म्यादी उमंग

पिपलबाेट संवाददाता


बस्तीको गस्ती गरेर फर्कंदै गरेका म्यादी प्रहरीको एक समूह रौतहट राजदेवी नगरपालिकाको एउटा मोडमा भेटियो, समूहका सबै भर्खर १८ टेकेका किशोर मात्र थिए । २५ वर्षसम्मका मात्र २२ लाख ९४ हजार युवा यो निर्वाचनमा मतदाता छन्, जसको मतलाई बडो उत्सुकतापूर्वक हेरिएको छ । रौतहटको चन्द्रनिगाहपुरस्थित पार्कमा म्यादी प्रहरी । जीवनमा पहिलो पटक मतको हकदार बनेका यी युवासँग हामीले जिज्ञासा पोख्यौं, ‘यसपालि मत पनि हाल्ने होइन रु’ निमेषभरमै जवाफ आयो, ‘हामी त सरकारी मान्छे, आफ्नो मतको चिन्ता होइन, जनताको मतको सुरक्षा गर्ने जिम्मेवारी छ ।’ जनमत सुरक्षा गर्ने जिम्मेवारीले गम्भीर रामअशोककुमार शर्मा भर्खर १२ कक्षा पास भएका छन् । उनको यति ठूलो उमंगको स्रोत के होला रु ‘यसको कारण यही बर्दी हो, सरकारी बर्दी लगाएपछि मनमा यस्तो भावना आफैं जाग्दोरहेछ,’ उनको यो कथनमा साथीहरू जयप्रकाश महतो र दीपक राउतले पनि समर्थन जनाए ।

उनीहरू तीनै जनाले एउटै योजना बनाएका छन्, ‘निर्वाचन सम्पन्न गरेपछि ४४ हजार पारिश्रमिक बुझ्ने र त्यो पैसाले कम्प्युटरमा डिप्लोमा गर्ने ।’ १२ कक्षाको परीक्षा दिएपछि नै कम्प्युटर कोर्स गर्ने रहर थियो तर फि तिर्न करिब २५ हजार नभएकाले योजना अलपत्र थियो । म्यादी प्रहरीमा भर्ती भएसँगै कम्प्युटर कोर्सको ढोका पनि खुलेको छ । निर्वार्चन शान्तिपूर्ण सम्पन्न गर्ने जिम्मेवारीमा ८४ हजार २ सय ९६ पुरुष र ३० हजार ६ सय ४२ महिला गरी १ लाख १५ हजार म्यादी प्रहरी तैनाथ छन् । रामअशोक, जयप्रकाश र दीपकको जस्तै धेरैका लागि यो निर्णायक खुड्किलो हो । यो पारिश्रमिकले उन्नत जीवनको शिलान्यास गर्ने योजना सबैको छ ।

सर्लाहीको हरिवन इलाका प्रहरी कार्यालय परिसरमा शुक्रबार साँझ जुत्ता लिन लाइनमा उभिरहेकी थिइन् दुर्गा नेपाल । यही बिन्दुबाट उनले लामो यात्रा तय हुने विश्वास बोकेकी छन्, त्यो पनि छोराको । छोरा नै १८ वर्षका भएका छन् र अब अस्ट्रेलिया जाने योजनामा छन् । ‘कमर्स पढेको छ, सबै साथी गए, म पनि जान्छु भनेर पीटीईको तयारी गरेको छ । १२–१५ लाख चाहिन्छ । आफन्तले सहयोग गर्छौं भनेका छन् तर आफूले पनि केही त जुटाउन पर्‍यो, त्यसैले बूढाबूढी नै म्यादी भएका छौं,’ उनले सुनाइन् । श्रीमान् रामकृष्ण धरहरा प्रहरी चौकीमा खटिएका छन् ।

गत स्थानीय निर्वाचनमा पनि म्यादीका रूपमा भर्ना भएर कमाएको ३८ हजार पाँच सय रुपैयाँलाई ४० हजार बनाएर उनले स्थानीय सहकारीमा बचत गरेकी छन् । ‘हामीले मिहिनेत गरेका छौं भनेपछि आफन्तले पनि पत्याउँछन् नि । छोराछोरीका शिक्षाका लागि बाबुआमाले जे पनि गर्नुपर्छ । हामीले त सरकारी बर्दी लगाउन पाएका छौं,’ उनले भनिन् ।

पछिल्ला दुई निर्वाचन सुरक्षामा खटिएकी दुर्गा ०७४ को निर्वाचनमा भने हरिवन नगरपालिका–९ बाट आफैं प्रतिस्पर्धामा थिइन् । ‘वडा सदस्यमा १ सय ७५ भोट ल्याएकी थिएँ, मेरो समूहका वडाध्यक्षले भन्दा पनि धेरै मत ल्याएकी थिएँ तर हारें,’ उनले आफैंलाई सान्त्वना दिँदै भनिन्, ‘राजनीतिबाट देशको सेवा गर्न पाएँ, सुरक्षाकर्मी भएर यो अवसर पाएकी छु, मलाई त गर्व लागेको छ ।’

