इतिहास दोहोर्‍याउने लक्ष्यमा डिफेन्डिङ च्याम्पियन जर्मनी

पिपलबाेट संवाददाता


सन् २००२ यता जर्मनीले विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। पछिल्ला चार विश्वकपमा जर्मनीले २ पटक फाइनलमा स्थान बनाउदा २ पटक अन्तिम चारको यात्रा गरेको छ। गत संस्करणको फाइनलमा त जर्मनीले अर्जेन्टिनालाई हराउँदै चौथो पटक उपाधि जित्यो।

डिफेन्डिङ च्याम्पियन जर्मनी जेठ ३१ बाट सुरु हुने २१औं संस्करणको विश्वकपमा इतिहास बनाउने लक्ष्यका साथ मैदान उत्रदैछ। उपाधि जितेमा जर्मनीले सन् १९६२ पछि लगातार दोस्रो पटक उपाधि जित्ने रेकर्ड बनाउनेछ। ब्राजिलले सन् १९५८ र १९६२ मा गरी लगातार दुई पटक विश्वकप जितेपछि कुनैपनि टिमले विश्वकपको उपाधि लगातार दोस्रो पटक जित्न सकेका छैनन्।

हाल फिफा वरीयताको पहिलो स्थानमा रहेको जर्मनीले विश्वकपको युरोप छनोटमा सवै १० खेल नै जितेको थियो। छनोटका दौरान उसले ४३ गोल गरेर कीर्तिमान समेत बनाएको थियो।  विश्वकप छनोटपछि खेलेका कुनै पनि खेलमा जित निकाल्नु नसक्नु उसका लागि चिन्ताको विषय बनेको हो। छनोट भएपछि जर्मनीलाई इंग्ल्यान्ड, फ्रान्स र स्पेनले बराबरीमा रोकेका थिए। यस्तै ब्राजिलसँग १–० गोलले पराजित हुँदा जर्मनीको २२ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको थियो। पछिल्लो पटक विश्वकपको वार्मअप खेलमा जर्मनीलाई अस्ट्रियाले २–१ गोलले हराएको थियो।

तरपनि प्रशिक्षक जोचिम लो उपाधि रक्षा गर्दै इतिहास बनाउनेमा ढुक्क छन्। मिडफिल्डर टोनी क्रुस भने जर्मन टिमले धेरै सुधार गर्नु पर्ने तर्क गर्छन्।  ‘हामीले पछिल्लो समय जति राम्रो खेल्न पर्ने हो त्यो खेल्न सकिरहेका छैनौ,’ मिडफिल्डर क्रुस भन्छन्, ‘हामीले धेरै कुरा सुधार गर्नुपर्छ। ‘ प्रशिक्षक लो जर्मन टिमले चिन्ता मान्न नपर्ने ठान्छन्। ‘मलाई चिन्ता लागेको छैन। हामीले सन् २०१४ र २०१० को विश्वकपअघि पनि हार बेहोरेका थियौं,’ उनी भन्छन्, ‘हामीले खेल सुधार गर्नेछौं। तपाईंहरु ढुक्क हुनुहोस्।’

जर्मनी रसिया विश्वकपमा समूह ‘एफ’ मा छ। जहाँ जर्मनीले समूह चरणमा मेक्सिको, स्विडेन र दक्षिण कोरियासँग खेल्नेछ। जर्मनीले पहिलो खेल जुन १७ मा मेक्सिकोसँग खेल्नेछ भने दोस्रो खेल जुन २३ मा स्विडेनसँग छ। चार दिनपछि समूह चरणको अन्तिम खेलमा जर्मनीले कोरियासँग प्रतिस्पर्धा गर्नेछ।

जर्मनीका प्रशिक्षक सन् २००६ देखि राष्ट्रिय टिममा आवद्ध छन्। उनी २००६ मा सहायक प्रशिक्षक थिए। त्यसबखत घरेलु मैदानमा भएको विश्वकपमा जर्मनीले तेस्रो स्थान हात पारेको थियो।

लो सन् २००८ को युरो च्याम्पियनसिपमा पनि जर्मन टिममा रहे। जर्मनीले फाइनल यात्रा तय गरेको थियो। सन् २०१० को विश्वकपमा मा जर्मनीले तेस्रो स्थान हात पार्दा पनि लोको प्रभावकारी भूमिका थियो। २०१२ को युरो कपमा पनि जर्मनीले सेमिफाइनल यात्रा तय गरेको थियो। तरपनि जर्मनी सफल हुन सकेन। अन्तत: जर्मनीले २०१४ को विश्वकप जित्न सफल भयो।

