बागेश्वरी क्याम्पसमा नेविसंघको ४९ औं स्थापना दिवस मनायो

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाइ कार्य समितिले नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवस मनाएको छ । नेपाल विद्यार्थी संघ इकाई कार्य समितिले ४९ औं नेपाल विद्यार्थी संघको स्थापना दिवस तथा क्यालेण्डर सार्वजनिक कार्यक्रम आज सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु कुमारी चौधरीले नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै विद्यार्थीहरुले नेपालको शैक्षिक विकासमा सकरात्मक सोचको विकास गर्न आवश्यक रहेको बताईन् । साथै उनले बागेश्वरी बहुमुखी क्याम्पसको गुणस्तरीय शिक्षाका लागि स्थानिय सरकार सहकार्य गर्न तयार रहेको भन्दै क्याम्पसको शैक्षिक विकासका लागि सबै विद्यार्थी संगठनहरुले सहकार्य गर्नुपर्ने बताईन् । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यले वर्तमान केपी ओलि नेतृत्वको सरकारले विद्यार्थीहरुको आन्दोलनलाई संरक्षण गर्नुपर्ने बताएका छन् । विद्यार्थीहरुको साँझा संगठन स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन तत्काल गराउनुपर्ने माग गर्दै नेविसंघले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन माग गरेका छन् । कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस हुँदै गर्दा क्याम्पसका चुनौति र अवसर दुवै आईरहेको भन्दै क्याम्पसको विकास र गुणस्तरीय शिक्षाका लागि क्याम्पस प्रशासनले सबै विद्यार्थी संगठनहरुसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । कार्यक्रममा बोल्दै नेविसंघका यूवा नेता यज्ञ बहादुर महराले नेपालका तानाशाहका विरुद्ध संघर्ष गर्नका लागि नेविसंघको जन्म भएको भन्दै नेपाली जनताका अधिकार खोस्ने कुनै पनि तानाशाहलाई शासन गर्न नेविसंघले नदिने बताएका छन् । कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति टेकेन्द्र महताराले क्याम्पसमा नेविसंघले रचनात्मक कार्यहरु गर्दै जानुपर्ने भन्दै विद्यार्थीहरुका हक र अधिकारीका लागि संधै लड्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै विद्यार्थी नेता डिल्ली रावल र कमल शाहीले नेपाल विद्यार्थी संघ बागेश्वरी क्याम्पसको शैक्षिक विकास र रुपान्तरणका लागि सबै सँग सहकार्य गर्न तयार रहेको बताउँदै क्याम्पसमा तत्काल स्ववियू निर्वाचन गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई कार्य समितिका सभापति राम प्रसाद पाण्डेले नेविसंघले नेपालको राजनीतिक परिवर्तनमा धेरै बलिदान गरेको स्मरण गराउँदै बागेश्वरी क्याम्पसको गरिमालाई उच्च बनाउन नेविसंघ तयार रहेको बताएका छन् । साथै उनले नेविसंघले क्याम्पसमा रहेका सबै विद्यार्थीहरुसँग सहकार्य गरी सकरात्मक सोचको विकास गर्नुपर्ने बताएका छन् । त्यस्तै कार्यक्रममा नेपाल विद्यार्थी संघ इकाइ कार्य समितिले प्रकाशित गरेको क्यालेण्डरको सार्वजनिक गरिएको थियो भने कार्यक्रमको सहजिकरण इकाइ सचिव उपेन्द्र विष्टको रहेको थियो ।

६ बैशाख २०७६ मा प्रकाशित
Nabintech