कथा : कण्डमको खोल

पिपलबाेट संवाददाता


उसलाई राति अबेरसम्म त्यही कण्डमको खोलले सुत्न दिँदैनथ्यो । आँखाले जम्मा एकपटक मात्र देखेको कण्डमको खोललाई उसले पचास हजारभन्दा धेरैपटक देखिसकेको थियो दिमागमा । उसको मनमा घुम्दै फिर्दै त्यही खाटमुनि भेटिएको कण्डमको खोल अडिन्थ्यो । र, उसलाई साह्रै अत्यासलाग्दो रिस उम्लिएर आउँथ्यो अकस्मात् ।

त्यसपछि उसले आफ्नी अप्सराजस्ती श्रीमतीलाई मनमनै सराप्थ्यो । त्यतिबेला उसका आँखा राता भइरहेका हुन्थे । कहिलेकाहीं त चिढचिढ पसिना पनि आउँथे उसका निधार वरिपरि ।

ऊ बस्ने गाउँको नाउँ थियो – मिलनपुर । जुन गाउँलाई प्रकृतिले भिन्नै रंगले सिँगारिरहन्थ्यो । कहिले प्रकृति पूरै हरियाली हुन्थ्यो, कहिले पूरै उजाड । मान्छेको मनजस्तो बदलिरहने प्रकृति ।

गाउँको एक पाखामा अव्यवस्थित खोलो सानो स्वर निकाल्दै बगिरहेको हुन्थ्यो । खोलाको छेउमा सानो जंगल थियो । केटाकेटीहरु त्यही जंगलमा पिकनिक खान जान्थे । गाईवस्तु चराउन जान्थे । त्यही बाटो हुँदै हाँडी गाउँ पुगिन्थ्यो ।

अर्को पाखामा घण्टा झुण्डिएको एउटा मूर्ति थियो । मन्दिरमा मूर्तिबाहेक अर्थोक केही थिएन तर गाउँलेहरुका लागि त्यो मन्दिर देउताको घर थियो । सबैको अभिभावक बनेको थियो त्यो मन्दिर ।

गाउँलेहरु गाउँको नामअनुसार हुनुपर्छ भन्ने थ्योरीमा मिलेर बस्थे । स–साना कुरा पनि एकआपसमा साटासाट गर्थे । त्यही समझदार गाउँमा बस्थ्यो जीतकाजीको परिवार पनि ।

तर, कण्डमको खोल देखेपछि जीतकाजीलाई ठूलै मानसिक पीडा बेहोर्नुपरेको छ ।

जीतकाजीको परिवार जम्मा तीन जनाको थियो । प्यारे छोरो सागर, संगिनी निर्मली र जीतकाजी आफू ।

दुई तले घरको ढोकानिरै खिसिक्क हाँसेका जीतकाजी, निर्मली र सागरको तस्वीर झुण्डिएको थियो । जीतकाजीको घरमा आउनेले त्यही जवानी तस्वीर हेरेर भनिदिन्थे – ‘यो मुस्कानले त हामीलाई साह्रै लोभ्याउँछ ।’

यी सबै प्रतिक्रिया त्यसै आएका होइनन् । छोरो सागर सानैदेखि त्यसै भलाद्मी भएको पनि होइन । जीतकाजीका बूढाबूढी बिहे गरेदेखि कहिल्यै झगडा गरेका थिएनन् । गाउँमा कसैको ठाकठुक परिहाल्यो कि, नमूनास्वरुप जीतकाजी र निर्मलीको जोडीको चर्चा हुन्थ्यो कचहरीमा । त्यतिबेला जीतकाजी र निर्मली मख्ख पर्थे । गाउँमा ढुकुरको जस्तो जोडी छ भनिथ्यो दुवैलाई ।

तर, त्यस्तो मिल्ने जोडीको सम्बन्ध त्यही कण्डमको खोलले बेलुन फुटाएझैं फुटाइदिएको थियो ।

जीतकाजी र निर्मलीका स्वभावका कारण छोरो सागरले स्कूलका शिक्षक र गाउँलेको अचाक्ली माया पाएको थियो । बा–आमाको चरम मिलनको भावभङ्गीले सागरको बालापनमा सिधै प्रभाव पारेको थियो ।

खोलापारिबाट आउने स्कूले विद्यार्थीले पनि सागरलाई सम्मान गर्थे । केटाकेटीले सागरलाई भन्ने गर्थे, ‘तिम्रो बाबा मम्मी त कस्तो ज्ञानी हुनुहुन्छ रे है?’

