विवादका बिच कोहलपुरको तेस्रो नगरसभा सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरसभा विवादका बिच सम्पन्न भएको छ । असार १० गते प्रारम्भ भएकोह कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा बिहिबार सम्पन्न भएको छ । सभाले रु. ६८ करोड ८२ लाख ७२ हजार रकमको बजेट सहित विनियोजन विधेयक पारित गरेको छ । त्यस्तै सभाले आर्थिक वर्ष २०७५÷०७६ को निति तथा कार्यक्रम, कोहलपुर नगरपालिका कृषि ब्यवसाय प्रवद्र्धन विधेयक, कोहलपुर नगरपालिका विपद् जोखिम न्यूनिकरण तथा व्यवस्था गर्न बनेको विधेयक र अनाथ तथा जोखिमयुक्त वालवालिका सामाजिक सुरक्षा कार्यक्रम ऐन (संचालन कार्यविधि) २०७५ समेत पारित भएका छन ।
कसरी भयो विवाद
कोहलपुर नगरसभाको तेस्रो सभामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगर सभा अवरोध गरेका थिए । ‘महिला क्रिकेट हाम्रो शान, कोहलपुरको पहिचान अभियानलाई उपमेयर कप महिला क्रिकेट सञ्चालन गरिनेछ’ भनेर कोहलपुर नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएकोमा बजेटमा समावेश नगरेको भन्दै काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभामा विरोध जनाएपछि ५ घण्टा नगर सभा रोकिएको थियो । ५ घण्टा लामो छलफल पछि ‘महिला क्रिकेट हाम्रो शान, कोहलपुरको पहिचान अभियानलाई उपमेयर कप महिला क्रिकेट सञ्चालन गरिनेछ’ भन्ने कुरामा सहमति भएपछि नगरसभा सम्पन्न भएको छ ।
मेयर लुट बहादुर रावत र उपमेयर सञ्जु कुमारी चौरी र वडा अध्यक्षहरुको लामो छलफल पछि विवाद समाधान भए पछि नगरसभा सम्पन्न भएको हो ।
साथै बजेट विनियोजित गर्दा काँग्रेसका वडाहरुमा कम पारिएको र नीति तथा कार्यक्रममा समावेश गरेका योजनाहरुलाई बजेटमा समावेश नगरिएको भन्दै काँग्रेस सम्बद्व वडा अध्यक्षहरुले पनि विरोध जनाएका थिए । उपमेयर लगायत वडाअध्यक्षहरुले विरोध जनाएपछि मेयर रावतले नगरसभा स्थगित गरी छलफल गरी विवाद समाधान गरेका हुन् ।
त्यस्तै नगरसभा प्रारम्भ भएको मितिदेखि विषयगत समितिहरुले पेश गरेका र संघिय सरकारबाट सशर्त अनुदान प्राप्त हुने विभिन्न शिर्षकका बजेट तथा आन्तरिक राजश्वबाट प्राप्त हुने बजेटलाई समेत विनियोजन गरिने बिभिन्न शिर्षकहरु कार्यपालिकाका बैठकहरुमा छलफल हुँदै बिहिबारको नगरसभामा प्रस्तुत गरिएको थियो ।
बिहिबार सुरु भएको नगरसभाको शुन्य समयमा नगरसभाका विभिन्न सभासदहरुले निति कार्यक्रम, बजेट विनियोजन गरीएका शिर्षक, लक्षित वर्गका कार्यक्रम तथा केही सार्वजनिक महत्वका विषयहरुमा आ–आप्mनो धारणाहरु राखेका थिए ।

२१ असार २०७५ मा प्रकाशित
Nabintech