खुमबहादुरको क्षेत्रमा कांग्रेसको किल्ला जोगिएला कि ढल्ला ?

पिपलबाेट संवाददाता


प्रदेश नम्बर ५ को सम्भावित राजधानीका रुपमा चर्चामा रहेको दाङ जिल्लाको निर्वाचनमा धेरैको ध्यान केन्द्रित छ । यहाँ माओवादीका कृष्णबहादुर महरा, एमालेका शंकर पोखरेल र कांग्रेसका दीपक गिरीजस्ता दह्रा नेताहरु उम्मेदवार छन् ।

पहिलो र दोस्रो संविधानसभा चुनावमा दाङमा ५ वटा निर्वाचन क्षेत्र थिए । हाल प्रतिनिधिसभामा ३ वटा निर्वाचन क्षेत्र छन् । प्रदेशसभामा ६ सिट छन् । प्रतिनिधिसभाका ३ सिटका लागि ३० जना र प्रदेशसभाका ६ सिटका लागि ५१ जना उम्मेदवार छन् ।

दाङमा ३ लाख ३८ हजार ९५३ मतदाता छन् । महिला मतदाताको संख्या १ लाख ७२ हजार ८३३ र पुरुष मतदाताको संख्या १ लाख ६६ हजार ११८ छ । जिल्लाभर ३९४ मतदान केन्द्र तोकिएका छन् ।

दाङ १स् खुमबहादुरको गृहक्षेत्रमा कसले जित्ला रु

कांग्रेस नेता खुमबहादुर खड्काको घर रहेको दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर, मुख्य प्रतिस्पर्धी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् ।

प्रतिनिधिसभाका लागि कांग्रेसबाट पूर्वसांसद सुशीला चौधरी र वाम गठबन्धनबाट एमाले दाङ जिल्ला इञ्चार्ज मेटमणि चौधरी उम्मेदवार छन् । सुशीला दोस्रो संविधानसभामा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन् भने मेटमणि पहिलोपटक आम चुनाव लड्न लागेका हुन् ।

यसैगरी संघीय समाजवादी फोरमबाट अशोककुमार यादव, नयाँ शक्तिबाट होमप्रसाद शर्मा, जनमोर्चाबाट कपिलदेव खनाल, नेकपा मालेबाट रेखा केसी, कांग्रेस बीपीबाट अशोक खड्का र संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालबाट लीलाराम चौधरी प्रतिनिधिसभामा उम्मेदवार छन् ।

स्वतन्त्र उम्मेदवारका रुपमा सुरेन्द्र चौधरी, परशुनारायण चौधरी र गौरसिंह महर चुनावी मैदानमा छन् ।

१३ मंसिर २०७४ मा प्रकाशित
Nabintech