उपेन्द्र विष्टलाई नेविसंघ बाँके अध्यक्षको जिम्मेवारी प्रदान

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाँके अध्यक्षको जिम्मेवारी उपेन्द्र विष्टले पाएका छन् । नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले उनलाई बाँके जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले विष्टलाई बाँके अध्यक्षको जिम्मेवारी सुम्पेका हुन् ।

नेविसंघ केन्द्रिय समितिले विभिन्न जिल्लामा विवरण मागे बमोजिम यही मंसिर १७ गते प्राप्त नेपाली काँग्रेस बाँकेको पत्र अनुसार नेविसंघ बाँकेको अध्यक्ष पद रिक्त भएकोले र ३२ वर्ष उमेर हद पनि आर्कषित भएकाले नेविसंघको विधान २०२७ को छैठौं संसोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी अध्यक्ष पदको जिम्मेवारी दिइएको केन्द्रिय अध्यक्ष शेर्पाले पत्रमा उल्लेख गरेका छन् ।

बाँके अध्यक्षको जिम्मेवारी पाएपछि विष्टले नेविसंघको संगठन विस्तार र सुदृढीकरण सम्बन्धी काममा नेतृत्वदायी भुमिका निभाउने प्रतिवद्धता जनाएका छन् । ‘नेपाल बिद्यार्थी संघलाई बाँकेमा चलायमान बनाउन मैले सबै अग्रजहरुको सल्लाह बमोजिम काम गर्नेछु, अबको तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको हुँदा म यही काममा सक्रिय हुनेछु,’ अध्यक्ष विष्टले भने ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ७ निवासी २५ वर्षिय विष्ट २०६५ सालदेखी नेविसंघको राजनीतिमा लागेका हुन् । बिद्यालय जीवनदेखी नै नेविसंघमा लागेका उनी २०७३ सालमा कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट स्ववियु सचिवको उम्मेदवार भएका थिए । तर, उनले उक्त निर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउन सकेनन् ।

क्याम्पसको ईकाई सदस्य हुदै हालसम्म पनि ईकाई सचिवको जिम्मेवारीमा रहेका बेला उनको कार्य कुशलता र क्षमताबाट प्रभावित भएपछि केन्द्रिय समितिले जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । अग्रेजी विषयमा स्नातकोत्तर तह (मास्टर डिग्री) उर्तीण गरिसकेका अध्यक्ष विष्टले कानुन विषय पनि अध्ययन गर्दैछन् ।

२२ मंसिर २०७९ मा प्रकाशित
Nabintech