चेस प्रतियोगितामा रामजानकी र बागेश्वरी प्रथम

पिपलबाेट संवाददाता


कोहलपुर, असार ८

बाँकेको कोहलपुरमा शनिबार चेस र अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । प्याव्सन कोहलपुर नगर कमिटिको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा प्याव्सनमा आवद्व १९ वटा विद्यालय मध्ये १५ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए । चेस मावि÷निमावि तह र अंग्रेजी हिज्जे प्रावि तह तर्फको प्रतियोगिता सम्पन्न भएको थियो ।
चेस छात्र तर्फ राम जानकी माविका अशिम पौडेल प्रथम, बागेश्वरी एकेडेमीका अविषेक चन्द द्वितीय र दिप ज्योति विद्याश्रमका प्रेम केसी तृतीय भएको छ भने छात्रा तर्फ बागेश्वरी एकेडेमीका दुर्गा रेसमी मगर प्रथम, दिपज्योति मावि चिसापानीकी शिला वली द्वितीय र ग्रिन पिस माविकी निलम मैरिया तृतीय भएकी छिन् ।
त्यस्तै प्रावि हिज्जे तर्फ राम जानकी माविकका अनिष पौडेल र मनिशा शाही प्रथम, दीपज्योति विद्या निकेतनका विकास थापा क्षेत्री र पुष्पा राना क्षेत्री द्वितीय र सन्चुरी एजुकेन्सल एकेडेमीका मिलान विष्ठ र आयुभ चौधरी तृतीय भएका छन् ।
प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै कोहलपुर नगर शिक्षा शाखाका प्रमुख मन प्रसाद रेग्मीले विद्यार्थी भित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउनका लागि यस्ता प्रतियोगिताको आयोजना समय समयमा गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै प्याब्सन केन्द्रीय सदस्य डा. अर्जुन सिग्देलले पाठ्यक्रमले तोकेका विषयवस्तुसँग सँगै अतिरिक्त क्रियाकलापले बालबालिकाको सर्वाङ्गिक पक्षको विकास हुने बताए ।
विद्यार्थीहरु भित्र लुकेर रहेको क्षमतलाई बाहिर ल्याउनका लागि प्रतियोगिताको आयोजना गरिएको प्याब्सन कोहलपुरका अध्यक्ष यम रावतले बताएका छन् । कार्यक्रममा प्याव्सनमा आवद्व विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

८ असार २०७५ मा प्रकाशित
Nabintech