बाँके क्षेत्र नम्बर ३ को विकासका लागि राठौरको प्रतिबद्धता

पिपलबाेट संवाददाता


बाँके क्षेत्र नम्बर ३ बाट सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले यस क्षेत्रको विकास निर्माणसँगै जनतालाई शिक्षा,स्वास्थ्य र रोजगारीमा सहज पहुँचका लागि आफूले सक्दो काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रदेश सभाका ३(२) का उम्मेदवार बादशाह कुर्मीले आफू जनताको द्वारको कार्यकर्ता रहेकाले आफ्नो उपस्थिति जनतामाझ नै रहने भन्दै चुनाव जिताउन अनुरोध गरेका थिए ।जानकी गाउँपालिका अध्यक्ष छव्वन खाँले गठबन्धनलाई कार्यान्वयन गराउन कार्यकर्ताहरुलाई अघि बढ्न अपील गरेका थिए ।

गठबन्धनमा माओवादीका नेता रक्षाराम कुर्मीले संविधान खतरामा पार्ने तत्वलाई पराजित गर्न आबश्यक रहेकाले वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गरेका  थिए । नागरिकता विधेयकमा समेत विपक्षीले बदमासी गरेर राष्ट्रपतिलाई असंवैधानिक कद चाल्न बाध्य पारेको स्मरण गराएका थिए ।

समाजवादीका अगुवा सुनिल घिमिरेले गठबन्धनको आबश्यकता र महत्वका विषयमा धारणा राखेका थिए । जानकी पालिका अध्यक्ष दयाराम यादवले विकासका लागि केन्द्रिय नेताको भूमिका थप महत्वपूर्ण हुने भएकाले यो अवसरलाई सदूपयोग गर्न चुक्न नहुने धारणा राखेका थिए ।

इकाई सभापति श्रीप्रसाद रजकको सभापतित्वमा आयोजना भएको छलफल कार्यक्रममा सहभागीहरुलाई गठबन्धनका अगुवा चित्रबहादुर सुनारले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन कांग्रेस प्रदेश ३ (२) का सभापति राजेन्द्र आचार्यले गरेका थिए ।

५ कार्तिक २०७९ मा प्रकाशित
Nabintech