वाचनमा आफूलाई मत दिन आव्हान गर्नुभयो ।

जनप्रतिनिधिका रुपमा निर्वाचित भएर अबको पाँच वर्ष विकास र सम्बृद्धिमा खर्चिने उहाको योजना रहेको निर्वाचन परिचालन र व्यवस्थापनमा खटिएका आशिष वर्माले बताउनुभयो ।

३० आश्विन २०७९ मा प्रकाशित
Nabintech