‘सरकारलाई ट्र्याकमा ल्याउन कांग्रेस सांसदहरु निदाउनु भएन’ : सिटौला

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वामपन्थी दलले बहुमतको दम्भमा जनभावना विपरीत कदम चालेको आरोप लगाएका छन्।

नेपाली विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै सिटौलाले जनभावना विपरीत चलेको कम्युनिस्ट सरकारलाई सही बाटोमा ल्याउने कार्यमा संसदमा कांग्रेस सांसदहरुको प्रस्तुति खासै नदेखिएको टिप्पणी गरे। ‘सरकारलाई ट्र्याकमा ल्याउन कांग्रेस सांसदहरु निदाउनु भएन’, उनले भने, ‘अहिले चुप लागेर बस्ने अवस्था छैन।’

नेता सिटौलाले सरकारले बालकृष्ण ढुंगेललाई कैद मिनाहा गरेकोमा पनि आपत्ति प्रकट गरे। पीडित पक्षसँग सुझाव समेत नलिई सरकारले ज्यान मार्ने घटनामा संलग्न ढुंगेलको कैद मिनाहा गरेको बताए। द्वन्द्वकालका पीडितलाई न्याय दिने विस्तृत शान्ति सम्झौताको सर्तलाई समेत खण्डित हुनेगरी सरकारले कैद माफी दिएको उनको भनाइ थियो।

नेपालमा कम्युनिष्टहरुको अधिनायकवाद र मनपरीतन्त्र चल्न नसक्ने जिकिर गर्दै उनले जनताले सत्ताको दबाब र जंगलको दबाब सहन नसक्ने सिटौलाको भनाई थियो । ‘‘नेपाल मर्दै जाने, तपाईं बढ्दै जाने ? त्यो समृद्धि हुँदैन,’’ पूर्वगृहमन्त्रीसमेत रहेका सिटौलाले भने, ‘‘दुई पार्टी मिल्दैमा, दुई पार्टीका मानिसहरुले फाइदा लिँदैमा नेपालले समृद्धिको अभियान तय गर्न सक्दैन ।’’

सोही कार्यक्रममा बोल्दै युवानेता प्रदिप पौडेलले नेपाली कांग्रेसले संसदमा सत्तपक्षले झैं नीति तथा कार्यक्रम र बजेटको स्वागत गरिरहेको आरोप लगाए । पौडेलले भने, ‘सत्तामा बस्दै आएकाले होला कांग्रेस अहिले पनि सरकारले ल्याएको नीति तथा कार्यक्रम बजेट पनि परर ताली बजाएर स्वागत गरेर बस्छ।’

कम्युनिष्ट सरकारले दुईतिहाईको बल देखाउँदै महंगी बढाइरहेको र जनतामाथि निर्मम प्रहार गरेको उनले बताए। यस्तो अवस्थामा कांग्रेसले सदनमा बलियो उपस्थिति जनाउन नसकेको उनको दाबी थियो। अन्तरार्ष्ट्रिय रुपमा मुल्य घट्दा नेपालमामात्र भाउ बढेको उल्लेख गर्दै उनले यो सरकार अधिनायकवादी भएर आएको आरोप लगाए।

कार्यक्रममा प्रतिनिधिसभाको चुनाव प्रचारका क्रममा उदयपुरमा बम विस्फोटका परी घाइते भएकी उदयसी बहुमुखी क्याम्पस कटारीका स्ववियु सभापति मिरा कटुवाललाई नेविसंघ अमेरिका शाखाले जुटाएको सहयोग रकम तीन लाख हस्तान्तरण गरिएको थियो।

२१ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech