‘सभामुखज्यू, तपाईं वा उपसभामुखमध्ये एकले राजीनामा दिए संसदीय व्यवस्था मिठो ढंगले अघि बढ्छ’

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसले सभामुख वा उपसभामुखमध्ये एकजनाको राजीनामा मागेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले संविधानले गरेको व्यवस्था अनुसार सभामुख वा उपसभामुखमध्ये एकजनाले राजीनामा गरेर संसदीय व्यवस्थालाई सम्मान गर्न माग गरेकी छन्।

संविधानमा सभामुख र उपसभामुख फरकफरक पार्टी र लिंगको हुनुपर्ने व्यवस्था छ। तत्कालिन माओवादी केन्द्रबाट सभामुखमा कृष्णबहादुर महरा र उपसभामुखमा तत्कालिन एमालेबाट डा. शिबमाया तुम्बाहाङफे निर्वाचित भएका थिए।

यी दुई पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी स्थापना भएपछि नेपाली कांग्रेसले सभामुख वा उपसभामुखको राजीनामा मागेको हो। सचेतक भुषालले तत्कालिन एमाले र माओवादी एउटै घोषणापत्र लिएर निर्वाचन गएको तर सरकार बनाउने बेला भने बहुमतका आधारमा सरकार गठन गरिएको बताइन्। उनले सभामुख वा उपसभामुखमध्ये एकजनाले राजीनामा दिएर त्यहाँ अर्को दलको व्यक्ति बस्यो भनेमात्र संसदीय अभ्यास राम्रोसँग अगाडि बढ्ने धारणा राखिन्। उनले भनिन्, ‘सत्तामा भएको दल भन्दा फरक दललाई उपसभामुख वा सभामुखको चेयरमा बस्यो भने मात्रै संसदीय अभ्यासको शक्ति सन्तुलनको अभ्यास मिठो ढंगले अगाडि बढ्छ।’

भुषालले निर्वाचन आयोगले दुवै दल एक भएको भनेर संवैधानिक रुपमा मान्यता दिएपछि एउटै पार्टीबाट नियुक्त भएका सभामुख र उपसभामुखमध्ये एकको तत्काल राजीनामा माग गरेकी हुन्।

२७ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech