कोहलपुर नगर विकासद्वारा अव्यवस्थित घरटहरा हटाईयो

पिपलबाेट संवाददाता


कोहलपुर, असार ५
बाँकेको कोहलपुर नगरविकास समितिले अव्यवस्थित बसोबास गरि बसेका अस्थायीघर, फुटपातका पसल लगायतका अन्य फलफुल नास्ताका ठेलाहरुलाई हटाएको छ । कोहलपुर नगरविकास समितिको जग्गा तथा कोहलपुरमा निर्माण गर्न लागिएको लामो दुरिको बासपार्क आसपासमा रहेका अस्थाई घरटहरा भत्काएको छ । कोहलपुर नगरविकास समितिले सूचना दिएर बस्ती खालि गर्न अनुरोध गर्दा पनि अटेर गरे पछि सोमबार (आज) डोजर लगाएर अस्थाई घरटहरा भत्काईएको कोहलपुर नगरविकास समितिका अध्यक्ष अवराज खड्काले बताएका छन् । कोहलपुरमा निर्माण हुन लागेको राष्ट्र बैंकको आसपासमा रहेका अस्थाई घरटहराहरु, न्यूरोडमा फुटपातमा व्यवसाय गर्दै आएका टहरा समेत भत्काईएको छ ।
कोहलपुर न्यूरोडमै ठेलामा नास्ता, फलफुल, जुस, फेन्सी पसल र अव्यवस्थित अन्य ठेलाहरु पनि खालि गरिएको छ । कोहलपुरलाई सुन्दर र नमूना शहरका रुपमा विकास गर्नका लागि अव्यवस्थित रुपमा व्यापार, व्यवसायी र बसोबास गर्दै आएका मानिसलाई हटाउन बाध्य भएको अध्यक्ष खड्काले बताउँछन् ।
कोहलपुर नगरविकास समितिले सूचना जारी गरेको तीन भएको र दुई दिन पानी परेको कारण अर्को ठाउँ जान नसकेको र आज साँझ सम्म ठाउँ खालि गर्ने सोच गरिरहेको बेला एक्कासी आएर डोजर लगाउनु तानाशाही प्रवित्ति भएको नयाँ निर्माण हुन लागेको बासपार्क आसपासमा बसोबास गर्दै आएकी दुर्गा रावतले बताईन् ।
सरकारी जग्गामा बस्ने रहर नभएर बाध्याता भएको भन्दै तत्काल आफुहरुको मागलाई सम्बोधन नगरे आन्दोल गर्ने चेतावनी सोही ठाउँमा बसोबास गर्दै आएका हर्क बहादुर बिकले बताएका छन् ।
कोहलपुर नगरपालिका, कोहलपुर नगरविकास समिति, कोहलपुर उद्योग वाणिज्य संघले पछिल्लो समयमा कोहलपुर चौराहा देखि न्यूरोड सम्म सडकका दाँया बाँया तर्फ फुटपातका व्यापार, व्यवसायी गरिरहेको अवस्थामा पटक–पटक खालि गरे पनि पुनः त्यहि ठाउँमा व्यवसायी गरिरहेको पाईन्छ । केहि समय अगाडि कोहलपुर चौराहालाई खालि गर्दा पनि डोजर लगाउनु परेको थियो ।
कोहलपुर नगरपालिका र कोहलपुर उद्योग वाणिज्य संघले फुटपातमा व्यवसायी गर्नेहरुलाई करको दायारामा ल्याउनका लागि फुटपात र झोले व्यवसायी बन्द गर्न लागि परेको कोहलपुर नगरपालिकाको कार्यालयले जनाएको छ । व्यापार व्यवसायी गर्ने व्यापारीहरुलाई करको दायारामा ल्याउनका लागि कोहलपुर उद्योग वाणिज्य संघले पनि पछिल्लो सयममा फुटपातका व्यवसायीहरुलाई सटर भाडामा लिएर व्यवसाय गर्न निर्देशन दिएको छ ।

५ असार २०७५ मा प्रकाशित
Nabintech