कोहलपुर नगरपालिकाकाद्वारा शिक्षा नियमावली पारित

पिपलबाेट संवाददाता


कोहलपुर, फागुन १५
बाँकेको कोहलपुर नगरपालिकाले संविधानले दिएको अधिकारको प्रयोग गर्दै कोहलपुर नगरपालिका भित्रको शैक्षिक विकासका लागि कोहलपुर नगर शिक्षा नियमावली २०७४ पारित गरेको छ । कोहलपुर नगर कार्यपालिकाको सोमबार बसेको १९ औं पूर्ण बैठकले कोहलपुर नगर शिक्षा नियमावली पारित गरेको मंगलबार पत्रकार सम्मेलन गरि कोहलपुर नगरपालिका प्रवत्ता माधव रिजालले बताएका छन् । कोहलपुर क्षेत्रका सामूदायिक र संस्थागत विद्यालयको शैक्षिक विकास लागि शिक्षा नियमावली पारित गरिएको र केहि दिन भित्र शिक्षा नियमावली सार्वजनिक गरिने उनले बताएका छन् ।त्यस्तै सो बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको पत्रकार सम्मेलनमा प्रवक्ता रिजालले जानकारी दिएका छन् ।


मेयर कप फुटबल प्रतियोगिता हुने
कोहलपुर नगरपालिकाले फागुन मसान्त भित्र प्रथम मेयर कप फुटबल प्रतियोगिता गरिने जाईएको छ भने चैत्र दोस्रो साता प्रथम उपमेयर कम महिला क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै कोहलपुर नगरपालिका भित्र स्थापना भएका तर हाल सञ्चालनमा नआएका बाल विकास केन्द्रलाई हाल सञ्चालनमा आईरहेका बाल विकास केन्द्रमा समायोजन गर्ने, नेपाल रेडक्रस सोसाईटी शाखा कोहलपुरबाट प्राप्त विपद् व्यवस्थापन सम्बन्धि आर्थिक तथा प्राविधिक प्रस्तावमा स्वीकृत गर्ने, नगर विद्यालय सहयोग कार्यक्रम तर्फको बजेट ३२ लाख बाँडफाँड गर्ने, लक्ष्मी मावि कोहलपुर–२ बर्दहवाको जग्गा सट्टा पट्टाको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णयहरु गरिएको छ ।
सञ्चार ग्रामका लागि जग्गा उपलब्ध
साथै सो बैठकले कोहलपुर सञ्चार ग्रामको लागि कोहलपुर–२ स्थित ईन्द्रेणी चोक गोरखा बोडिङ्ग जाने बाटो खानेपानीको पुरानो बोडिङ्ग भएको ठाउँमा एक कठ्ठा जग्गा उपलब्ध गराउने, राष्ट्रिय क्षयरोगकेन्द्र (प्रादेशिक रेफर सेन्टर)को लागि कोहलपुर–२ सिटिइभिटिको दक्षिण पट्टिको खाली जग्गा, क्षेत्रिय निर्वाचन कार्यालयको लागि कोहलपुर–११ लोकनगरको ५ कठ्ठा जमिन, भेरी अञ्चन यातायात व्यवस्था कार्यालयको लागि कोहलपुर–२ हाल ट्रायल सेन्टर रहेको तारबार गरेको जग्गा, त्रिभुवन विश्वविद्यालय मध्यपश्चिम क्षेत्रिय परिक्षा नियन्त्रण कार्यालयको लागि कोहलपुर–२ रहेको कर्णाली बेसिन जलवायुको उत्तर तर्फ अन्दाजी ३ कठ्ठा जमिन उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता रिजाले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
नगरको दोस्रो सभा चैत्रमा
कोहलपुर नगरपालिकाको दोस्रो नगर सभा यहि चैत्र पहिलो सातमा सम्पन्न गर्ने, वातावरण तथा विपद् व्यवस्थापन तर्फको कार्यक्रममा पार्क निर्माणको लागि २ लाख विनियोजित भएकोमा उक्त रकमबाट सृजना सामुदायिक वनको भ्यू टावरको पार्कलाई प्रर्वद्वन गर्ने लगायतका निर्णयहरु गरिएको छ ।
कोहलपुरलाई आर्थिक रुपमा समृद्वि बनाउका लागि सबैक्षेत्रको साथ र सहयोगको कोहलपुर नगरपालिकाले अपेक्षा गरिएको कोहलपुर नगरपालिका उपमेयर सञ्जु कुमारी चौधरीले बताएकी छिन् । पाँच वर्ष भित्र कोहलपुरलाई नेपालको नमूना नगरपालिका बनाउनका लागि महत्वपूर्ण कार्यक्रमहरुलाई प्राथमिकतादिने उनले बताईन् ।

१५ फाल्गुन २०७४ मा प्रकाशित
Nabintech