गाउँघरमा केही काम पर्‍यो कि, जीतकाजी र निर्मली सहयोग गर्न पुगिहाल्थे । कोही बिरामी पर्‍यो भने निर्मलीलाई बोलाउन आइपुग्थे । उसले गाउँतिर पाइने जडीबुटी पिसेर ओखती बनाइदिन्थी । धेरैलाई बिसेक पनि भएको थियो । त्यसैले निर्मलीले गाउँलेको विश्वास जितेकी थिई । बिरामीलाई आफ्नै परिवारलाई झैं स्याहार गरिदिन्थी । खुबै मृदु स्वभाव दिथो उसको बोलीचाली ।

यसरी सबैको ख्याल गर्ने निर्मली एकदिन आफै थला परी ।

बिहान जीतकाजीसँग ऊ जंगलका दाउरा ओसार्न गएकी थिई । दाउरा बोेकेको नाम्लो निधारमा थियो । उसका गोडा गले । थकाइ लाग्यो । अप्ठेरो बनायो । हिजोदेखि नै कमजोर भएझैं त लागेको थियो उसलाई । तर, उसले खासै महत्त्व दिएकी थिइन ।

नजिकै दाउराको भारी राखेर जीतकाजीले निर्मलीलाई बोक्यो । घर पुग्दासम्म निर्मलीको शरीर पूरै तातेको थियो । बिरामी छोडेर जीतकाजी हाँडी गाउँमा डाक्टर लिन गयो । डाक्टर घरमै आइपुगे । ज्वरो नापे । भने – ‘टाइफाइड भएको रहेछ, समयमा औषधि खुवाउनुस्, केही दिन आराम गर्न दिनुस् ।’

निर्मलीले पुलुक्क जीतकाजीको मुखमा हेरी । खिस्स थाकेको हाँसो हाँसी । र, भनी – ‘अब तपाईं एक्लैले घरभित्रको काम पनि भ्याउनुपर्ने भयो ।’
‘अझै तिम्रो ख्याल पनि आफैले राखिदिनुपर्ने भयो ।’, जीतकाजीले जिस्कायो ।

निर्मलीले घरभित्रको काम कहिल्यै जीतकाजीलाई गर्नुपर्ने अवस्था सिर्जना गरेकी थिइन । घरभित्रको काम भ्याएर बाहिरी काममा सघाउन पुगिसक्थी निर्मली । तर ऊ अहिले थला परेकी छे । सबै काम जीतकाजी एक्लैले गर्नुपर्ने भएको छ ।

केही दिनमै निर्मली दुब्लाउँदै गई । छोरो सागर स्कूलबाट आउनासाथ गृहकार्य गर्न बस्थ्यो थपक्क । जीतकाजी घरकै काममा व्यस्त थियो । गाउँलेहरु निर्मलीलाई भेट्न आइरहेका हुन्थे ।

‘जाबो टाइफाइडले पनि यत्रो दुःख दियो ।’, भेट्न आउनेहरु भन्थे ।

‘कति दुब्लाको? नराम्री भइछौ ।’, जेठानीहरु सुनाउँथे ।

एक हप्तामै निर्मली साँच्चै दुब्लाएकी थिई । उसले जवाफ फर्काउँथी, ‘मोटाइएला नि ।’

गाउँले आउँथे । भेट्थे । जान्थे । छोरो आएर आमाको छेउमा बस्थ्यो । बाबासँग सोध्थ्यो, ‘आमालाई कहिले निको हुन्छ बा?’

