जिल्ला सहकारी संघ बाँकेले सहकारी दिवस भव्य रुपमा मनाउँदै

पिपलबाेट संवाददाता


जिल्ला सहकारी संघ लि. बाँके ६२ औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाउने विषयमा विषगत जिल्ला सहकारी संघ तथा सहकारीकर्मीहरुसँग आज छलफल गरेको छ । जिल्ला सहकारी संघ लि.को सभाहलमा भएको छलफलबाट बाँके जिल्लामा रहेका सहकारी संस्थाहरुले ६२ औं राष्ट्रिय सहकारी दिवसलाई विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने निर्णय गरिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले ६२ औं राष्ट्रिय दिवसको अवसर पारी विभिन्न कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिँदै विभिन्न कार्यक्रमहरुलाई भव्य रुपमा सम्पन्न गर्नका लागि सबै सहकारीकर्मीहरु सक्रिय भएर लाग्न सुझाव दिएका छन् ।
६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकामा चैत्र १६ गते नेपालगञ्ज उपमहानगरपालिका सहकारी सञ्जार र जिल्ला बचत तथा ऋण सहकारी संघको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । त्यस्तै कोहलपुर नगरपालिकामा चैत्र ११ गते कोहलपुर नगरपालिका सहकारी सञ्जाल तथा साना किसान जिल्ला कृषि सहकारी संघको सहकार्यमा, बैजनाथ गाउँपालिकामा चैत्र १२ गते बैजनाथ गाउँपालिका सहकारी सञ्जालको आयोजनामा, राप्तीसोनारी गाउँपालिकामा चैत्र १३ गते राप्तीसोनारी गाउँपालिका सहकारी सञ्जालको आयोजनामा र खजुरा गाउँपालिकामा चैत्र १४ गते खजुरा गाउँपालिका सहकारी सञ्जाल र जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.को सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । त्यस्तै स्थानिय निकायका प्रमुख, उप्रमुख र सहकारी शाखा प्रमुखहरुसँग अन्र्तक्रिया कार्यक्रम गर्ने र दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिका विषयक चैत्र १७ र १८ गते दुई दिने कार्यशालाको आयोजना गर्ने निर्णय गरिएको जिल्ला सहकारी संघ बाँकेका प्रबन्धक निर्देशक नवराज उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार दुई दिनसम्म सञ्चालन हुने दिगो विकास लक्ष्य प्राप्तिका लागि बाँके जिल्ला सहकारीका अध्यक्ष र व्यवस्थापक लगायत अन्य गरी करिब दुई सय जनाको सहभागिता रहनेछ ।
जिल्लामा ६२ औं राष्ट्रिय सहकारी दिवस मनाउनका लागि जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीको संयोजकत्वमा मुल आयोजक समारोह समिति गठन गरिएको छ । जसको सदस्यमा जिल्ला स्थित विभिन्न विषयगत सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक कोहलपुर शाखा, नेफ्स्कुन नेपालगञ्ज फिल्ड कार्यालय र जिल्ला स्थित सम्पूर्ण सहकारी सहकारी संस्थाका अध्यक्षहरु रहेका छन् । त्यस्तै सो अवसरमा जिल्लाभरिका उत्कृष्ट सहकारी तथा सहकारीकर्मीहरुलाई पुरस्कृतसमेत गरिने बताइएको छ ।

६ चैत्र २०७५ मा प्रकाशित
Nabintech