‘कोहलपुर व्यवस्थित शहर बनाउन जोड’

पिपलबाेट संवाददाता


कोहलपुर, साउन ११
बाँकेको कोहलपुरलाई नेपालकै व्यवस्थित शहरका रुपमा विकास गर्नु पर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । कोहलपुर उद्योग वाणिज्य संघद्वारा बिहीबार कोहलपुरमा आयोजित कोहलपुरको विकास र व्यवस्थापन विषयमा बृहत अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कोहलपुरलाई आधुनिक, नमूना र व्यवस्थित शहरका रुपमा विकास गर्नका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेने बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघले कोहलपुरको विकास र व्यवस्थापनका लागि यस क्षेत्रमा रहेका स्थानिय निकाय, सरकारी कार्यालय, विभिन्न संघ संस्था बिच सहकार्य गर्नका लागि २३ बुँदे कार्य पत्र प्रस्तुत गरेको थियो ।
कोहलपुर उद्योग वाणिज्य संघ र कोहलपुर नगरपालिका बिच सहकार्य भई सडक बक्ति बाल्ने, फोहर मैला व्यवस्थापन गर्ने र कोहलपुरको विकासका लागि साँझा धारण निर्माण गर्नुपर्ने, सडकको प्रयोग र व्यवस्थापनमा ध्यान दिने कुरा कार्यपत्रमा उल्लेख गरिएकोछ । त्यस्तै कोहलपुर नगरपालिकाको आवश्यक पर्ने ठाउँमा सडक बक्तिको व्यवस्थापन गर्नुपर्ने, फोहर मैला व्यवस्थापन गर्ने, विभिन्न महापुरुषहरुको नामबाट कोहलपुरका विभिन्न स्थानका चोकहरुको नामाकरण गर्नुपर्ने आवश्यकता रहेको पत्रमा जनाईएको छ ।
ट्राफिक प्रहरीसँग सहकार्य गरी कोहलपुर क्षेत्रमा सडक दुर्घटनाका घटनाहरु न्यूनिकरण गर्ने, कोहलपुर नगर भित्र साना ठुला उद्योगहरु सञ्चालनमा ल्याउनका लागि दर्ता प्रकृया, बिजुलीको आपूर्ति, कच्चा पदार्थको उपलब्धता, दक्ष जनशक्ति, उद्योग सञ्चालन गर्ने स्थानहरुको सहजरुपमा व्यवस्थापन, उत्पादित वस्तुहरुको विक्रि वितरणका लागि बजारको व्यवस्था भण्डारणका लागि उपयुक्त गोदाम, कोल्ड स्टोर यातायातको उचित प्रबन्ध गर्न सम्बन्धित निकायले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेको पत्रमा उल्लेख छ ।
साथै कार्यक्रममा ढल निकास सम्बन्धमा, पर्यटकिय पार्क तथा चिडियाखाना निर्माण, आकोश पुल निर्माण, बाँकेको अगैयामा रहेको मूर्दाघाटलाई व्यवस्थापन वा स्थानान्तरण गर्ने सम्बन्धमा, सुरक्षा व्यवस्था तथा सि.सि. क्यामेरा जडान सम्बन्धमा, स्वास्थ्य सेवा सम्बन्धमा, क्षेत्रिय स्तरका कार्यालयहरु कोहलपुरमै राख्ने सम्बन्धमा छलफल भएको थियो । त्यस्तै गरी कोहलपुरमा सपिङ्गमल, डुडुवा खोला व्यवस्थापन तथा पार्क निर्माण, कोहलपुरमा औद्योगिक क्षेत्र निर्माण गर्ने र शिक्षा, कृषि सिचाई, खेलकुद सम्बन्धमा बृहत अन्र्तक्रिया भएको थियो ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले सम्पत्ति कर यो आर्थिक वर्षदेखि अनिवार्य रुपमा लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार नै लिन लागेको स्पष्ट पारे । सम्पत्ति कर जग्जा र जग्गामा बनेका सबै प्रकारका संरचनाहरुको एकिकृत कर हो भन्दै रावतले भौतिक संरचनाहरु नबनेको जग्गा मात्र छ भने त्यसको भूमिकर लाग्ने बताए । कोहलपुरलाई कस्तो बनाउने भन्ने कुनै रोडम्याप नगरपालिकाले बनाएको छ कि छैन भन्ने सहभागीहरुले उठाएको प्रश्नहरुको जवाफ दिदै प्रमुख रावतले भने, ‘कोहलपुर नगरपालिकाको एकिकृत शहरी विकास सम्बन्धी पाँच वर्षे, दश वर्षे र पन्ध्र वर्षे विकास योजना बनिरहेको र त्यो केन्द्रबाट शहरी विकास मन्त्रालयको शहरी विकास विभागले पहिलो डिपिआर तयार गरी एक चरणको छलफल समेत सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जु कुमारी थारुलेले कर तथा राजश्वका सम्बन्धी विषयमा प्रष्ट्याएकी थिइन् । त्यस्तै सडक, खानेपानी,विद्युत ,वाणिज्य संघ, इलाका प्रशासन , ट्राफिक प्रहरी, कोहलपुर नगरविकास समितिका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्ना कार्यालयको क्षेत्राधिकार भित्रका विषयमा उठेका प्रश्नहरुका जवाफ दिएका थिए ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुुर नगरविकास अध्यक्ष अवराज खड्का, नेकपा नेता सूर्य ढकाल, नेपाली काँग्रेसका माधवराम खत्री, राप्रपा नेपालका हिक्मत ढकाल, कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, समाजसेवी, शिक्षा प्रेमी लगायत उद्योगि व्यापारीहरुको सहभागिता रहेको थियो ।

११ श्रावण २०७५ मा प्रकाशित
Nabintech