विपक्षी दलको अबरोधले सभा भएन : अध्यक्ष चौधरी

पिपलबाेट संवाददाता


बाँके डुडुवा गाउँपालिकाको गाउँसभा अझै बस्न सकेको छैन । यसले गर्दा यहाँ सम्पूर्ण सेवा प्रभावित भएको छ । समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सेवा ठप्प भएको छ । कर्मचारीहरूले तलब भत्तासमेत पाउन सकेका छैनन् । स्थानीय तहको चुनापछि गाउँपालिकामा बन्ने कार्यपालिकामा एमाले लगायतका केही दलले अबरोध खडा गरेपछि अहिलेसम्म उक्त पालिकामा तनाव भैरहेको स्थानीय बताउँछन ।

चालू आर्थिक वर्ष २०७९र८० को साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कर्मचारीले खान पाएका छैनन् । अन्य सबै विषयगत सेवाहरुसमेत प्रभावित भएको छ । अहिले स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन भने प्रयोगशाला, स्वास्थ्य सेवा, पशु, कृषि लगायतका सेवा प्रभावित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल बताउँछन ।

कर्मचारीले तलब नपाउँदा उनीहरूको दैनिक खर्च, घरभाडा, छोराछोरीलाई पढाउन नसक्दा समस्या भएको बेतहनी स्वास्थ्य चौकीका प्रमुख हेमन्त शर्मा बताउँछन । उनले भने, “राजनीतिक विवादको मारमा हामी परेका छौँ, हाम्रो काम भनेको सेवा दिने हो, अहिले घरखर्च धान्न समस्या छ, तर जनप्रतिनिधीहरुले यो समस्या बुझ्नु भएको छैन ।”

समयमा गाउँसभा नहुँदा सङ्घीय र प्रदेश सरकारबाट प्राप्त ससर्त, विशेष अनुदान र समपूरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि ‘फ्रिज’ हुने सम्भावना समेत बढेको छ । विकास निमार्णसँगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको बोलपत्र प्रक्रिया अवरुद्ध हुँदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ ।

पालिकाले सञ्चालन गरेको राष्ट्रियस्तरको कार्यक्रम अन्तर्गत घर घरमा पशु सेवा बन्द भएपछि निःशुल्क उपचार सेवा नपाएर चालु आर्थिक वर्षको हालसम्म करिब पाँचसय बढी चौपाया मरेको गाउँपालिका पशु शाखाका कर्मचारी रक्षाराम यादवले बताए । उनका अनुसार पशु सेवाअन्तर्गत घरघरमा प्रदान गरिने सेवाका लागि औषधि, ल्याब केमिकल नभएपछि सेवा दिन सकिएको छैन ।

यसैगरी कर्मचारीहरूले पारिश्रमिक नपाएपछि विकल्पमा आन्दोलनको कार्यक्रम रोजेका छन् । स्थानीय तहको निर्वाचनपछि नयाँ आव २०७९र८० को गाउँसभा नबस्दा बजेट पारित नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरू आक्रोशित बनेका छन् । गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीले तत्काल तलब भत्ताको माग गर्दै गत आइतबार गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरूले अवरोध गरेका कारणले गाउँसभा हुन नसकेको बताए । उनले भने, “विपक्षीहरुले गाउँपालिकालाई बन्धक बनाएका छन्, निकास नदिँदा अहिले उपचार नपाएर पशुपन्छी मरिरहेका छन्, स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन, कर्मचारीले तलब भत्ता पाएका छैनन्, ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन् ।” अध्यक्ष चौधरीले जनताबाट निर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको समग्र हित र विकासका लागि मुख्य भूमिका निर्वाह गर्नुपर्नेमा व्यक्तिगत र दलीय स्वार्थबाट प्रेरित भएको आरोप लगाए ।

विपक्षी दलका नेकपा एमालेका डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले गाउँपालिकामा आफूहरूको बहुमत भएकाले हाम्रा एजेन्डालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग गरे । उनले पालिकामा कार्यरत करार सेवाका कर्मचारीको व्यवस्थापन, केही ऐन र कानुन संशोधनको प्रक्रिया गरेमा मात्र सहमति गर्ने बताए ।

२१ मंसिर २०७९ मा प्रकाशित
Nabintech