दलीय समर्थनका आधारमा प्रचण्डलाई ९९ प्रतिशत विश्वास

पिपलबाेट संवाददाता


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने संसद् बैठक जारी छ । दलीय समर्थनका आधारमा प्रधानमन्त्री प्रचण्डले ९९ प्रतिशत मत पाउने देखिन्छ । पुस १० गते एमालेसहित ७ दलको १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले दलीय समर्थनका आधारमा २ सय ७२ मत पाउने छन् । यो प्रतिनिधिसभाको ९९ प्रतिशत मत हो ।

प्रतिनिधिसभामा १२ राजनीतिक दलका २ सय ७१ र तीन स्वतन्त्र गरी २ सय ७५ सांसद् छन् । राष्ट्रिय जनमोर्चा र नेमकिपाले मात्रै प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नेछन् । जनमोर्चा र नेमकिपासँग प्रतिनिधिसभामा एक/एक सांसद मात्रै छन् । मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । उनले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन पाउने छैनन् ।

संसद्को पहिलो बैठकमा प्रतिपक्षी सिटमा बसेको नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि आज प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन् ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको सबै दलले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

संसदमा कांग्रेसको ८८, नेकपा एमालेको ७९, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, नागरिक उन्मुक्तिको ४, लोसपाको ४, आम जनता पार्टीको १ र स्वतन्त्र २ सांसद रहेका छन् ।

प्रधानमन्त्रीको पक्षमा
नेपाली कांग्रेस– ८८
नेकपा एमाले– ७९
नेकपा माओवादी केन्द्र– ३२
राष्ट्रिय स्वतन्त्र पार्टी– २०
राष्ट्रिय प्रजातन्त्र पार्टी– १४
जनता समाजवादी पार्टी– १२
नेकपा एकीकृत समाजवादी– १०
जनमत पार्टी– ६
नागरिक उन्मुक्ति पार्टी– ४
लोकतान्त्रिक समाजवादी पार्टी–४
स्वतन्त्र– ३
जम्मा–२७२

विपक्ष
राष्ट्रिय जनमोर्चा– १
नेपाल मजदुर किसान पार्टी– १
निलम्बित– १
जम्मा– ३

२६ पुष २०७९ मा प्रकाशित
Nabintech