कांग्रेसले सार्वजनिक गर्‍यो संकल्पपत्र

पिपलबाेट संवाददाता


नेपालगञ्ज बजार क्षेत्र समेटिएको बाँके क्षेत्र नं. २ का कांग्रेस उम्मेदवारले १० शीर्षकमा विविध विषय समेटेर संकल्पपत्र सार्वजनिक गरेका छन्।

क्षेत्रका उम्मेदवार सुदीपनरसिंह राणा, प्रदेशका उम्मेदवारद्वय राजकुमार बर्मा र सुरेन्द्रबहादुर हमालको उपस्थितिमा पार्टी कार्यालयमा कार्यक्रम गरेर कांग्रेसले संकल्पपत्र सार्वजनिक गरेको हो।

कांग्रेसले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, आर्थिक विकास, महिला तथा पछाडि परेको समुदाय र विविध विषयमा गरेर यहाँका जल्दाबल्दा समस्या र काम संकल्पपत्रमा राखेको छ।

शिक्षामा कांग्रेसले महेन्द्र बहुमुखी क्याम्पसलाई नेपालगञ्ज विश्वविद्यालयको रुपमा स्तरोन्नति गर्ने, मंगलप्रसाद कन्या क्याम्पसका छात्रालाई उपयोगी नवीन विषय अध्ययनका लागि प्रोत्साहित गर्न आवश्यक सहयोग गर्ने, सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाका लागि विषयगत शिक्षकलाई प्रशिक्षण तथा उपयुक्त प्रविधि प्रयोगमा सहयोग गर्ने, भेरी प्राविधिक शिक्षालयलाई स्तरोन्नति गर्दै समय सुहाउँदो प्राविधिक उच्च शिक्षा अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्ने, डुडुवामा नैतिक शिक्षाका लागि संस्कृत, उर्दु र अवधि भाषालाई प्रोत्साहन गरी सोको कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।

स्वास्थ्यमा भेरी अस्पताललाई मेडिकल कलेजको रूपमा रुपान्तरण गर्न उच्च प्राथमिकता दिने, नेपालगञ्ज र डुडुवामा स्वास्थ्य बिमालाई सरल र सुलभ बनाई यसमा नागरिकको पहुँच विस्तार गर्ने, प्रत्येक नागरिकको स्वास्थ्य सेवामा पहुँचको अवधारणालाई दृष्टिगत गरी तत्काल आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न नेपालगञ्ज र डुडुवा क्षेत्रअन्तर्गतका स्वास्थ्य केन्द्रमा एम्बुलेन्स उपलब्ध गराउने रहेको छ।

कृषिमा नेपालगञ्ज र डुडुवाका किसानका लागि सहज रूपमा मलखाद, बिउविजन भण्डारण र वितरण व्यवस्थाका सुनिश्चितताका लागि पहल गर्ने, भूउपयोग नीति निर्माण गरेर जग्गालाई कृषि, उद्योग, आवास क्षेत्रमा वर्गीकरण गरी कार्यान्वयन गर्ने, घरमा उत्पादन हुने फोहोरबाट कम्पोष्ट मल बनाई करेसाबारी तथा कौसी खेतीलाई प्रवद्र्धन गर्ने, सिक्टा सिँचाइको मूल नहर तथा शाखा नहर निर्माणको काम तत्काल सम्पन्न गरेर सिँचाइ सुविधाको उचित व्यवस्था मिलाई नेपालगञ्ज तथा डुडुवा क्षेत्रमा अन्नबाली, तरकारी तथा फलफूल उत्पादन वृद्धिका साथै यस क्षेत्रलाई सफा र हराभरा बनाउने, नेपालगञ्ज ग्रामीण वडा तथा डुडुवालाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्ने उल्लेख गरिएको छ।