समाजले सम्मानको नजरले हेर्छ कि हेर्दैन भन्नेमा म्यादी प्रहरीलाई सरोकार छैन । ‘४० दिन त प्रशस्त हो, राष्ट्रसेवक सुरक्षाकर्मीको ब्याच एक दिन, एकछिन लगाउन पाए पनि जिन्दगी सफल भएको मान्नुपर्छ,’ हरिवनकी रीनाकुमारी बलम्पाकी मगर भन्छिन्, ‘मलाई सुरक्षा फोर्स निकै आकर्षक लाग्छ, सर–म्याडमहरूलाई देखेर मलाई पनि रहर लाग्थ्यो । मम्मीबाबालाई पनि छोरीलाई प्रहरी बर्दीमा देख्ने रहर थियो, पूरा भयो ।’

आत्मसम्मान र आर्थिक स्वावलम्बनले पनि धेरै महिलालाई तानेको छ । रीना भन्छिन्, ‘मम्मीबाबा बिरामी हुनुहुन्छ, कमाउन सक्नुहुन्न । मैले १२ कक्षा पास गर्दा बहिनीले एसईई पास गरी, घरको आर्थिक अवस्थाका कारण मैले पढ्ने कि बहिनीले भन्ने छान्नुपर्नेमा थियौं । मेरै निर्णयमा बहिनीको अध्ययन अघि बढ्यो ।’ अब अहिले आउने पारिश्रमिकबाट सिलाइकटाइसम्बन्धी व्यवसाय सुरु गर्ने ध्याउन्नमा छिन् उनी ।

आर्थिक अभावमा शिक्षा रोकिएका धेरै युवाको बाटो फेरि खुल्ने सम्भावना बढेको छ । स्थानीय चतुर्भुजेश्वर बहुमुखी क्याम्पस ९सीजेएमसी० मा स्नातक अध्ययनरत मेनुकाकुमारी साहको बक्यौता २० हजार नाघेको छ । ‘युनिफर्म फाटेको छ, फि पनि बाँकी छ । त्यसैले पढाइमा समस्या आएको थियो । चुनाव सम्पन्न भएपछि सब ठीक हुन्छ भन्ने सम्झिएर म त दंग छु ।’

म्यादी प्रहरीलाई महिलाले ठूलो अवसरका रूपमा लिएका छन् । गीता बस्नेत कार्की ४० वर्षकी भइन् । सेनाबाट अवकाश पाएर घरमै बसेका श्रीमान्ले म्यादी प्रहरीमा भर्ना हुन रुचि देखाएनन् । गीता भने उत्साही हुँदै भर्ना भइन् । ‘पूर्व सुरक्षाकर्मीका रूपमा उहाँको मान छ तर म पनि सुरक्षाकर्मी भएँ नि, त्यसमाथि आर्थिक रूपमा केही कमाउन पाएँ, यो पैसाले पुगेसम्म सिलाइकटाइकै पसल राख्ने सोच छ,’ उनले भनिन् ।

म्यादी प्रहरीमा खटिएका धेरै महिलाको कथनले हाम्रो समाजको अर्को कथा पनि भनिरहेको छ– आमा हुन् वा दिदी, आफूभन्दा सानाका लागि धेरैले अवसर त्यागेका छन् । रौतहटको वाग्मतीकी २० वर्षीया अस्मिता राई यसको उदाहरण हुन् । बाबुले राम्रो हेरविचार नगरेपछि आमा ९ वर्षदेखि दुबईमा छिन् । ‘आमा विदेश जानुभयो, बहिनी सानी थिई, उसको हेरविचार गर्न मैले पढाइ छाड्नुपर्‍यो, एसईईपछि सबै साथी कलेज गए, म जान सकिनँ,’ भन्छिन्, ‘तर बहिनीलाई पढाएका छौं । आमाले पनि कान्छी छोरीले चाहेसम्म पढाउने हो भन्नुभएको छ । बहिनी हुर्किएकीले अब म ब्युटीपार्लर खोल्ने तयारीमा छु ।’

पार्लर खोल्ने योजनामा अहिलेको जागिरले सहयोग गर्नेछ तर पनि अस्मिता स्पष्ट छिन्, ‘म्यादी प्रहरी रोजीरोटी मात्र होइन, राष्ट्रको जिम्मेवारी पनि हो ।’ उदाहरण दिँदै उनी भन्छिन्, ‘पहिले त कसैले झगडा गर्‍यो भने रमिता लाग्थ्यो तर सुरक्षाकर्मी भएपछि भावना नै फरक पर्ने रहेछ । अस्ति छठमा झगडा परेको थियो, सम्झाउँदा मान्छेले मानेनन्, हामीले त लौराले ठेलेरै तह लगायौं ।’ सुशीला पराजुली पनि भूमिहीन श्रमिककी श्रीमती हुन् । कक्षा आठमा पढ्दा नै उनको बिहे भयो । ‘त्यो पनि बडो दुःखले पढेकी हुँ, हामी पाँच जना बालबच्चा थियौं, धान रोप्ने, धान काट्ने काममा गएर खर्च जुटाउँदै आठ कक्षासम्म पढेकी थिएँ, बुबा आत्तिएर बिहे गरिदिनुभयो,’ उनी भन्छिन्, ‘मैले पढ्न पाइनँ तर बहिनीलाई १२ कक्षा पास गराएका छौं ।’

