लुम्बिनीमा संसदीय दलको नेता बन्न सांसदहरूको दौडधूप

पिपलबाेट संवाददाता


लुम्बिनी प्रदेशमा दलको नेता बन्न सांसदहरू सक्रिय भएका छन्। कुनै पनि दलको बहुमत नआएको लुम्बिनीमा सरकार बनाउनका लागि केन्द्रीय राजनीतिकै भर छ।

संघमा बन्ने गठबन्धन प्रदेशमा पनि कायम रहने आशमा प्रदेशका नेताहरू सरकार गठनभन्दा अघि दलको नेता बन्नका लागि नेताहरूसँगको भेटघाटमा व्यस्त छन्।

प्रदेशको ठूला दल एमाले, कांग्रेस र माओवादीका करिब २ दर्जन नेता संसद्‌मा आ–आफ्नो दलको नेता बन्ने होडबाजीमा छन्।

८७ सांसद रहेको प्रदेश सभामा ठूला दल एमालेका २९, कांग्रेसका २७ र माओवादीका ९ सांसद छन्। यी दलले एक्लै सरकार बनाउन नसक्ने भएपछि दलहरू केन्द्रीय राजनीतिको गठबन्धनको पर्खाइमा छन्।

सरकारको नेतृत्व गर्ने सम्भावित तीन ठूला दलमै सरकार बनाउन पर्याप्त मत नभएपछि कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा प्रदेशस्तरका नेता, राजनीतिक दल र निर्वाचित प्रदेशसभा सदस्य अन्योलमा छन्।

सत्ता गठबन्धन र एमाले दुवै दलसँग सरकार बनाउन पुग्ने मत नभएकाले उनीहरू सरकार र संसदीय दलको नेता चयनमा समेत केन्द्रकै मुख ताकिरहेका छन्।

लुम्बिनीमा सत्ता गठबन्धनका कांग्रेस र माओवादीले मुख्यमन्त्री दाबी गरिरहेका छन्। प्रदेशको ठूलो दल एमाले पनि बहुमत जुटाएर सरकार बनाउने दाउमा छ। एमालेमा प्रदेशसभामा दोस्रोपटक निर्वाचित भएका सांसदहरू दलको नेताको दौडमा छन्।

दलको नेताका लागि रुपन्देहीका लीला गिरि, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठको दाबी छ। यस्तै कपिलवस्तुका विष्णु पन्थी, अर्घाखाँचीका चेतनारायण आचार्यले पनि दलको नेता दाबी गरेका छन्।

स्थानीय निर्वाचनदेखि नै पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको शक्ति संघर्ष देखिएको लुम्बिनीमा दलको नेता चयनमा पनि त्यसको प्रभाव रहनेछ।
दलको नेता दाबी गरिरहेका गिरी र श्रेष्ठ उपाध्यक्ष पौडेलनिकट मानिन्छन्  भने ढकाल, पन्थी र आचार्य महासचिव पोखरेलनिकट हुन्।

प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेसमा पनि दलको नेताका लागि रस्साकस्सी छ। मुख्यमन्त्रीको दाबीसहित चुनावमा होमिएका प्रदेश सभापति अमरसिंह पुन निर्वाचनमै पराजित भएपछि अरु नेता मुख्यमन्त्रीको दाबीसहित अघि सरेका छन्।

प्रदेश संसदीय दलको नेता बन्न कांग्रेसबाट दाङका डिल्ली चौधरी, राजु खनाल र पाल्पाका वीरबहादुर रानाको दौडधुप छ। चौधरी र खनाल संस्थापन पक्ष हुन् भने राना इतरपक्षका हुन्।

लुम्बिनीमा माओवादीले पनि मुख्यमन्त्रीको दाबी गर्दै आएको छ। यसअघि सत्ता बाँडफाँडमा आलोपालोको सहमति गरे पनि कांग्रेसलाई सत्ता हस्तान्तरण नगरेको माओवादी यसपटक पनि सुरुमै सत्ताको नेतृत्व गर्न प्रयत्नरत छ।

माओवादीमा पोलिटब्युरो सदस्य रोल्पाका नेता जोखबहादुर महरा नै दलको नेता बन्ने सम्भावना बढी छ। दाङका धनबहादुर मास्की र बाँकेकी कृष्णा केसीले पनि दलको नेतामा दाबी गरिरहेका छन्।

दलको नेता बन्न दलभित्र दौडधुप भएसँगै दलहरू सरकार गठनको तयारीमा पनि लागेका छन्। केन्द्रमा पार्टीका नेतृत्वबीच हुने सहमतिले लुम्बिनीको सरकारको नेतृत्व कसले गर्ने भन्ने यकिन गर्ने भए पनि दलहरू आन्तरिक तयारीमा जुटेका हुन्।

कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले कांग्रेसकै नेतृत्वमा लुम्बिनीमा सरकार बन्ने गरी अनौपचारिक छलफल सुरु गरेको बताए।

उनका अनुसार साना दलहरूलाई समेत समेटेर सरकार बनाउने गरी कांग्रेसले तयारी थालेको छ।
प्रदेश सभापतिको हैसियतमा गठबन्धनबाहिरका साना दल नागरिक उन्मुक्ति र जनमत पार्टीसँग अनौपचारिक रूपले छलफल गरिरहेको सभापति पुनले बताए।

उनका अनुसार लुम्बिनीमा सत्तारुढ गठबन्धनका दलहरू कांग्रेस, माओवादी, लोसपा, नेकपा एस र जनमोर्चा तथा नागरिक उन्मुक्ति र जनमतलाई समेत सामेल गरेर सरकार गठनको प्रयास छ।

माओवादीले पनि केन्द्रीय सहमतिकै प्रतीक्षा गरेको छ। माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले केन्द्रको सहमतिअनुसार नै प्रदेशमा सत्ता गठबन्धन बन्ने बताए।

साना दुई दलको साथ नपाए सत्तारुढ गठबन्धनसँग ४१ मत मात्र हुने भएकाले ४ सांसद रहेको नागरिक उन्मुक्ति र ३ सांसद रहेको जनमत पार्टीको साथ गठबन्धनले खोजेको छ।

केन्द्रीय सत्ता निर्माणमा निस्क्रिय जस्तै देखिएको एमाले लुम्बिनीमा पनि मौनजस्तै छ। एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले केन्द्रीय गठबन्धन तय भएपछि मात्रै दलको नेता चयन गर्ने र सरकार गठनको विषयमा छलफल हुने बताए।

लुम्बिनीमा स्वतन्त्रबाट निर्वाचित तीन जना र नागरिक उन्मुक्ति वा जनमत पार्टीको मत सरकार गठनमा निर्णायक बन्ने देखिन्छ।

६ पुष २०७९ मा प्रकाशित
Nabintech