प्रहरीको गतिविधिप्रति अधिकारकर्मीले गरे निन्दा

पिपलबाेट संवाददाता


विष्फोटक पदार्थ मुद्दाको आरोपमा गत चैत्र १२ गते पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता भनिएका दानबहादुर फडेरालाई बाँके जिल्ला अदालतले साधारण तारेखमा रिहा गरे पनि बाँके प्रहरीले अदालत परिसरबाट पक्राउ गर्न खोजे पछि राष्ट्रिय मानव अधिकार आयोगले शरण दिएको छ ।
फडेरालाई प्रहरीले पुनः पक्राउ गर्ने निश्चित नै भएपछि उनकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा फोन गरेर रक्षा गरिदिन माग गरे पछि आयोगबाट अधिकृत वसन्त अधिकारी अनुगमनमा अदालत पुगेका थिए । फडेराले आयोगको कर्मचारीको प्रत्यक्ष निगारनीमा आयोग पुगेका थिए ।
फडेरा आयोगको कार्यालयमा बसेपछि प्रहरीेले आईतबार रातभरी नै आयोगको कार्यालयलाई घेरेर बसेको थियो । आयोग नेपालगञ्ज कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईका अनुसार, राति अन्दाजी १०ः ३० बजे इलाका प्रहरी कार्यालय, कोहलपुर डिएसपी रमेशबहादुर सिंहको टोली आयोगको कार्यालयमा पुगेर सुरक्षा गार्ड हरिबहादुर केसीलाई धम्की दिएर भित्र पस्ने प्रयास गरे पनि माथिल्लो आदेश नआए सम्म ढोका नखोल्ने गार्डले बताए पछि प्रहरी फर्किएको बताउनु भयो ।
प्रहरीले आयोगको कार्यालयलाई घेरेर बसेको जानकारी केन्द्रीय कार्यालयसम्म पुगेको छ । बाँकेका अधिकारकर्मीहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै आयोगको कार्यालय घेराउ गर्ने प्रहरीको गतिविधिप्रति निन्दा गरेका छन् । कार्यालय घेराउ गर्न पुगेका डिएसपी माथि बिभागिय कार्यवाही गर्न अधिकारकर्मीहरुले माग गरेका छन् । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) का नेपालगंज प्रमुख आलम खानले प्रहरीले आयोगको कार्यालय घेराउ गर्नु निन्दनीय कार्य भएको बताउदै संघीय लोकतान्त्रीकशासन प्रणलीबाट संचालित राज्य व्यवस्थामा राज्यका सबै निकायहरु नेपालको संविधान,प्रचलित कानुन बमोजिम संचालन हुने भएको हुदा कानुन बमोजिम अदालतबाट सादा तारेखमा छोडने आदेश गरेको व्यक्तिलाई कानुन विपरीत पुन पक्राउको प्रयास गर्ने र राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय प्रहरीद्वारा घेराउ हुन आपत्तिजनक कुरा भएको बताए । सोमबार पनि फडेरा आयोगको कार्यालयमै बसेका छन् । आयोग नेपालगञ्जका प्रमुख चापागाईले केन्द्रीय कार्यालयबाट आउने आदेश अनुरुप अगाडिको कार्य हुने बताए ।

९ बैशाख २०७६ मा प्रकाशित
Nabintech