मानव बेचबिखनविरुद्ध काम गर्ने शक्ति समूहले नेपालगञ्जको जमुनाहा नाका र जिल्ला प्रहरी कार्यालय, बाँकेको परिसरमा बालमैत्री मनोविमर्श केन्द्र स्थापना गरेको छ।
बेचबिखनको जोखिममा परेका र जोखिमपूर्ण यात्रामा रहेका बालबालिकालाई परामर्श दिन शक्ति समूहले दुई ठाउँमा मनोविमर्श केन्द्र स्थापना गरेको हो।
बालमैत्री परामर्श केन्द्र तथा बाल निगरानी कक्षको शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले उद्घाटन गरे। सो अवसरमा प्रमुख जिल्ला अधिकारी आचार्यले मानव बेचबिखन रोकथामका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए।
शक्ति समूहकी अध्यक्ष तामाङले आफूहरुले २५ वर्षदेखि बेचबिखन रोकथाम, संरक्षण, क्षमता अभिवृद्धि, सशक्तीकरण र पीडितलाई कानूनी सहयोगको काम गरिरहेको र त्यसकै एउटा कडी बालमैत्री मनोविमर्श केन्द्र भएको बताइन्।
मानव बेचबिखन न्यूनीकरणमा अहिले सञ्चालनमा ल्याइएको संरचनाले ठूलो सघाउ पुर्याउने बताउँदै अध्यक्ष तामाङले बाटोमा बसेर गर्नुपर्ने अनुसन्धान र परामर्श अब सुविधायुक्त भवनबाट हुने बताइन्।
शक्ति समूहले देशका १८ जिल्लामा बेचबिखनविरुद्ध काम गरिरहेको जनाएको छ। ५ वटा सेल्टर होम छन्। एक सय ३१ जना सदस्य रहेको शक्ति समूहले सन् २००९ देखि बाँकेमा काम गर्दै आएको छ।
१६ लाख रुपैयाँ खर्च गरेर इलाका प्रहरी कार्यालय, जमुनाहा र जिल्ला प्रहरी कार्यालय, नेपालगञ्जको परिसरमा बालमैत्री मनोविमर्श केन्द्र बनाइएको छ।