नेकपा एमालेका ६० जना युवा काँग्रेसमा प्रवेश, राठौरद्धारा स्वागत

पिपलबाेट संवाददाता


बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेससहित पाँच दलिय गठबन्धनको पक्षमा जनलहर बढेको छ । उक्त क्षेत्रमा प्रतिनिधी सभा सदस्य पदका लागि नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौर चुनावी मैदानमा
छन् । उनले नियमित रुपमा आफ्नो प्रचार प्रसार गरिरहेका छन् ।
कांग्रेसका प्रभावशाली नेता राठौंर उम्मेदवार भएपछि बाँकेको क्षेत्र नम्बर ३ ले विकास निर्माणमा फड्को मार्ने यहाँका अधिकांस स्थानीय बासिन्दाको अपेक्षा छ । जनतालाई झुठो आश्वासन नबाँड्ने प्रतिवद्धता जनाउँदै आएका कांग्रेस नेता राठौंरले आफु निर्वाचित भएपछि काम गरेर देखाउँने बताउँछन् । यसैक्रममा शनिबार क्षेत्र नम्बर ३ अन्तरगत पर्ने खजुरा गाउँपालिका वडा नम्बर ३ मा आयोजित कार्यक्रममा उम्मेदवार राठौंरले एमाले परित्याग गरेका विभिन्न ब्यक्तिलाई नेपाली कांग्रेसमा प्रवेश गराए । नेकपा एमाले परित्याग गरेका ६० जना युवा लगायतलाई उनले पार्टीमा प्रवेश गराएका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता राठौंरले समाज रुपान्तरणमा युवाको महत्वपूर्ण भुमिका हुने बताए । बाँकेको खजुरा क्षेत्र लगायत क्षेत्र नम्बर ३ को समग्र विकास गर्नका लागि आफुले निर्वाचित भएपछि ईमान्दारी पूर्वक काम गर्ने उनको भनाई थियो । सो क्रममा प्रदेश सभा ३ (२)का उम्मेदवार एवम् नेपाली कांग्रेसका नेता बादशाह कुर्मीले नेपाली कांग्रेस सहित गठबन्धनका उम्मेदवारले जितेपछि मात्र यो देशमा विकास र समृद्धि सम्भव भएको बताए । नेपाली कांग्रेसले जनतालाई झुटा आश्वासन कहिल्यै पनि नबाँड्ने उनको भनाई छ । सो क्रममा नेपाली कांग्रेस सहित पाँच दलिय गठबन्धनमा आवद्ध नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।

१९ कार्तिक २०७९ मा प्रकाशित
Nabintech