स्वस्तिका लिम्बुको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै बुधबार नेपालगन्जको राँझास्थित एयरपोर्ट चोकमा स्वस्तिका लिम्बुको न्यायका निम्ति संघर्ष समितिको अगुवाईमा प्रर्दशन गरिएको हो । दैनिक संघर्षको कार्यक्रम अन्तर्गत बुधबार प्रदर्शन तथा चक्का जाम गरिएको संघर्ष समितिले वताए । सो क्रममा राँझास्थित एयरपोर्ट चोकमा करिव दुई घण्टासम्म चक्का जाम समेत गरिएको थियो । घटनाको निश्पक्ष छानविन र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै आन्दोलन गरिएको संघर्ष समितिका संयोजक लालमणि सारुले बताए। राजनीतिक दबाबमा घटनाका दोषीलाई उन्मुक्ती दिन खोजिएकाले पीडितको न्यायका लागि आन्दोलन गर्नु परेको उनले सुनाए। मृतक स्वस्तिकाका श्रीमान मुकेशलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नन्दलाल रोकायले संरक्षण गरेको संघर्ष समितिका संयोजक सारुले आरोप लगाए। सांसद रोकाय मुकेशका मावली हजुरबुवा हुन्। घटनाको निश्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै माईती पक्षले जिल्ला प्रहरी कार्यालय परिसरमा धर्ना दिईरहेका बेला सांसद रोकाय प्रहरी प्रमुखलाई भेट्न पुगेका थिए। सांसदलाई प्रहरी कार्यालयमा भेटेपछि उनीहरु सशंकित बनेका हुन्।
नेपालगन्जको राँझा निवासी स्वस्तिकाले भृकुटीनगरका २० बर्षिय आशिष’ भनिने मुकेश बुढाक्षेत्रीसँग करिब ६ महिनाअघि प्रेम बिवाह गरेकी थिईन्। नयाँ वर्षको दिन माईत जाने विषयमा विवाद पश्चात उनको रहस्यमय मृत्यु भएपछि माईती पक्षले हत्या नै भएको दाबी गर्दैै चरणवद्ध आन्दोलन गर्दै आएका हुन्। जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्नासहित प्रर्दशन गर्दै आएका उनीहरुले आन्दोलनलाई अझै सशक्त बनाएका छन्। आफुलाई श्रीमानले माइत आउन नदिएको भन्दै स्वस्तिकाले रुँदै आमालाई फोन गरेको र त्यसको केही बेरमै दिउँसो करिब २ बजेतिर उनी घरको कोठाभित्र मृत अवस्थामा फेला परेको माईती पक्षको भनाई छ। स्वस्तिकाले माइत जान नपाएकै कारण पङ्खामा झुण्डिएर आत्महत्या गरेको मुकेशले प्रहरी समक्ष बयान दिदै आएपनि घटनाको प्रकृति हेर्दा माईती पक्ष विश्वस्त हुन सकेका छैनन्।
राजनीतिक दबाबका कारण प्रहरीले मुद्धा कमजोर बनाएको र पोष्टमार्टम रिपोर्टमा पनि गडबडी गरिएको संघर्ष समितिले आरोप लगाएको छ। मृतकको शरिरभरी भएका घाउचोट, निलडाम, च्यातिएको कपडा हत्याको पर्याप्त प्रमाण हुँदा पनि प्रहरीले दोषीलाई बचाउने नियतले मुद्धा कमजोर बनाएको देखिन्छ’ सारुले भने ‘पोष्टमार्टम रिपोर्टमा पनि तथ्य कुरा नआउँदा दोषीलाई जोगाउने काममा सबैको मिलेमत्तो रहेको हामीलाई लागेको छ ।’ मृतकको शरिरभरी देखिएको निलडाम, घाँटीमा बाँधिएको डोरीको डाम र घटनाको अन्य प्रकृति हेर्दा स्वस्तिकाको हत्या नै भएको जिकिर गरे।
संघर्ष समितिलाई स्थानीय समाजसेवी, अगुवा, सबै राजनीतिक दलले समर्थन गरेका छन्। समितिमा स्थानीय अगुवा माया गुरुङ, उषा थापा, दण्डप्रसाद शर्मा, नवराज सापकोटा र दीपक भण्डारीले स्वस्तिका लिम्बुको हत्या नै भएको जिकिर गर्दै दोषीलाई कानुनी कारबाही गरेर पीडितलाई न्याय दिनुपर्ने बताए। कसैको दबाब र प्रभावमा परेर न्यायिक निकायले पीडितलाई अन्याय गर्न नहुने उनीहरुको भनाई छ। ‘कानुन सबैका लागि बराबर लागु हुन्छ, सांसदको नाति हुदैमा दोषीलाई कानुनी कारबाहीबाट उन्मुक्ती दिन पाईदैन,’ संघर्ष समितिका सदस्य भण्डारीले भने। दोषीलाई कानुनी कारबाही नहुँदासम्म आन्दोलन जारी राख्ने संघर्ष समितिको चेतावनी दिएको छ। समितिका अर्का सदस्य उषाले भनिन्, घटनाको सबै प्रकृति हेर्दा स्वस्तिकाको श्रीमानले नै हत्या गरेको प्रष्ट देखिन्छ, यो घटनालाई राजनीतिक संरक्षण दिनु हुदैन, दोषीले सजाय पाउनैपर्छ।’