सुशीलाले माइतीको जग्गा धितो राखेर टाटाको म्याजिक गाडी किनेकी छन् । कमाइ किस्तामा जान्छ, छोराको पढाइ, औषधिमूलो र लुगाफाटामा खर्च गर्न गाह्रो छ, त्यसैले म पनि म्यादीमा भर्ना भएकी हुँ,’ उनी भन्छिन्, ‘स्थानीय चुनावमा पनि भर्ना भएकी थिएँ, ऋण केही हलुका भयो, यसपालि झन् सजिलो होला ।’
इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकार म्यादी प्रहरीप्रतिको आकर्षण असाधारण रहेको बताउँछन् । भन्छन्, ‘जिल्लामा २९ सयको भर्ना खुल्दा १० हजारभन्दा बढी आवेदन आयो । छनोट भएकाहरूमध्ये धेरैजसो विवाहित छन् । मान्छेलाई पारिवारिक जिम्मेवारीले पनि यता ल्याएको छ । यो पैसाबाट केही न केही गर्छु भन्ने भावना धेरैको छ ।’

लोकतन्त्रको उत्सव मानिने निर्वाचनले एकैपटक सवा लाख युवालाई आफू पनि उपयोगी नागरिक हौं भन्ने आभास दिएको छ । पूर्वगृहसचिव खेमराज रेग्मी हरेकजसो निर्वाचनमा परिचालन हुने म्यादी प्रहरीबाट समाजलाई फाइदा नै भएको मान्छन् । भन्छन्, ‘मेरो जानकारीअनुसार ०३७ सालको जनमत संग्रहबाटै म्यादी प्रहरी खटाउन थालिएको हो । म्यादी खटाउँदाको फाइदा निर्वाचन सुरक्षा व्यवस्थापनमा मात्र होइन, एउटा बेरोजगार नागरिकले निश्चित अवधिका लागि भए पनि रोजगारी पाउँछ, जीवन एक कदम अघि बढाउँछ ।’ म्यादी बन्दा सिकेको अनुशासन, लगन र धैर्यले परिवारको जीवनपद्दतीमा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । ‘घरेलु हिंसाजन्य गतिविधि पनि न्यून हुन सक्छ, परिवार र समाजप्रति जिम्मेवारीबोध सिकाउँछ,’ उनी भन्छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जयस्वार पनि यस्तो अवसरले युवा पुस्तामा आत्मसम्मान जगाउने गरेको मान्छन् । ‘प्रहरी आफैंमा अनुशासित संगठन हो, १० दिनको मात्र भए पनि यसले निश्चित अनुशासन सिकाउँछ,’ उनी भन्छन्, ‘त्यतिमात्र होइन, निर्वाचन सम्पन्न गर्न मेरो पनि भूमिका थियो भन्ने महसुस गराउँछ । कुनै पनि नागरिकका लागि यो धेरै ठूलो उपलब्धि हो ।’

म्यादी प्रहरीले आफैंले जिम्मेवारीबोध गरे पनि राज्यले भने उनीहरूलाई पर्याप्त सम्मान दिएको छैन । निर्वाचनमा खटिने कर्मचारी र स्थायी सुरक्षाकर्मीलाई समानुपातिकतर्फ मतदान गर्न सक्ने व्यवस्था गरिएको छ तर म्यादीले त्यो अवसर पाएका छैनन् । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार आसन्न निर्वाचनमा १ सय ४१ अस्थायी मतदानस्थल छन्, जसमा १ लाख ४८ हजार अस्थायी मतदाता ९कर्मचारी र सुरक्षाकर्मी० ले मतदान गर्न पाउनेछन् । ‘मतदाता सूचीमा नाम भएकाहरूले आफू खटिएको क्षेत्रबाट मतदान गर्नुपर्ने अवस्थामा अस्थायी मतदाता नामावलीमा नाम लेखाउन सक्छन्, त्यसकै आधारमा हामीले मतदाता नामावली र मतदान स्थलको टुंगो लगाएका छौं,’ पौडेल भन्छन् । तर, यो सूचीमा नाम दर्ता गर्ने समय र म्यादी छनोट भर्नाको मितिबीच तालमेल नभएकाले १ लाख १५ हजार म्यादी प्रहरी मतदान अधिकारबाट वञ्चित छन् ।

२७ कार्तिक २०७९ मा प्रकाशित
Nabintech