खानेपानी तथा सरसफाइमा राप्ती नदीको पानी प्रशोधन गरेर नेपालगञ्ज तथा डुडुवामा ल्याई प्रत्येक वडाका नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने, नेपालगञ्ज तथा डुडुवालाई सफा र सुन्दर सहर र बस्तीको रुपमा विकास गर्न सरकारी निजी साझेदारी (एएए) मोडेलमा सरसफाइ र हरियाली परियोजना लागू गर्ने, नेपालगञ्ज तथा डुडुवाको फोहोरमैला व्यवस्थापनको लागि ल्याण्डफिल साइडको स्तरोन्नति गरी नयाँ प्रविधि युक्त फोहोर प्रशोधन केन्द्र सञ्चालन गर्ने, नेपालगञ्ज र डुडुवाका सार्वजनिक स्थलमा आवश्यकताका आधारमा शौचालय स्थापना र सञ्चालन गर्ने, मूल सडक र राजमार्गको दुवैतिर वृक्षरोपण गरेर वातावरण संरक्षण तथा सौन्दर्यकरण गर्ने भनिएको छ।

पर्यटनमा नेपालगञ्ज तथा डुडुवाका महत्वपूर्ण धार्मिक साँस्कृतिक स्थललाई पर्यटकीय स्थलको रुपमा विकास गर्न विशेष गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने, राप्ती नदीमा शिवाअफ स्टेचुको स्थापना गर्ने परियोजना तत्काल सञ्चालन गर्ने, नेपालगञ्ज तथा डुडुवामा रहेका ऐतिहासिक मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च, गुरुद्वारा तथा विभिन्न धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण र सम्बद्र्धन गरी पर्यटन विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने, नेपालगञ्जलाई पश्चिम नेपालका तीन प्रदेश तथा अन्तर्राष्ट्रिय गेट वे र व्यापारिक नाकाको रुपमा विकास गर्दै यस क्षेत्रका प्रख्यात धार्मिक तथा प्राकृतिक स्थलको पर्यटन प्रवद्र्धनतर्फ जोड दिने, नेपालगञ्ज र डुडुवा क्षेत्रभित्र रहेका पार्कको स्नरोन्नति तथा एक वडा, एक पार्क, एक तलाउको अवधारणालाई कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।
युवा स्वरोजगार तथा खेलकुदमा नेपालगञ्ज र डुडुवा क्षेत्रका युवाका लागि रोजगार तथा सीपमूलक तालिमलाई प्राथमिकतासाथ सञ्चालन गर्ने, नेपालगञ्ज र डुडुवा क्षेत्रमा रोजगार सूचना केन्द्र स्थापना गर्ने, एक वडा एक खेल मैदानको व्यवस्था गर्ने संकल्पपत्रमा राखिएको छ।

भौतिक पूर्वाधार तथा सडकमा नेपालगञ्ज चक्रपथ (रिङरोड) निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बनाउनुका साथै नेपालगञ्ज बजार जोड्ने सडक विस्तार गर्ने, राप्ती नदी तथा डुडुवा खोलामा भरपर्दो तटबन्धको व्यवस्था गर्न पहल गर्ने, होलियाबाट चौफेरी जोड्ने डुडुवा नदी तथा चौफेरीबाट मटेहिया राप्ती नदीमा पक्की पुल निर्माण गर्ने बाचा गरिएको छ।

आर्थिक विकासमा सीमापारिबाट दैनिक उपभोग्यलगायत सरसामान खरिद हुने गरेको कारण नेपालगञ्जको व्यापार व्यवसायमा परेको असर न्यून गर्न सरोकारवालासँग ठोस छलफल गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पहल गर्ने, नेपालगञ्जको स्थानीय प्रख्यात ब्यञ्जन तथा परिकारलाई ब्राण्डिङ गरेर स्वदेश तथा विदेशमा निर्यात गर्ने वातावरण सिर्जना गर्ने उल्लेख गरिएको छ।
महिला तथा पछाडि परेको समुदायमा यी समुदायका लागि सीपमूलक तालिम तथा स्वरोजगारका कार्यक्रम लागू गर्ने र विविधमा छाडा चौपाया व्यवस्थापन गर्न ठोस योजना निर्माण गरी कार्यान्वयन गर्ने, ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नेलगायत संकल्पपत्रमा समेटिएको छ।

क्षेत्र नं. २ का उम्मेदवार राणाले आफूहरूले संकल्पपत्रमा समेटेको बुँदालाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे।

२८ कार्तिक २०७९ मा प्रकाशित
Nabintech