कम्युनिस्टको हावाहुरीले केही हाँगा भाँच्चिँदैमा कांग्रेस मर्दैन : प्रवक्ता शर्मा

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका लागि सुध्रिने सुनौलो अवसर आएको बताएका छन्।

नेपाल शिक्षक संघको २९औं प्रतिनिधिसभालाई सम्बोधन गर्दै शर्माले प्रतिपक्षमा बसेर बिग्रेको कांग्रेस सुधार्ने अहिले नै सबैभन्दा राम्रो अवसर रहेको बताए।

मदन भण्डारीको जनताको बहुदलीय जनवाद आत्मसात गरेको नेकपा (एमाले) ले भण्डारीको निधन भएको २५ वर्षपछि उनको विचारलाई समेत मारेको आरोप लगाए।

एकपटक चुनाव हार्दैमा नआत्तिन कांग्रेस कार्यकर्तालाई आग्रह गर्दै शर्माले भने, ‘पात झर्दैमा रुख सुक्दैन, नआत्तिनुस्, लोकप्रियताका लागि कम्युनिस्टहरूले नारा मात्रै बेचेका हुन्, उनीहरूको नारा लगाउनु र काम गर्नुको अन्तर अब थाहा पाउँछौं।’
अहिले कम्युनिस्टको आँधीहूरी आएको भन्दै शर्माले केही हाँगा भाँच्चिँदैमा कांग्रेस नमर्ने बताए। काँग्रेस कार्यकर्तालाई रुखको जरा बनेर अडिग रहन उनले आग्रह समेत गरे।

प्रधानमन्त्री जस्तो व्यक्तिले हरेक कुरालाई हल्का टिप्पणी गर्ने गरेको भन्दै शर्माले प्रधानमन्त्रीलाई जिम्मेवार भएर बोल्न आग्रह गरे।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए। (रासस)

२० जेष्ठ २०७५ मा प्रकाशित
Nabintech