‘डाक्टरले अब निको हुन्छ भनेको छ । जाऊ, गएर खेल ।’, बाले भनेपछि सागर निस्किन्थ्यो एकछिन ।

बिस्तारै निर्मली निको हुँदै गई । जीतकाजीले यतिबेला निर्मलीलाई खुबै माया दर्सायो । निर्मलीको हालत देखेर उसलाई सबै काम आफै गर्नुपर्छ भन्ने लाग्थ्यो ।

तर एकदिन यस्तो भयो ।

शुक्रवार । छोरो सागर स्कूलबाट अझै आइपुगेको थिएन । केही गाउँले निर्मलाको घरमा आएर हालचाल बुझेर फर्किसकेका थिए । कामको धपेडीले गाउँलेसँग राम्रोसँग कुरा गर्न पनि पाएको थिएन जीतकाजीले ।

दिउँसोको चर्को घामले घरमुन्तिरका बारीका मकै ओइलाएर लुत्रुक्क परेका थिए । भित्र जीतकाजीले थला परेकी निर्मलीलाई हेरिरहेको थियो । निर्मली मत्थर हुँदै गएकी थिई । खाटमा बसिरहेकी थिई ऊ ।

‘तिमी आराम गर, पूरै निको नभएसम्म काम छुनु पर्दैन ।’, जीतकाजीले निर्मलीलाई आश्वासन दिलायो ।
‘तपाईंलाई झन् दुःख थपियो । सहयोग गर्ने छोरो पनि सानो छ ।’, निर्मलीले गलेको स्वरमा भनी ।

निर्मलीको यही कुराले जीतकाजीमा अझै हौसला बढ्यो । लगत्तै ढोकामा ठडिएको कुचो निकाल्यो र कोठा सफा गर्न थाल्यो ।
धेरै दिनसम्म उसले ढोकाको कुना कुनासम्म कोठा सफा गर्न पाएको थिएन । आज उसले सफा गर्दै थियो ।

तर अघिसम्मको उसको बिहानी शीतजस्तो चिसो दिमाग एक्कासी ज्वालामुखी झैं फुट्न थाल्यो, जतिबेला उसले खाटको एउटा कुनामा एउटा कण्डमको खोल देख्यो ।

त्यतिबेला जीतकाजीले केही सोच्नै भ्याएको थिएन । रिसले उसका आँखा पाकेका टमाटरजस्ता भइसकेका थिए । आफ्नै शरीरको रगत कमिला छिरेर चुसिरहे जस्तो भयो । आजसम्म परेलीको एक छेउ पनि गलत नियतले नहेरेकी आफ्नी पत्नीप्रति एक्कासी बाग्मतीको बाढीजस्तो दुर्गन्धित नजरले हेरिसकेको थियो ।

त्यतिबेला उसले सम्झ्यो – हाँडी गाउँका केही साथीहरुले जीतकाजीलाई निर्मलीका बारेमा केही भनेका थिए । उनीहरुले निर्मलीको रुप र व्यवहारको पनि चर्चा गरेका थिए । र, उनीहरुले कुरैकुरामा जोडेका थिए – ‘हुन त राम्री केटीहरु गतिला हुन्नन् ।’

जीतकाजीले त्यतिबेला अरु केही सोच्नै भ्याएन । निर्मलीले सोधी – ‘के भो तपाईलाईं?’
त्यतिबेला जीतकाजीको सोच्ने दिमागलाई अणु बमले भन्दा ठूलो धक्का लगाएको थियो कण्डमको खोलले ।
‘धन्न खोलमात्र भेटियो, मान्छे पनि भेटिएको भए काटिदिन्थें ।’, उसले यत्ति भन्यो र ढोकाबाट बाहिरियो ।

साँझ छोरो स्कूलबाट फर्क्यो । पहिलोपटक बा रिसाएको देखेर उसलाई अलिकति डर त लागेको थियो । र पनि, बा छेउ गएर सोध्यो – ‘बा, आमालाई कहिले निको हुन्छ?’