युरो २०१६ जर्मनी सेमिफाइनलबाटै बाहिरियो। गतवर्ष भएको फिफा कन्फेडेरेसन कपमा जर्मनीले बलियो उपस्थिति देखायो। युवा खेलाडीले भरिएको जर्मनीले उपाधि जितेर विश्वकपका लागि दाबेदारी प्रस्तुत गरिसकेको थियो। प्रशिक्षक लोले गत वर्ष युवा खेलाडीले विश्वास गर्दा जर्मनीले सानदार प्रदर्शन गरेको थियो। रसिया विश्वकपका लागि घोषणा गरिएको २३ सदस्यीय टिममा पनि युवामाथि विश्वास गरिएको छ।

जर्मनीका लागि अहिले टाउको दुखाई भनेको पहिलो रोजाइका गोलकिपर तथा कप्तान म्यानुयल नेउर फर्ममा हुन्छन् वा फिट हुन्छन् वा हुन्नन् भन्ने छ। यद्यपी उनले अस्ट्रिया विरुद्धको मैत्रीपूर्ण खेलमा टिमबाट खेलिसकेका छन्। वायर्न म्युनिखका गोलकिपर नेउर गत सेप्टेम्बरमा अभ्यासका क्रममा घाइते भएका थिए। उनको देब्रे खुट्टा भाँचिएको थियो। त्यसपछि उनी यहि साता पहिलो पटक मैदान उत्रिएका थिए।

नेउर फिट नभएका बार्सिलोनाबाट व्यावसायिक खेल खेल्ने मार्क आन्द्रे टेर स्टेगेन उत्तम विकल्प हुन सक्छन्। उनले कन्फेडेरेसन कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

जर्मनीका भरपर्दा डिफेन्डर जेरोमी बोएटिङ पनि फर्ममा फर्कन संघर्ष गरिरहेका छन्। च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिड विरुद्धको खेलमा बोएटिङको तिघ्रामा चोट लागेको थिए। तर पनि उनी अन्तिम टिममा छन्। माट्स् हुमेल्स र जोसाउ किममिच राम्रो फर्ममा रछन्। जोनास हेक्टर अर्का प्रतिभाशाली डिफेन्डर हुन्।

जर्मन टिमको राम्रो पक्ष भनेको मिडफिल्ड हो। विश्वका उत्कृष्ट डिफेन्डर मध्येका एक टोनि क्रुस टिममा हुनु जर्मन टिमका लागि फाइदा हो। उनकै प्रभावमा जर्मनीले राम्रो नजिता निकाल्न सक्छ। यस्तै सामी खादिरा र मेसुट ओजिलले मिडफिल्ड बलियो बनाउनेछन्। उनीहरु फरवार्ड थोमस मुलर र मार्को रेउसलाई राम्रो साथ दिन सक्ने क्षमता भएका खेलाडी हुन्। जुलियन ड्राक्सलर, लियोन गोरेक्सा, इल्के गुन्डोगन, जुलियन बान्डट्, लियोन गोरेक्सा पनि मध्यपंक्तिमा जमेका खेलाडी हुन्।

२२ वर्षीय फरवार्ड टिमो वेर्नेर उत्कृषट लयमा छन्। उनले गत सिजन आरबी लेइपजिगबाट उत्कृष्ट खेल देखाएका थिए। उनले १२ अन्तर्राष्ट्रिय खेलमा ७ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। अनुभवी फरवार्डद्वय मारियो गोमेज र थोमस मुलरसँगै मार्को रेउसले जर्मनीको अग्रपंक्ति सम्हाल्नेछन्।

जर्मन टिम

गोलकिपर – म्यानुयल नेउर (वायर्न म्युनिख), मार्क आन्द्रे टेर स्टेगेन (बार्सिलोना), केभिन ट्राप (पिएसजी)।
डिफेन्डर जेरोमी बोएटेङ (वायर्न म्युनिख), माथियास जिन्टर (बोरुसिया मोचेन्ग्लाबाच), जोनास हेक्टर (कोलोङग्ने), माट्स् हुमेल्स (वायर्न म्युनिख), जोसाउ किममिच (वायर्न म्युनिख), मर्भिन प्लाटेनहार्ड (हेर्था वर्लिन), एन्टोनियो रुडिगर (चेल्सी), निक्लास सुले (वायर्न म्युनिख)।
मिडफिल्डर जुलियन बान्डट् (वायर लिभरकुजेन), जुलियन ड्राक्सलर (पिएसजी), लियोन गोरेक्सा (साल्के) इल्के गुन्डोगन (म्यानचेस्टर सिटी), सामि खादिरा (युभेन्ट्स), टोनी क्रुस (रियल म्याड्रिड), मेसुज ओजिल (आर्सनल), सेबास्टियन रुडी (वायर्न म्युनिख)।
स्ट्राइकर – मारियो गोमेज (स्टुगार्ट), थोमस मुलर (वायर्न म्युनिख), मार्को रेउस (बोरुसिया डर्टमुन्ड), टिमो वेर्नेर (आरबी लेइपजिग) ।

२१ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech