जागिरको विज्ञापन गर्दै बेरोजगार युवा ठग्ने धन्दा, प्रहरीमा उजुरी नपुग्दा ठग्नेहरुको मनोबल बढ्दो

पिपलबाेट संवाददाता


बेरोजगार युवा कतै काममा अल्झिहाल्ने ध्याउन्नमा जागिरको खोजीमा भौंतारिरहेका हुन्छन्। यस क्रममा धेरै युवा दैनिक पत्रपत्रिका र इन्टरनेटमा प्रकाशित विज्ञापनहरुमा ‘चाहियो’ वा ‘आवश्यकता’ शीर्षक देख्नासाथै ध्यानमग्न बनिहाल्छन्।

पछिल्लो समय काठमाडौंसहितका मुख्य शहरमा बेरोजगार युवालाई लक्षित गर्दै ‘जब सेन्टर’ हरु खुल्ने क्रम बढेको छ्। फरक–फरक शैलीका विज्ञापन र पर्चा मार्फत बेरोजगारलाई प्रलोभनमा पार्ने तिनै रोजगारी केन्द्रले युवाहरुलाई ठग्ने प्रवृत्ति पछिल्लो समय मौलाएको छ।

‘तु. कर्मचारी आवश्यकता’, ‘बिनाअन्तर्वार्ता जबको ग्यारेन्टी’ जस्ता आकर्षक आह्वानसहितका पर्चा शहरका भित्तामा टाँस्नेदेखि सडकपेटीमा पैदलयात्रुलाई बाँड्नेसम्मका काममा त्यस्ता कम्पनीलाई भ्याइनभ्याई भइरहेको हुन्छ। अझ जागिर भरपर्दो देखाउने जुक्ति के रचिन्छ भने, त्यस्ता पर्चामा कामको प्रकार, आवश्यक कामदार संख्याका साथै तलब सुविधा पनि तोकिएको हुन्छ। पार्टटाइम, फुलटाइम तथा घरैमा बसीबसी २० हजारदेखि ५० हजारसम्म सजिलै कमाउन सकिने भनेपछि बेरोजगारहरु लोभिएर उनीहरुको सम्पर्कमा पुग्दा कुन बेला ठगिइसक्छन्, पत्तै हुँदैन।

रोजगारी दिने भनेर खोलिएका त्यस्ता रोजगारी केन्द्र खासमा बेरोजगारकै कारण मालामाल भइरहेका हुन्छन्। सडकका भित्ता र बिजुलीका पोलमा टाँसिने जागिरका विज्ञापन नपत्याउँदो रुपमा ठगी धन्दाको कारखाना बनिरहेका छन्। यस्तै पर्चा र विज्ञापनका आधारमा जागिरको खोजीमा भौंतारिरहेका शंकरदेव क्याम्पसमा एमबिएस अध्ययरत सुनसरीका महेन्द्र साह धेरैतिर गए पनि काम भने नपाएको बताउँछन्। पर्चामा उल्लेख गरिएको फोन नम्बरबाट जानकारी लिएर उनी पुरानो बानेश्वरस्थित एक ‘जब सेन्टर’मा जागिरको आसमा पुगे। तर, उनी गएको केहीबेरमै ठगिइसकेका थिए।

‘जब सेन्टर पुग्दा रिसेप्सनमा बसेकी एक युवतीले एउटा आवेदन भर्न लगाइन् र ३ सय रुपैयाँको रसिद काटेर पैसा लिइन्’, उनले सुनाए, ‘केही समयपछि यहाँबाट फोन आउँछ भन्ने आश्वासन लिएर फर्किए।’  केही दिनपछि रोजगारी केन्द्रबाट फोन त आयो, तर पर्चामा भने जस्तो नभई अर्कै काम भएको र तल सुविधा पनि कम रहेको प्रस्ताव आयो। त्यसपछि जागिरका नाममा आफैं ठगिएको भन्ने महसुस भएको साहको भनाइ छ।

आरआर क्यापसबाट बिए तेस्रो वर्षको परीक्षा दिएर कामको खोजीमा रहेका राजु गौतम पनि सडकमै बाँडिएको पर्चा हेरेर तीनकुनेस्थित ‘जब सेन्टर’ पुगे। उनीसँगै अरु ७ जना साथी पनि जागिरका लागि सँगै गएका थिए। सबैले जागिरको आवेदन भर्दै ५/५ सयका दरले रकम बुझाए।  केही दिनपछि गौतमलाई साहलाई जस्तै फोन आयो, आवेदनमा भरेकोभन्दा फरक काम र न्यून तलब।  ‘पहिले बताइएभन्दा बेग्लै काम र तलब छ भनेपछि कामदारको आवश्यकताबिनै विज्ञापन गरिएको रहेछ भनेर थाहा भइहाल्यो’, उनले भने।