यसपटक उसले बाको उत्तर पाएन ।

निर्मली बिस्तारै उठेर घरभित्रको काममा सघाउन थाली । केही दिनदेखि जीतकाजीको अस्वभाविक व्यवहार देखेर एकदिन निर्मलीले सोधी – ‘आजभोलि तपाईंलाई के भएको छ?’

‘चोखिन खोज्छेस्?’, जीतकाजीले केही दिनदेखि सँगालेर राखेको रिस एकै स्वासमा घोप्टायो ।

निर्मली झस्किई । अझै पनि उसलाई टाइफाइडले गलाएकै थियो ।

जीतकाजी र निर्मलीले बिहे गरेको नौ वर्षमा उसले पहिलोपटक यति चर्को स्वभाव देखाएको थियो जीतकाजीले । निर्मली बिस्तारै निको हुँदै थिई । जीतकाजी भित्रभित्रै बिरामी भइसकेको थियो ।

गाउँलेका अगाडि असल बूढाबूढी भएका जीतकाजी र निर्मलीले घरभित्रको समस्यालाई बाहिर लैजान पनि चाहेनन् । आफ्नो सम्बन्धको चर्चा जुन रुपमा चल्दै आएको छ, त्यो चर्चा यथावत् रहोस् भन्ने उनीहरु चाहन्थे । दुवैजना ।

तर, कण्डमको खोलले यति ठूलो दरार ल्याइसकेको थियो कि, यी दुई जोडी एउटै घरभित्र त अटिरहेका थिए तर सम्बन्ध धेरै दूर बस्ने कुनै अपरिचित व्यक्तिसँगको जस्तो थियो । निर्मलीले कहिलेकाहीं सोच्थी – ‘मैले त्यस्तो के गरें र? किन उहाँलाई छोराको पनि मतलब हुन छोड्यो?’

समय बित्दै गयो । जीतकाजी र निर्मलीको सम्बन्ध दूधझैं फाट्दै गयो । निर्मलीले घरको समस्या पार होस् भनेर भगवान् पुज्न थाली । उसलाई जीतकाजी किन रिसाइरहेको छ भन्ने समेत थाहा थिएन । कतिपटक उसले सोध्न पनि खोजेकी हो । तर जीतकाजीले जवाफ फर्काएन ।

जीतकाजीको आदत दिनदिनै फेरिँदै गएको थियो । रक्सीको नशामा राति अबेर घरमा आउन थालेको थियो ऊ ।

जीतकाजी मुर्मुरिन्थ्यो – मैले मात्र मेरी स्वास्नीलाई राम्री देखेको होइन रैछु ।

निर्मलीले रुँदै सोध्थी – तपाईंलाई के भएको छ आजभोलि?

छोरो सागर एकोहोरे हुँदै गएको थियो । जीतकाजीलाई देख्यो कि, उसका आँखा तलतिर झुक्न थाल्थे । अनुहारमा डर पोतिन्थ्यो र आमातिर पुलुक्क हेर्थ्यो ।

***

हरेक रातजसो त्यो रात पनि जीतकाजी अबेर घरमा आयो । निर्मली र सागर खाना नखाइ जीतकाजीलाई कुरेर बसेका थिए । जीतकाजी ढोका छेउमा उभिएर धेरैबेर रक्सीले टिल्ल परेका आँखाले निर्मली र छोरोलाई हेर्‍यो । त्यसपछि उसले छोराकै अगाडि भन्यो – मैले खाटमा कण्डमको खोल भेट्टाएँ ।

निर्मली डराई । एकछिन उसको दिमाग पूरै शून्यमा झर्‍यो । वातावरण पूरै सुनसान र चकमन्न भयो । उसले पुलुक्क छोरालाई हेरी । र, चिच्याएर रोई ।

‘नाटक नपार् ।’, जीतकाजी लर्बराउँदै बोल्यो ।

निर्मलीले जीतकाजीको समस्या त पाई तर समस्याको समाधान पाइन । ऊसँग बोल्ने कुनै शब्द पनि त थिएन त्यतिबेला ।
‘कोसँग पल्केकी थिइस्? किन मुख खोल्दिनस्?’ – जीतकाजी बोल्न खोजिरहेको थियो ।

‘तपाईंलाई कसरी सम्झाऊँ? किन यस्तो पाप सोच्नुहुन्छ, छोरो छ काखमा ।’, निर्मलीले आफ्नो छोरातिर हेरी र आँसुकै लयमा एक वाक्य बोली ।
उसले त्यतिबेला स्कूल छेउको मन्दिर याद गरी । त्यहाँको मूर्तिलाई सम्झेर मनमनै बोली – ‘उहाँलाई पाप नलागोस् ।’

त्यसपछि आँसु पुछी । जुरुक्क उठेर आँगनमा निस्की ।

बाहिर पूरै सुनसान थियो । मसानघाट जस्तो । त्यतिबेला उसलाई त्यो वातावरण यति न्यास्रो लाग्यो कि, उसले मनमनै सोचिरहेकी थिई, ‘मलाई लिन काल आउँदैछ हो?’

फेरि अर्कोपटक उसलाई आफ्नो घरको आँगनबाट स्याल झैं चिच्याएर रुन मन थियो । तर उसको आँखा वरिपरि छोराको अथाह अन्यौलता नाच्न थाल्यो ।

***

दुई हिउँद बिते । दुई बर्खा । सागर सातमा पुग्यो । पछिल्ला वर्षहरुमा सागरको स्वभाव उल्टो हुँदै गएको थियो । गाउँमा कसैले केही बोलिहाल्यो भने ढुंगाले हिर्काइदिन्थ्यो । उसले बोलेको एउटा वाक्य फिल्टर गर्ने हो भने आधाभन्दा बढी सेन्सर लाग्ने शब्द बोलिएका हुन्थे । ‘देउताजस्तो छोरो कसरी यति मूर्ख बन्यो?’, गाउँलेले लख काट्थे ।

एउटा कण्डमको खोलले जीतकाजीको आँखामा खुर्सानीको धूलो छरिएझैं भएको थियो । उसका आँखामात्र होइन, मन पनि उस्तै पिरो थियो ।

त्यस दिनदेखि जीतकाजीले कहिल्यै निर्मलीको कुरा सुनेन । रक्सी नखाँदा बोलेन, रक्सी खाएको बेला निर्मलीलाई बोल्न दिएन ।
जीतकाजीले बेलाबेलामा सोच्ने गर्थ्यो – ‘यो मेरो छोरो नहुन पनि सक्छ ।’

घरभित्र भएको यत्रो अणु बम विस्फोटका बारेमा गाउँले जानकार थिएनन् । जीतकाजीको परिवार चाहन्थ्यो, ‘घरको इज्जत घरमै रहोस् ।’
खासै घरमा नबस्ने जीतकाजी घर त बस्थ्यो तर उसलाई घरमा कोही छैनन् जस्तो लाग्थ्यो । गाउँतिर त निस्किन्थ्यो तर सबैले गिज्याइरहेका छन् झैं लाग्थ्यो उसलाई । छोरासँग पनि राम्ररी बोलेको थिएन । उसको स्वभाव फुस्रो हुँदै गएको थियो ।

समस्या न लम्बियो, न साम्य भयो । दिन र रात दुवै अँध्यारा थिए दुवैका ।

एकदिन खाना पस्किँदै गर्दा निर्मलाले कुरा सुनाउने साहस जुटाई । घर लभभग मसानघाट भइसकेको थियो । त्यहाँ कुनै संवेदना थिएन । भावना थिएन ।

‘तपाईं शंकै शंकाले घर सक्नुभयो ।’ – निर्मलीले जीतकाजीको थालमा खाना थपी र कसौँडीमा हेर्दै भनी ।

जीतकाजीले सधैझैं नसुनेझैं गर्‍यो यसपालि पनि ।
‘अब मलाई तपाईंको आशा पनि छैन ।’, निर्मलीका परेली भिजिसकेका थिए ।

जीतकाजीले एक गाँस भात मुखमा हाल्यो र कुरा सुनिरह्यो । अब उसको शक्ति पनि क्षीण बन्दै गइरहेको थियो ।

‘छोडपत्र गरौं, तर छोरो मलाई दिनुस्’, निर्मलीले जीतकाजीको आँखामै हेरेर भनी, ‘योभन्दा धेरै पाप थेग्न सक्दिन मैले ।’
खाना खाँदै गरेको सागर उठेर गयो । निर्मलीका आँसु भुइँमा खसे र भुइँ चिसो बनाए । सामुन्ने जीतकाजी मुढो बनेर बसिरहेको थियो ।

‘खाटमुनि भेटिएको ढालको कुरा सुन्नुभयो तर मेरो कुरा सुन्नुभएन, तपाईं त मेरो भगवान् हुनुहुन्छ, यस्तो पाप त मैले पनि त सोच्न सक्थें ।’, निर्मलीको आवाज रोकियो ।

‘भोलि म बिरामी भएँ भने त मारेर फालिदिनु हुन्छ ।’, यतिबेला वाक्य भन्दा धेरै हिँक्क हिँक्क धेरै सुनिएको थियो निर्मलीको बोलीमा ।

अहँ! जीतकाजी एक शब्द पनि बोलेन । तर ऊ पनि रोएको थियो । उसका दुवै आँखाबाट केही थोपा आँसु चुहिएर थालमा खसेका थिए ।

आज वर्षौंपछि यी दुई एकसाथ रोएका थिए । खानाको भाग छोडेर सुत्न गइसकेको छोरो सागर पनि शायद त्यही बेला रोएको हुँदो हो । किनकि, बा–आमाको कारण उसले धेरैपटक रुनुपरेको छ ।

‘राम्ररी बस्नुहोला, समयमा खानुहोला, गाईवस्तुको पनि ख्याल गर्नुहोला ।’, निर्मलीले आँसु रोक्न खोज्दै भनी ।

‘भोलि भाले नबास्दै जान्छु, मानेछ भने छोरालाई पनि लैजान्छु’, उसले आफूतिर हेर्दै नहेरेको जीतकाजीतिर भएभरको माया देखाएर भनी, ‘गाउँतिर कसैले सोधे भने माइत गएकी छे भन्दिनुहोला ।’

जीतकाजीले पस्केको भात हेरिरहेको थियो । निर्मली उठी र सुत्न गई ।

निर्मलीले जीतकाजी सुत्ने खाटलाई धेरैबेरसम्म हेरी । बिस्ताराको छेउमा झुण्डाइएका कपडालाई छोई । र, अर्को कोठामा सुत्न गई ।

***

आमाको छेउमा छोरो सुतिरहेको थियो । राति एघार बजेतिर छोरोलाई बोलाई – ‘बाबु मसँग जान्छस् त?’
छोरो अझै निदाएको थिएन । उसका आँखा सुन्निएका थिए ।

निर्मलीले किन रोएको? किन नसुतेको? यस्तो केही भनिन । उसले फेरि सोधी – ‘जान्छस् त बाबु?’
छोरोले आमालाई धेरै बेरसम्म हेरिरह्यो । एकछिनपछि भन्यो – ‘आमा, बा घरमा एक्लै बस्न सक्नुहुन्छ?’

निर्मली मौन बसी । जसरी वषौंदेखि मौन बस्दै आइरहेकी छे । उसलाई भुटो छ । भोलि भालेको डाँकोभन्दा अघि नै उसलाई गाउँ छोडिसक्नुपर्ने छ ।

***

घाम क्षितिजभन्दा केही माथि आएपछि जीतकाजीको निद्रा खुल्यो । बाख्रा खोरमा कराइरहेका थिए । गोठमा भैंसी कराएको सुनिरह्यो उसले । आँखा मिच्दै उठ्यो र छोरालाई बोलायो – सागर ।

सागर आमासँगै गएको थियो र यतिबेला उनीहरुले शायद हाँडी गाउँ पनि काटिसकेका हुँदा हुन् । जीतकाजीले यसमा कुनै टाउको दुखाएन । गोठको काम भ्यायो । खै ! किन हो, उसले आज घरलाई पूरै खुला र स्वतन्त्र सुख्खा मरुभूमिजस्तो देखिरहेको थियो । उसलाई लाग्यो – निर्मली र छोरो सागर पनि कुनै मरुभूमिमा हिँडिरहेका छन् । जीतकाजीले बोलाउँछ कि भनेर घरीघरी पछाडि फर्केर हेर्छन् ।

लगत्तै उसले त्यो समय सम्झ्यो, जुन बेला उसले प्रेमका खातिर निर्मली भागेर आएकी थिई । माइतीसँग उसको खासै राम्रो सम्बन्ध थिएन ।
‘किन मैले माफी माग्ने मौका दिइन?’, जीतकाजीले सोच्यो । त्यसपछि खाना पकाउनतिर लाग्यो ।

***

साँझतिर ।

घरको काम एक्लै सकेर जीतकाजी गाउँतिर निस्क्यो । सिधै भट्टीमा पुग्यो । निर्मलीले गाउँ छोडी भन्ने हल्ला चारैतिर हावाझैं फैलिसकेको थियो ।
जीतकाजीले दुई गिलास लोकल कोदोको रक्सी तुनुक्कै पा¥यो । आज अरु साथीहरु उसलाई साथ दिन आएनन् । तर छेउमा निन्याउरो मुख बनाएर रमेश बसिरहेको थियो । रमेश, जसलाई जीतकाजीले हलो जोत्न सिकाएको थियो । केटाकेटीमा गुच्चा सापटी दिन्थ्यो उसलाई ।
जीतकाजी त्यो दिन बोल्दै बोलेन ।

‘मैले त कहिलेकाहीं ठाकठुक परोस् भनेर बिरामी भाउजू भेट्न जाँदा ढालको खोल खाटमुनि फालेको थिएँ, तैंले त घरबाट निकालिस् है?’, रमेशले थोरै पश्चाताप र थोरै नशाको स्वरमा बोल्यो ।

एक्कासी जीतकाजीको रक्सी उत्रियो । तर, ऊ अझैपनि केही बोलेन ।

‘हो भन्या, खोल भाउजूले भेट्नुहोला र तँसँग निहुँ खोज्नुहोला भन्ने लाग्या थ्यो, तेरो कुराले घरमा मेरो घरमा बूढी कचकच गर्थी ।’, उसलाई नशाले पटक्कै छोडेको थिएन ।

जीतकाजी जुरुक्क उठ्यो । सामुन्ने बसेर आफूसँग कुरा गरिरहेको रमेशलाई एक चड्कन हान्यो । त्यसपछि निस्कियो ।
उसका आँखा रुझेका थिए । पक्कै ती ग्लानिका आँसु थिए ।

जीतकाजी रन्थनिँदै घर गयो । एकपटक आफ्नो घर वरिपरि घुम्यो । घरसँग माफी माग्यो । ऊ दगुर्दै सुत्ने कोठामा पुग्यो । सिरानीमा भएको मोबाइलमा कुनै फोन आएको थिएन । निर्मलीले पनि आफ्नो मोबाइल त्यहीं छोडेर गएकी थिई । जीतकाजीका आँखाबाट झण्डै पचास थोपा आँसु चुहिए । र खुट्टामा भिजाए ।

लगत्तै उसले हातमा टर्च लियो । र, निर्मलीलाई खोज्न निस्कियो । त्यतिबेला उसलाई निर्मली कहाँ छे भन्ने थाहा थिएन तर माइत गएकी छैन भन्ने थाहा थियो ।

कलाकारिता.comबाट

१३ फाल्गुन २०७४ मा प्रकाशित
Nabintech