धरान स्थायी घर भएकी सुनिता सुनुवारले पनि दैनिक पत्रपत्रिकामा रोजगारीको विज्ञापन हेरेर जागिर पाइने आसमा धेरै ठाउँ चहारिन्। तर, नतिजा रोजगारी केन्द्रको भागमा मात्रै परेको सुनुवार बताउँछिन्।

‘अर्थात् जागिरको लागि आवेदन भर्न लगाएर पैसा लुट्ने काम मात्र भयो’, ठगिनुपर्दाको पीडा सुनाइन्, ‘उनीहरुले त रोजगारी खोज्न गएका युवासँग उल्टै पैसा असुलेर ठगीको व्यापार गर्दा रहेछन्।’

यसरी जागिरको खोजीमा रहेका साह, गौतम र सुनुवार जस्ता सयौं युवा दैनिक ठगिने गरेका छन्। सानो रकम ठगिने भएकाले उनीहरु उजुरी लिएर प्रहरीमा पुग्दैनन्। फलस्वरुप ठगी गर्नेहरुको मनोबल कायम रहेर यस्तो कार्यले निरन्तरता पाइरहेको देखिन्छ।

विज्ञापन हेरेर जागिरका लागि धाउने प्रत्येक युवालाई आवेदन भर्न लगाएर रोजगारी केन्द्रहरुले पैसा असुल्ने गरेका छन्। उनीहरुले बेरोजगार युवालाई ठगी खाने माध्यम बनाउँदै २ देखि ५ सयसम्म उठाएर कार्यालय चलाउँछन्। यति रकम धेरै व्यक्तिबाट उठाउँदा रोजगारी केन्द्रले मनग्गे जम्मा पार्ने गरेका छन्।

रोजगारीको आसमा जाने युवामाथि दैनिक खुलेआम ठगी भइरहे पनि यसप्रति कसैको ध्यान पुगेको छैन।

उपत्यकाभित्रै दैनिक ठगिन्छन् २ सयभन्दा बढी युवा

पत्रपत्रिकामा छापिएका, शहरका भित्ता र पोलमा टाँसिएका तथा बाटोमा बाँडिने विज्ञापन र पर्चाका आधारमा दैनिक २ सयभन्दा बढी युवा रोजगारी केन्द्रमा पुग्ने गरेका छन्। जागिर दिने पक्का ग्यारेन्टी भन्दै खुलेका यस्ता रोजगारी केन्द्र काठमाडौं उपत्यकाभित्र मात्रै करिब २ सयको संख्यामा छन्। एउटा कार्यालयमा अनुमानित रुपमा दैनिक करिब १० देखि १५ युवा पुग्ने गरेका छन्।

उनीहरुले आवेदन भरेको २ सयदेखि ५ सय र तालिमको नाममा न्यूनतम ३ हजार रुपैयाँ लिएर ठगिरहेका हुन्छन्। काम खोज्न गएका दक्ष युवालाई पनि तालिमपछि जागिरको ग्यारेन्टी भनेर उनीहरुले अलमलमा पार्ने गरेका छन्। जब सेन्टरमा काम खोज्न गएका युवाको सरदर संख्यालाई आधार मान्ने हो भने दैनिक यसरी हजारौं रुपैयाँ ठगी भइरहेको छ।

प्रहरी भन्छ– उजुरी नै आउँदैन

जागिर पाउने आसमा ठगिएका पीडितहरुको उजुरी प्रहरीसम्म पुग्दैन। जागिरको नाममा ठगिएको भनेर हालसम्म कसैले उजुरी नगरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। ‘सानो रकम भएकाले पनि प्रहरीसम्म उजुरी लिएर पीडित नआएको हुनसक्छ’, परिसरका प्रवक्ता मोहन प्रसाद थापाले बताए। यो विषयमा प्रहरीले अनुसन्धान गर्ने उनको भनाइ छ। यस्ता घटनाको उजुरी प्रहरीसम्म नपुग्दा ठगी गर्नेहरुको मनोबल थप बढेर अझै धेरै युवा पीडित हुने अवस्था देखिन्छ।

नेपाल लाइभबाट

२३ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech